तनहुँ । फागुन २०
नेकपा एमालेले संगठन विस्तार र सवलिकरणका लागि माघ तेश्रो साताबाट तिन महिने जरा केन्द्रित अभियान सन्चालन गरिरहेको छ । उक्त अभियान अन्तर्गत अहिले एमालेका नेता तथा कार्यकर्ता टोल टोलमा पुगेका छन् ।
अभियान अन्तर्गत सबै पार्टी सदस्यहरुको घर–दैलोमा पुग्ने एमालेको कार्यक्रम रहेको छ । जिल्ला र पालिकास्तरका नेताहरु सबै सदस्यको घरमा पुग्ने, उनीहरुको परिवारका सदस्यसँग छलफल र अन्तरक्रिया गर्ने तथा उनीहरुको समस्याको बारेमा छलफल गर्ने कार्यक्रम अहिले सबै वडा र टोलमा सन्चालन भईरहेको एमाले तनहुँका सचिव प्रदिपराज अधिकारीले बताए ।
कार्यकर्ताको घरमा पुगि पार्टी सदस्यको अवस्था बुझ्ने, गुनासोहरु सुन्ने, सदस्यता नविकरण अभियान सन्चालन गर्ने, पार्टी सदस्यका परिवारका सदस्यसँग राजनैतिक छलफल र अन्तरक्रिया गर्ने, पार्टी सदस्यका परिवारमा सदस्यता विस्तार पार्टी सदस्यता, जनवर्गीय संगठनको सदस्यता दिने कार्यक्रम सन्चालन भईरहेको जिल्ला सचिव अधिकारीले बताए । यसै क्रममा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणकोलागि प्रत्येक सदस्यसँग न्युनतम एक सय रुपैयाँ उठाउने, सदस्यको अनलाईन इन्ट्रिको लागि सदस्यको नागरिकताको फोटोकपी र सम्पर्क नम्बर संकलन गर्ने, पार्टी सदस्यताको अवस्थाको प्रतिवेदन तयार गर्ने कार्यक्रम पनि भइरहेको अधिकारीले बताए ।
उक्त अभियानमा सम्बन्धित भुगोल कार्यक्षेत्र रहेका जिल्ला कमिटीका सदस्य, जनवर्गीय संगठनका जिल्ला सदस्य, नगर कमिटीका सदस्य, वडा कमिटीका सदस्य, सम्बन्धीत पालिकामा रहेका केन्द्र, प्रदेशका नेता र जनवर्गीय संगठनका केन्द्र, प्रदेशका सदस्यहरु परिचालित छन् ।
यस विचमा एमालेले जनबर्गीय संगठनहरुको अधिवेशन सम्मन्न गरिसकेको छ भने, पालिकाहरुको बैठक, प्रशिक्षण तथा अन्तरक्रिया पनि भएको छ । विभिन्न विभागहरुको बैठक पनि सम्पन्न भईसकेको एमालेले जनाएको छ । अभियानकै क्रममा आज फागुन २१ गते सुखानीका सहिदहरुको स्मरणमा जिल्ला पार्टी कार्यालय दमौलीमा अन्तक्रिया कार्यक्रम आयोजना हुने भएको छ । त्यस्तै फागुन २४ गते संघीय निर्वाचन क्षेत्रगत रुपमा पार्टी सदस्यको भेला डुम्रे र शुक्लागन्डकीमा आयोजन गर्ने तथा चैत २ गते पालिकागत रुपमा पार्टी सदस्यता भेला सम्बन्धित पालिकामा गर्ने कार्यक्रम रहेको छ ।
यसैगरि चैत ९ गते जनप्रतिनिधि र पालिका कमिटीको संयुक्त बैठक आयोजना गर्ने, चैत १५ र १६ गते दमौलीमा जिल्ला पदाधिकारी र कार्यपालिका तहसम्मका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको छ । चैत २३ गतेसम्म पालिका कमिटी, वडा पदाधिकारी, वडा इन्चार्ज, जनवर्गीय संगठनका नेताहरु समेतको बैठकबाट पालिका कार्यकताहरुको अन्तर विरोध र समस्याको पहलकदमी जिल्लावाट गरी सक्ने, वैशाख ५ सम्म सबै टोल कमिटी गठन गर्ने र अभियानको अन्तिम दिन २०८२ बैशाख ९ गते दमौलीमा पाँच हजार कार्यकर्ताको सहभागितामा ३ महिने अभियान समापन कार्यकम गर्ने एमाले तनहुँका अध्यक्ष हरिराज कडेंलले जानकारी दिए ।