देवघाट महा–महोत्सव बारे देवघाटमा छलफल, महोत्सवलाई सहयोग गर्न अनुरोध

Devghat Online

शेयर गरौ

देवघाट, पुस १४

नेपालको मध्यभागमा पर्ने हिन्दुहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा माघ महिना भर हुने देवघाट महा–महोत्सवको बारेमा आइतबार देवघाटमा छलफल कार्यक्रम आयोजना गरिएको छ । महा–महोत्सवको बारेमा देवघाटका स्थानीय संघ संस्था तथा स्थानीय सरकारसँग कुनै छलफल नभएको भन्दै आलोचना हुन थालेपछि महोत्सवका आयोजकको तर्फबाट छलफल गरिएको हो ।

उक्त छलफल कार्यक्रममा महा–महोत्सवका संकल्पकर्ता एवं प्रसिद्ध कथा वाचक इश्वरकृष्णजी महाराजले महा–महोत्सवले देवघाटधाम क्षेत्रको बृहत रुपमा प्रचार प्रसार गर्ने हुँदा सबैले सहयोग गर्नुपर्ने बताए । महोत्सवको बारेमा एक वर्ष अघि देखी प्रचार प्रसार गरिराखेको भन्दै इश्वरकृष्णले देवघाटबासीले यो महा अभियानमा सहयोग गर्नेमा आफु विश्वस्त रहेको बताए । ‘देवघाट हामी सबैको भएको हुँदा सबैले यो अभियानमा सहयोग गर्नुपर्छ’ उनले भने ‘आर्थिक रुपमा पारदर्शी हुन्छ, स्थानीय समन्वय गर्नेछौं । अहिलेसम्म बाहिर बाहिर जानु परेको हुँदा देवघाटमा आउन ढिलाई भएको हो ।’

देवघाटमा ३० करोड भन्दा बढिको लागतमा मातापिता आश्रम बनिसकेको भन्दै उनले उक्त आश्रम बनाउँदा आफु धेरै ऋणमा परेको बताए । यो महोत्सव असफल भयो भने यसले देवघाटको धार्मिक महत्वमा पनि असर पर्ने उनले बताए । उनले भने ‘यसपटक मलाई सहयोग गर्नु होला, आगामी वर्षमा हुने कार्यक्रममा म सहयोग गर्छु ।’ यस अघि नौ वर्ष अघि कुम्भ मेला राख्दा आफुलाई असहयोग भएको भन्दै उनले त्यसले गर्दा यो विचमा अन्य कार्यक्रम गर्न नसकेको बताए । अव सबैको साथ र सहयोग भएमा ३ वर्ष पछि देवघाटमा महाकुम्भ मेला आयोनजा गर्न सकिने बताए ।

उक्त छलफलमा देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले कुनै पनि धार्मिक कार्यक्रमहरु आयोजना गर्दा स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने बताए । आर्थिक रुपमा पनि पारदर्शी हुनुपर्ने वडा अध्यक्ष कुँवरले बताए ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाटधाम क्षेत्रमा कुनै पनि कार्यक्रम आयोजना हुँदा देवघाट क्षेत्र विकास समितिसँग परामर्श गर्नुपर्ने बताए । क्षेत्र विकास समितिको पहलमा हरेक वर्ष मकर संक्रान्ति मेला हुने गरेको भन्दै उनले यस वर्ष पनि मकर संक्रान्ति मेलालाई भव्य रुपमा मनाउनु पर्ने बताए । कसैले पनि देवघाटलाई आफ्नो स्वार्थ अनुसार प्रयोग गर्नु नहुने भन्दै बरालले यस्ता महायज्ञ र धार्मिक महोत्सवहरु आयोजना गर्दा सबैसँग परामर्श र समन्वय गर्नुपर्ने बताए ।

उक्त छलफलमा स्थानीय समाजसेवी केशवचन्द्र न्यौपानेले महा महोत्सव गर्ने भनिएपनि यसबारेमा स्थानीय बासिन्दाहरुसँग समन्वय र सहकार्य नभएको बताए । महोत्सव किन गर्न लागिएको हो भन्ने उद्देश्य प्रष्ट छैन भन्दै उनले मातापिता आश्रमको लागि हो भने मातापिता महोत्सव भन्नुपर्ने सुझाव दिए । देवघाटको गरिमामय नामलाई एउटा व्यक्तिले भजाउन खोज्नु राम्रो नहुने भन्दै न्यौपानेले मातापिता आश्रमको मात्र भन्दा पनि समग्र देवघाटको धार्मिक पर्यटनको बारेमा प्रचार गरिनुपर्ने बताए ।

महोत्सवको बारेमा नागरिक समाजको विरोध स्वभाविक भएको भन्दै न्यौपानेले स्थानीय नागरिक समाजसँग मात्र नभई देवघाटका अन्य आश्रम र मठ मन्दिरहरुसँग पनि समन्वय नभएको बताए । महामहोत्सवले देवघाटको प्रचार र यहाँका जनताको स्थानीय उत्पादनहरु विक्री वितरणमा जोड दिनुपर्ने उनले बताए । ‘हरेक यज्ञहरु पारदर्शी हुनुपर्छ, स्थानीय सरकारसँग समन्वय हुनुपर्छ’ न्यौपाने भने ‘यस पटकको महा महोत्सव मात्र हैन, हरेक पटक हुने धार्मिक यज्ञहरु स्थानीय सरकारसँग समन्वय र सहकार्य हुनुपर्छ र आयोजक समितिमा स्थानीय बासिन्दाहरुलाई राख्नुपर्छ ।’

स्थानीय अगुवा बलबहादुर क्षेत्रीले देवघाटमा धार्मिक अतिक्रमण बढ्न थालेको बताए । देवघाटमा क्रिष्चिनियकरण बढिरहेको भन्दै उनले यसको बारेमा यहाँका धार्मिक संघ संस्थालाई कुनै सरोकार नभएको बताए । ‘यहाँका धार्मिक संघ संस्थाले आफ्नो स्वार्थ मात्र हेर्न थालेका छन्’ उनले भने ‘सबै संघ संस्थाले देवघाटलाई हिन्दु धर्मको धार्मिक आस्थाको केन्द्रको रुपमा विकास गर्ने गरि काम गर्नुपर्छ, देवघाटको बृहत्तर प्रचार प्रसार गर्नुपर्छ ।’ महा–महोत्सवले देवघाटको धार्मिक महत्व अझ बढाउने हुँदा सबैले सहयोग गर्नुपर्ने उनले बताए ।

अर्का स्थानीय अगुवा गणेश थापाले यस्ता धार्मिक कार्यक्रमहरु स्थानीय संघ संस्थाहरुसँग समन्वय र सहकार्य गरि गरिनुपर्ने बताए । यहाँका धार्मिक संघ संस्थाहरुले आफ्नै विकास र स्वार्थमा काम गरेको भन्दै उनले धर्मप्रति नागरिकको तहमा बितृष्णा जाग्न थालेको बताए । ‘महायज्ञहरु आर्थिक रुपमा पारदर्शी हुनुपर्छ’ थापाले भने ‘देवघाटलाई धार्मिक राजधानी बनाउने गरि काम गर्नुपर्छ ।’ देवघाट धार्मिक रुपमा आफै महत्वको रहेको भन्दै उनले तर यहाँका गुरुहरुले आफुहरुको कारण देवघाटको महत्व बढेको भन्नु युक्ति संगत नभएको उनले बताए ।

कार्यक्रमका अन्य सहभागीहरुले पनि महा महोत्सवको कारण देवघाटको धार्मिक पर्यटनको विकास हुने र प्रचार प्रसार पनि हुने हुँदा सबैले सहयोग गर्नुपर्ने बताए । तर महायज्ञमा संकलित रकमको पारदर्शिता हुनुपर्ने सहभागीहरुले बताएका थिए ।
देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्णबहादुर कुँवरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य बुद्धिबहादुर पाण्डे, यामबहादुर मगर, राजनैतिक दलका प्रतिनिधिहरु, ईलाका प्रहरी कार्यालय देवघाटका प्रतिनिधि टोलबिकास संस्थाका अध्यक्ष, सामुदायिक वनका अध्यक्ष, महिला समुहका अध्यक्ष एवं बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।

माघ १ गतेदेखी सुरु हुने उक्त महा–महोत्सव एवं ऐतिहाँसिक मकर मेलामा देवघाट दिव्यध्यानको शिलान्यास हुनेछ । देवघाटधाम स्थित मातापिता सेवा आश्रमको परिसरमा हुने उक्त महा–महोत्सव अवधिभर ३३ कोटी देवी देवताको नाममा ३३ करोड दिप प्रज्वलनको मुख्य कार्यक्रम रहेको छ ।

उक्त महा–महोत्सवमा देश विदेशका सुप्रसिद्ध कथा वाचकहरुद्वारा कथा वाचनको कार्यक्रम रहेको छ । देवघाटधामको धार्मिक महत्वलाई देश बिदेश सम्म पु¥याउने, सनातनी धर्मावलम्बीहरुमा देवघाटधामको महत्व बुझाउने तथा निर्माणाधिन माता पिता आश्रम सन्चालनकोलागि आर्थिक सहयोग जुटाउने उद्देश्यले उक्त महा–महोत्सव आयोजना गरिएको जनाईएको छ ।

पुरातात्विक, ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय दृष्टिले देवघाटधामको निकै महत्व छ । साना–ठूला नदीका साथ मुक्तिनाथबाट प्रवाहित शालिग्रामवाहिनी, कृष्णागण्डकी र गोसाइँकुण्डबाट आएकी त्रिशुली नदीको संगम भई मनोरम प्राकृतिक दृश्य बनेको यस क्षेत्रलाई पुराणहरुमा आदिप्रयाग, हरिहर क्षेत्र, कदम्ब तीर्थ वा चक्रतीर्थ आदि नामले चिनिन्छ ।
समुन्द्री सतहदेखि २०० देखि ५७५ मिटरसम्मको उचाइमा रहेको समशीतोष्ण हावापानी भएको यस क्षेत्रलाई सृष्टिको बिहानीदेखि देवताहरुले र हिन्दू संस्कृतिका संवाहक मुनि महर्षिहरुले आफ्नो कर्म र साधनाको भूमिको रुपमा उपयोग गरिआएको प्रसङ्ग पुराणहरुमा पाइन्छ ।

वर्तमानमा पनि देवघाटधाममा धेरै सन्त, महात्मा तथा साधकहरुले साधनामय जीवन विताइरहेका छन् भने धेरै गुफा, मठ, मन्दिर, साधनाकुटी, आश्रम तथा शिक्षालयहरुले यहाँको गौरव बढाइरहेका छन् । धार्मिक तथा ऐतिहासिक महत्व पुराणहरुमा देवघाटधामलाई सबै तीर्थहरुमा श्रेष्ठ तथा अन्य तीर्थलाई पनि पवित्र पार्ने तीर्थको रुपमा वर्णन गरिएको छ ।

वराहपुराण, स्कन्दपुराण, भागवत् आदिमा यस तीर्थको ठूलो महत्व उल्लेख भएको पाइन्छ भने वराहपुराणको भनाई अनुसार यहाँ देवताहरु अटन (भ्रमण) गर्ने भएकोले यस क्षेत्रलाई देवाट वा देवघाट भन्ने नामाकरण भएको पाइन्छ । यस तीर्थमा स्नान गर्नाले ठूलो पुण्य प्राप्त हुन्छ । यस क्षेत्रमा कालगतिले जसको मृत्यु हुन्छ त्यसलाई सायुज्य मुक्ति प्राप्त हुन्छ । यस पुण्यभूमिमा गरेको जप, पाठ, पूजा, हवन, दान तथा श्राद्ध आदि कर्मको फल अक्षय हुन्छ र धोरै गरेपनि धेरै फल प्राप्त हुन्छ । यहाँ पाइने शालिग्राम शिलाहरु देवताका रुप हुन् भने यहाँको जल अमृत समान हो । अत यो भूमि देवभूमि, तपोभूमि वा पुण्यभूमिको रुपमा प्रख्यात छ ।

यस्तै महत्व बुझेर वशिष्ठ, विश्वमित्र, यज्ञवल्क्य जनक, सीता आदि हजारौं महापुरुषहरुले यहाँ आई तपस्या गरे । रामले अश्वमेध यज्ञ गरेको र सीताजीको विलय भएको ठाउँ यही हो भन्ने भनाई प्रसिद्ध छ । पाल्पाका राजा मणिमुकुन्द सेनले यहीं आएर तपस्या गरेको तथ्य इतिहासमा पाइन्छ । यस्ता अनेकौं ऐतिहासिक, साँस्कृतिक तथा पौराणिक तथ्यसँग जोडिएको छ देवघाटधाम ।

देवघाटधाममा अन्य पर्वहरुमा (एकादशी, पूर्णिमा, संक्रान्ति, ग्रहण आदि) सधै मेला लाग्दछ । त्यसमा पनि माघे संक्रान्तिमा ठूलो विशेष मेला लाग्ने गर्दछ । यस दिनमा देवघाटका सबै मठ, मन्दिरहरुमा भक्तजन पूजा–आजा, भजन–कीर्तन, दान–पुण्य, आदिमा व्यस्त रहन्छन् । देश–विदेशबाट आउने भक्तजनहरुको ठूलो भीड लाग्दछ । माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । ज्योतिषको गणना अनुसार सूर्य धन राशीबाट मकर राशीमा गएको दिनलाई मकर संक्रान्ति भनिन्छ ।

पद्मपुराणको भनाईअनुसार सूर्य मकर राशिमा गएको बेला (माघ महिनामा) देवघाटधाममा स्नान गर्नाले अक्षय पुण्य र प्रयागमा स्नान गरेको फल प्राप्त हुन्छ । त्यस्तै हिमवत्खण्डमा पृथ्वीभरमा जति धार्मिक तीर्थहरु छन् ती सबैमा स्नान गर्नाले जे फल मिल्छ त्यो फल देवघाटमा यस माघ महिनामा स्नान गर्नाले प्राप्त हुन्छ भनी लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

देवघाट, माघ ४ ‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’ देवघाट

समाजबादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश

काठमाडौं, माघ ४ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले

मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

दमौली, माघ ३ घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा