देवघाट, माघ ८
देवघाट गाउँपालिका–५ स्थित हरिहर सन्यास आश्रममा बुधबार आश्रमका संस्थापक राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथि मनाइने भएको छ ।
आश्रमका संस्थापक परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिका अवसरमा हरिहर सन्यास आश्रम तथा परमानन्द संस्कृत गुरुकुल विद्यापिठमा आइतबारबाट विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
उक्त कार्यक्रम अन्तर्गत अन्तिम दिन आज आश्रम परिसरमा रहेको ब्रह्मलिन स्वामीजीको समाधि मन्दिरमा रुद्राभिषेक तथा आरती कार्यक्रम तथा सन्त समागम, गुरु भन्डारा तथा समिक्षा कार्यक्रम हुने कार्यक्रमका संयोजक तथा गुरुकुलका सह प्राचार्य अर्जुन पाण्डेयले जानकारी दिएका छन् ।
पुण्यतिथीको अवसरमा माघ ८ गते मंगलबार प्रातकालमा स्वामी विमलानन्द सरस्वतीको अध्यक्षतामा प्रा.डा.भागवत ढकालको प्रमुख आतिथ्यतामा पुरस्कार एवं सम्मान तथा छात्र प्रतिभा प्रर्दशन कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा आश्रम तथा गुरुकुलमा लामो समयसम्म सेवा गर्नुभएका प्राध्यापनरत गुरुहरु एवं आश्रममा लामो समयसम्म सेवा गरिरहने कर्मचारीहरुलाई सम्मान गरिएका थियो । साथै विभिन्न परिक्षा तथा प्रतिभा प्रस्फुटन कार्यक्रमम उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
त्यस्तै मंगलबार साँझ परमानन्द काब्य सरिता कार्यक्रम आयोजना गरियो । उक्त काव्य सरिताको १६ औं सृङखला अन्तर्गत परमानन्द छात्र कल्याण परिषदको आयोजनामा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजको अध्यक्षता तथा साहित्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यतामा गुरुकुलको सभाकक्षमा गुरुकुलमा साधनारत कविहरुका कवितासँगै आगन्तुक सर्जकहरुका रचना वाचन गरिएको थियो भने साहित्यकार गोविन्द नेपाल खतिवडाद्वारा लिखित तथा विपिन ढकालद्वारा निर्देशित नाटक ‘बाबुरामको घन्टी’ गुरुकुल भवनमा मन्चन गरियो । गुरुकुलले ‘बाबुरामको घन्टी’ नाटकलाई धर्मको आवाज, संस्कृतिको ताज, न्यायको सन्देश तथा सत्यको परिवेश भन्दै मन्चन गर्न लागिएको जनाएको छ ।