काठमाडौं । चैत १२
गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित प्रतक्ष्य तथा समानुपातिक तर्फका सांसदहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । शिंहदरबारमा रहेको संसद भवनको अस्थायी हलमा प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरुलाई सपथ ग्रहण गराएका थिए ।



सांसदहरु सपथ ग्रहण सम्पन्न भएपश्चात देशमा नयाँ सरकार बन्ने बाटो खुलेको छ । संसदमा बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार निर्माण गर्ने पहल थालेको छ । सो पार्टीले झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरेको छ ।
विहिबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले पूर्वसहमति अनुसार बालेन्द्र शाहलाई पार्टीको संसदीय दलमा प्रस्ताव गरे । केन्द्रीय सदस्यहरुले समर्थनमा ताली पिटे र शाह संसदीय दलको नेता चयन भए ।

त्यसपछि संसदीय दलको बैठक बस्यो । यसमा केन्द्रीय सदस्यहरुलाई पनि सहभागी गराइएको थियो । यो बैठकमा पनि सोही तरिका अपनाइयो । सभापति लामिछानेले साहलाई संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्ताव गरे । सबैले ताली पिटे । प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरियो । नेताहरुले घन्टी बजाए । रवि र बालेनले अंकमाल गरे । बालेन केही बोलेनन् । केही मिनेटमै बैठक सकियो ।
नेपालको संविधान अनुसार बहुमत प्राप्त गर्ने दलको नेतालाई राष्ट्रपतीले प्रधानमन्त्री नियुक्त गर्नेछन् । संविधानको अब रास्वपाले संसदीय दलको नेता चयन भएको विषय लिखित रूपमा राष्ट्रपति कार्यालयमा जानकारी गराएपछि उक्त दलको नेता स्वतः प्रधानमन्त्री नियुक्त हुनेछन् । रास्वपाले राष्ट्रपति कार्यालयलाई पठाउने पत्रमा नेपालको संविधान २०७२ को धारा ७६ (१) बमोजिम आफ्नो संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरियोस् भन्ने ब्यहोरा खुलाउनुपर्छ । त्यस्तो पत्र प्राप्त हुनासाथ राष्ट्रपतिले उक्त दलका संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने भएका हुन् ।
राष्ट्रपतिले बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गरेपछि र नवनियुक्त प्रधानमन्त्रीको सिफारिस आज नै मन्त्रीहरु नियुक्त गरि सपथ ग्रहण समेत हुने भएको छ । शुक्रवार दिउँसो १२ बजेपछि नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरूको शपथका लागि शीतल निवासस्थित राष्ट्रपति भवनमा तयारी शुरु भइसकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

निम्तालुहरूलाई १२ बजे अगावै उपस्थितिका लागि राष्ट्रपति कार्यालयले खबर गरिसकेको कार्यालय स्रोतले जनाएको छ । शपथ ग्रहण समारोहमा संवैधानिक अंगका प्रमुख, पूर्वप्रधानमन्त्रीहरु, नेपाल सरकारका विशिष्ट र प्रथम श्रेणीका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुखलाई निमन्त्रणा गरिने प्रचलन छ ।
त्यसबाहेक नवनियुक्त प्रधानमन्त्री र मन्त्रीका निश्चित संख्यामा आफन्त वा शुभचिन्तकलाई पनि शपथ समारोहमा उपस्थित हुने सुविधा दिइएको राष्ट्रपति कार्यालयस्रोतले बतायो ।












