तनहुँ । बैशाख ६
चितवनको भरतपुरमा संघीय सरकारको बजेटबाट निर्माण गरिएको पुल्चोक–गोन्द्राङ ६ लेन सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरे । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक पुर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहाल, बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंंह लामा तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल समेत सो उद्घाटनमा सरिक भएका थिए ।



भौतिक पुर्वाधार तथा यातयात मन्त्रालयको एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको यो सडकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए ।
‘अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु प¥या पनि छैन । त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन । म आग्रह गर्न चाहान्छु, सबैलाई सधँै राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन । विकासमा ध्यान दिउँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन एकतामा जोड दिउँ,’ प्रधानमन्त्री ओलीले भने ।
उनले भने, ‘विचारमा विविधता हुनसक्छ तर देशको विकास गर्ने कुरामा मतभेद राख्न आवश्यक छैन । देशको विकास हामी सबै मिलेर गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन । आफ्नो बलमा लोकतन्त्रलाई बलियो बनाउँदै राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले चितवन जिल्ला त्रेतायुगदेखि नै राम जन्मेदेखिको ऐतिहासिक महत्व बोकेको जिल्ला भएको उल्लेख गर्दै यो एउटा सभ्यताको सुरुआत भएको भूभाग भएको बताए।
उक्त कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक पुर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहाल, बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंंह लामा तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल लगायतले मन्तव्य राखेका थिए ।
उक्त सडक खण्डको २०७७ माघ १७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ ।