तनहुँ । साउन २४
पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भए पनि जेल बस्न नपर्ने भएको छ । सर्वोच्च अदालतबाट समेत दुई वर्षपहिले नै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर कैद र जरिवाना तोकिएका जोशी शुक्रबार विशेष अदालतमा कैद छुटको मागसहित विशेष अदालतमा उपस्थित भएका थिए ।



विशेष अदालतका तीन न्यायाधीशको इजलासमा बहुमतबाट जोशीले जेल बस्न नपर्ने आदेश भएको हो । ज्येष्ठ नागरिकले पाउने कैद छुटको मागसहित उनले असार २४ गते निवेदन दिएका थिए । उक्त निवेदनमा शुक्रबार न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनुवाइ भएको थियो ।
७५ वर्षमाथिका ज्येष्ठ नागरिकले ७५ प्रतिशत कैद छुट पाउने कानुनी व्यवस्था छ । अख्तियारको अनुसन्धानका क्रममा पहिल्यै ३ महिना १७ दिन थुनामा बसिसकेकाले बाँकी कैद छुटको माग गर्दै निवेदन दिएका थिए ।
तर यस्तो छुट कारागारमा रहेकाले निवेदन दिएपछि दिने कि कारागार नबस्दै निवेदन दिनेले पनि पाउने भन्नेमा न्यायाधीशबीच राय बाझिएको थियो । न्यायाधीश पौडेल र कोइरालाले कारागार नबसे पनि कैद छुटको सुविधा पाउनसक्ने राय दिएसँगै बहुमतबाट निर्णय भएको हो । रावलले भने कारागारमा बसेर मात्रै निवेदन दिनुपर्ने राय राखेका थिए ।
२०८१ साउन १३ गते सर्वोच्च अदालतले जोशीलाई ९ महिना कैद र ६९ लाख २६ हजार २३८ रुपैयाँ जरिवाना तोकेको थियो । सर्वोच्च अदालतबाट कैद र जरिवाना तोकिए पनि उनले सजाय भुक्तान गरेका थिएनन् ।
२०६९ साउन १० गते विशेष अदालतले जोशीलाई १ वर्ष ६ महिना कैद र दुई करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ ४१ पैसा जरिवाना तोकेको थियो । त्यसको १२ वर्षपछि सर्वोच्च अदालतले विशेषको फैसला केही उल्ट्याउँदै जरिवाना र कैद नै घटाएको थियो । अब भने जोशीले उक्त कैद पनि नबसी भुक्तान भएको हो ।












