अव केबलकारबाटै बन्दिपुर जान सकिने

Devghat Online

शेयर गरौ

बन्दिपुर, जेठ ३१

पाहाडको रानी उपनामले चिनिने तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुर अव केबलकार बाटै जान सकिने भएको छ । बन्दीपुरमा निर्माण सम्पन्न भएको केबलकार बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टीयूभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा बिहीबारदेखि सञ्चालनमा ल्याइएको बन्दीपुर केबलकारका कार्यकारी अधिकृत किरण पोख्रेलले जानकारी दिए ।

केबलकार गत बैशाख १ बाट आंशिक रुपमा चलाइएको थियो । बिहीबारदेखि भने व्यावसायिक सञ्चालनमा ल्याइएको हो । कम्पनीले करिब एक वर्ष अगाडिदेखि नै केबलकार जडान सम्पन्न गरी लोड परीक्षण भएको जनाएको छ ।

तीन चरणमा परीक्षणकाल सकिएपछि कम्पनीलाई व्यावसायिक ‘अप्रेसन टीयूभी’ प्रमाणपत्र प्राप्त भएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । ‘कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी भएपछि मात्रै केबलकार सञ्चालनका लागि खुल्ला गरिएको हो,’ उनले भने ।

केबलकारबाट ९० डिग्रीको ठाडो चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने उनको भनाइ छ । बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकार चोकबाट मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार केबलकारको ३१ डिब्बामध्ये २१ वटाले यात्रु बोक्नेछन् भने अन्यले सामग्री ढुवानी गर्नेछन् । दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन गर्ने गरी केबलकार चलाइएको हो । बन्दीपुर नेपालको कान्छो केबलकार बनेको छ । यसअघि मनकामना, चन्द्रागिरि, पोखरा, बुटवल, दोलखा, नवलपरासीमा केबलकार सञ्चालनमा आइसकेको छ ।

यसअघि नै केबलकारको बटम स्टेशनमा अत्याधुनिक सुविधा सहितको रेष्टुरेन्ट ‘ड्राइभ इन’ सञ्चालनमा आइसकेकोछ । विदेशी तथा स्वदेशी पर्यटकहरुलाई अन्तराष्ट्रिय स्तरको (पाँच तारे) सरहको सुविधा प्रदान गर्ने उद्देश्यले बैशाख १ गते देखि रेष्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा आएको हो । त्यस्तै बटम स्टेशनमा जंगली म्युजियम, चिल्डे«न जोन, ३३ कोटी देविदेवताका मूर्ति सहितको आकर्षक पार्क सञ्चालनमा आएको छ । पार्कमा जिप लाइन, स्काइ साइक्लिङ्ग लगायतका साहसिक खेलको पनि अनुभव लिन पाइनेछ ।

बन्दीपुर हिलको कुल लागत ६ सय २९ करोड मध्ये हालसम्म ४ सय ३३ करोडको काम सम्पन्न भएको अध्यक्ष शर्माले जानकारी दिए । समग्र बन्दीपुर हिलको गुरुयोजना अनुसारका सबै संरचना आगामी २ वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । निर्माणाधीन १७ तले कुइन टावर नामको पाँच तारे होटल आगामी ५ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

त्यस्तै २ वर्षभित्र स्काइ वाक, ८५ मिटर लामो क्यान्टी लिभर ग्लास वाक थ्रु, संसारकै अग्लो दाबि गरिएको २ सय ९३ मिटर अग्लो बन्जीजम्प, सेभेन आकारको २८ सय मिटर लामो जिप लाइन, बन्दीपुरदेखि सिद्ध गुफासम्मको चियर लिफ्ट केबलकार लगायतका संरचना सम्पन्न हुने कम्पनीले जनाएको छ ।

केवलकारले साँझ ५ बजे देखि राति ११ बजे सम्म ६ वटा रेस्ट्रो क्याबिन रेस्टुरेन्ट एवं आराम कक्ष समेत संचालन गरेर नयाँ स्वाद पस्किने तयारी समेत छ । तर केबलकारको यो सेवा लिन भने एक वर्षसम्मको समय लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू