तनहुँ । चैत १९
भानु नगरपालिकामा सन्चालित चारदिने निःशुल्क आँखा शिबिरमा एक हजार पाँच सय भन्दा बढीको आँखाको परीक्षण गरिएको छ । भानु नगरपालिका–२ नारेश्वरटार स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालित शिबिरमा एक सय १० जनाको मोतियाबिन्दुको अप्रेसन समेत गरिएको छ ।



शनिबार देखि आयोजित चार दिने उक्त शिविरमा भानु १३ चन्द्राबती बजार, वडा नम्बर ९ को बाईसजाँगर, वडा नम्बर १ को सालबिस्ने, वडा नम्बरर ३ को खहरेमा समेत शिबिर सन्चालन गरि अप्रेसन गर्नुपर्ने बिरामीलाइ नारेश्वरटारमा स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रमा ल्याइ १६ गते अप्रेशन गरिएको हो ।
शिबिरमा नेत्र बिशेषज्ञ डा.मारिया गौतम सहितको टोलीले बिरामीको अप्रेसन गरेका थिए । सो अवसरमा ४१५ जनालाई निःशुल्क चश्मा प्रदान गरिएको थियो । बिरामीका लागि चाहिने औषधी, खाना र बस्नको समेत निःशुल्क व्यवस्था मिलाइएको स्वास्थ प्रमुख एश्वर्य भट्टराइले जानकारी दिए ।
भानु नगरपालिकाको कार्यालय, नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल, नारायणगढ लायन्स क्लब, लायन्स क्लब अफ नारायणगढ र आधारभूत स्वास्थ्य केन्द्र नारेश्वरटारको आयोजनामा मोतियाबिन्दुको अप्रेशन सहितको निःशुल्क आँखा शिबिर सन्चालन गरिएको कार्यक्रम संयोजक शान्त कुमार श्रेष्ठले जानकारी दिए ।
निःशुल्क मोतिया बिन्दुको अप्रेसन सहितको उक्त शिविरमा तनहुँ सहित छिमेकी जिल्ला लमजुङ, गोरखा जिल्लाका बासिन्दाहरुले समेत सेवा लिएका थिए ।
भानुका नगरप्रमुख आनन्दराज त्रिपाठीले नगरबासीको स्वस्थ्यलाई ध्यान दिँदै आगामी दिनहरुमा पनि विभिन्न रोगको उपचारका लागि विशेषज्ञ सहितको टोलीलाई गाउँघरमै बोलाएर परीक्षण र उपचार गराईने प्रतिबद्धता ब्यक्त गरे ।












