तनहुँ । असार २७
१० वर्षदेखी अलपत्र परेको तनहुँको ऋषिङ गाउँपालिका–४ को मधुवन र नवलपुरको बुलिङटार गाउँपालिका–४ को कोखेटार जोड्ने कालीगन्डकी नदीको गडगडीघाटमा निर्माणाधिन पक्की पुलको तनहुँ क्षेत्र नम्बर २ का सांसद ई.श्रीराम न्यौपानेले निरिक्षण गरेका छन् ।



निर्माण कार्य सुरु भएको १० बर्षदेखी उक्त पुल अलपत्र परेको छ । निरिक्षणको क्रममा सांसद न्यौपानेले पुल निर्माणमा भएको ढिलाई र हालसम्मको प्रगतिको बारेमा जानकारी लिएका थिए । सांसद न्यौपानेले पुल निर्माण कार्यलाई तिब्रता दिई समयमै सक्नुपर्नेमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए ।

निर्माण कम्पनीको लापरवाहीले उक्त पुल ६ पटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन । यसअघि छैटौँ पटक थपिएको म्याद पनि यस अघि चैत मसान्तमै सकिएको पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर विदुर सुवेदीले जानकारी दिए ।
पटक–पटक निर्माण कम्पनी र पुल सेक्टर कार्यालयलाई अनुरोध गर्दा पनि निर्माण कार्य पुरा नभएकोे बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीले बताए । समयमै पुलको निर्माण कार्य सम्पन्न गर्न पटक–पटक आग्रह गरिएपनि कुनै सुनुवाई नभएको उनले बताए ।

२०७३ साल असार २९ गते पुल निर्माणको सम्झौता भएको थियो । २६ करोड ८२ लाख ८६ हजार ४३२ रुपियाँ लागतमा लुम्बिनी, स्वच्छन्द र नागार्जुन निर्माण कम्पनीले संयुक्त काम गर्ने गरी ठेक्का लिएका थिए । ठेकेदार कम्पनीले काम नसक्दै १३ करोडभन्दा बढी रुकम भुक्तानी लगिसकेको सुवेदीको भनाइ छ । हालसम्म भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ५१ प्रतिशत भएको सुवेदीले जानकारी दिए ।
जिम्मेवारी पाएका तीन वटै ठेकेदार कम्पनीले समयमा काम नगर्दा काम अलपत्र परेको हो । पटक पटक म्याद थपिए पनि विभिन्न बहाना देखाएर निर्माण कम्पनीले काम नगरेको सुवेदीको भनाइ छ । विगतमा विभिन्न बहाना देखाएर काम गरेनन्, २०७६ सालदेखि २०८२ सम्म प्रगति शून्य जस्तै थियो, यो वर्ष केही काम भए पनि अहिले फेरि मूल्यवृद्धि र महँगीको बहाना देखाएर अपेक्षाकृत उपलब्धि हुन नसकेको सुवेदीले जानकारी दिए ।

काम थालेको १० वर्षमा कालीगण्डकीमा चार वटा पिल्लर ठड्याइएको छ । २९० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको पुलमा पाँच स्पान रहने डिजाइनमा भएको भए पनि अहिलेसम्म एउटा स्पानको मात्रै काम भएको छ । पुल निर्माणको काम अलपत्र परेपछि स्थानीयलाई आवत जावतमा समस्या भएको बुलिङटार गाउँपालिका अध्यक्ष सुनारीले बताए । तिन वटा निर्माण कम्पनीको एक आपसमा समन्वय नहुँदा पुल निर्माणमा ढिलाई भएको बताईएको छ ।

पुर्वपश्चिम राजमार्गको कावासोती, दलदले, कोखे तथा तनहुँको रिसिङ, भिमाद हुँदै पोखरा आउजाउ गर्न यो पुल निर्माण सम्पन्न भए सहज हुन्छ । कालीगण्डकी करिडोर अन्तर्गतको बुलिङटार–४ मा पर्ने कोखेमा यो पुल निर्माण गरिएको छ । कोखे बजारबाट एक सय मिटर उत्तरमा रहेको कालीगण्डकी नदीको घाट किनारलाई गड्गडीघाट भनिन्छ । गैंडाकोट, कावासोती र दलदलेबाट अर्खला कोखे हुँदै भिमाद–पोखरा पुग्न यो पुल तरेर जाँदा बाटो छोटो हुन्छ । गैंडाकोट, कावासोती र दलदलेबाट पोखरा जाने यात्रु हाल कोखेभन्दा १३ किलोमिटर पश्चिम डेढगाउँ हुँदै तनहुँको भिमाद बजार पुग्ने गरेका छन् ।

नवलपुरको सदरमुकाम कावासोतीबाट तनहुँको भिमाद हुदै पोखरा पुग्ने यात्रुका लागि यो पुलनिर्माण हुँदा यात्रामा १५ किलोमिटरबाटो छोटो हुन्छ । नवलपुरलाई प्रदेश राजधानी पोखरालाई जोड्न पनि यो पुल निर्माण महत्वपूर्ण रहेको छ ।












