देवघाट । भदौ २
देवघाट गाउँपालिका–५ का ६५ बर्षिय रामप्रसाद अर्याल मंगलबार बाँदरले टोकेर घाइते भए । हरिहर सन्यास आश्रम नजिकै रहेको केबी स्वास्थ्य केन्द्रमा कार्यरत अर्याल दिउँसो करिब २ बजे पानी खान धारातर्फ जाँदै थिए, त्यही क्रममा चार–पाँचवटा बाँदरको समूहले घेराहालेर उनीमाथी आक्रमण गरेको थियो । बाँदरको टोकाईबाट अर्यालको शरिरका विभिन्न भाटमा गहिरो चोट लाग्यो । नजिकै रहेको धर्मार्थ अस्पतालमा बाँदरले टोकेपछि लगाउने रेविजको खोप नभएपछि उनी उक्त अस्पतालमा प्राथमिक उपचार पश्चात अर्याल चितवनको भरतपुर अस्पताल गएर रेविजको खोप लगाएर फर्किए । अर्याललाई एक वर्ष अघि पनि बाँदरले टोकेको थियो ।



बाँदरको टोकाईबाट देवघाटमा हरेक दिन सर्वसाधरण, पर्यटक/भक्तजन तथा विद्यार्थीहरु घाइते हुने गरेका छन् । नवलपुरको हर्दीबाट देवघाटमा पढ्न आउने अधिकांश विद्यार्थीहरु हरेक दिन बाँदरको टोकाईको त्रास लिँदै विद्यालय आउन बाध्य छन् । देवघाटमा बाँदरको टोकाईबाट दैनिक जसो सर्वसाधरण घाइते भईरहेका हुन्छन् । बाँदर आतंकले देवघाटबासीहरु आजित भएका छन् । बाँदरको आतंकबाट देवघाट घुम्न आएका सर्वसाधरण विशेषगरि महिला र बालबालिका बढि पीडित बनेका छन् । त्यसैगरि कल्पक्षेत्रमा बसोबास गर्ने जेष्ठ नागरिकहरु बाँदरको आतंकबाट दैनिक पीडित भईरहेका छन् । कोठाभित्र पसेर पकाउँदै गरेर खानेकुरा लिएर भाग्ने, फलफुल खोस्ने तथा प्रतिकार गरेमा टोक्ने जस्ता घटनाले बाँदरबाट देवघाटबासीहरु पीडित भईरहेका छन् । बाँदर आतंकको विरुद्ध स्थानीय प्रशासन र देवघाट क्षेत्र विकास समितिलाई पटक पटक गुहार मागेपनि कुनै सहयोग नपाईएको स्थानीय रामहरि पुडासैनीले बताए ।

विभिन्न ठाउँबाट देवघाट घुम्न आएका भक्तजनहरु बाँदरको आतंकबाट डराएर अर्काे पटक देवघाट नआउने अवस्था पनि सिर्जना भएको पुडासैनीले बताए । ‘बाँदरको टोकाईबाट डराएर पर्यटकहरुको संख्यामा कमी भएको छ’ देघवाट क्षेत्र विकास समितिका पुर्व सदस्य समेत रहेका पुडासैनीले भने ‘बाँदर आतंकलाई समयमै नियन्त्रण गर्न देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिले विशेष कदम चाल्नुपर्छ ।’ समयमै बाँदर आतंक नियन्त्रण गर्न नसक्ने हो भने देवघाटको धार्मिक पर्यटनमा ठुलो असर पर्नसक्ने पुडासैनीले चेतावनी दिए ।
एक स्थानीयका अनुसार बाँदरको टोकाईबाट मठ मन्दिरका पुजारी तथा आश्रम एवं गुरुकुलका सन्चालकहरु पनि घाइते भएका छन् । तर भक्तजनमा नराम्रो असर पर्नसक्ने भयले आश्रम सञ्चालकहरुले भने बाँदर आतंकको घटना सार्वजानिक गर्न चहाँदैनन् ।
देवघाटमा बाँदरको आतंक बढेपछि केही वर्षअघि देवघाट क्षेत्र विकास समितिको पहलमा बाँदर नियन्त्रण समिति गठन गरिएको थियो । देवघाटमा बाँदरले घरभित्र पसी खानेकुरा नष्ट गर्ने, कपडा च्यात्ने, आफूसँगै लैजाने, तीर्थयात्रीलाई टोक्ने, बारीको अन्नबाली नष्ट गर्ने लगायतको दुःख दिँदै आएपछि बाँदर नियन्त्रणको लागि समिति गठन गरिएको देवघाट क्षेत्र विकास समितिका तत्कालिन अध्यक्ष शिवराज पौडेलले बताए । त्यसैगरि देवघाट गाउँपालिकाले पनि बाँदर व्यवस्थापन तथा अध्ययन समिति गठन गरेको थियो । २०८१ भदौ ३१ गतेको गाउँ कार्यपालिकाको बैठकले वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरको अध्यक्षतामा ९ सदस्यिय बाँदर व्यवस्थापन तथा अध्ययन समिति गठन गरेको थियो । उक्त समितिलाई बाँदरको व्यवस्थापनको लागि तत्कालिन तथा दिर्घकालिन सझुावहरु सहितको प्रतिबेदन ३० दिन भित्र पेश गर्ने जिम्मेबारी तोकिएको थियो ।
उक्त समितिका सदस्यहरुमा सव डिभिजन वन कार्यालय देवघाटका प्रमुख, देवघाट क्षेत्र विकास समितिका एक सदस्य, हरिहर आश्रम, महेश सन्यास आश्रम र गलेश्वर आश्रमका प्रतिनिधि, इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख र मुकुन्देश्वरी टोल विकास संस्थाका प्रतिनिधि रहेका थिए । तर उक्त समितिको प्रतिबेदन कहाँ थन्कियो भन्ने बारेमा देवघाटबासीलाई केही जानकारी छैन, तर बाँदरको आतंक भने बढ्दो छ ।
बस्ती नजिकै बाँदरले आक्रमण गर्न थालेपछि स्थानीयवासीमा प्रश्न उठेको छ—अब देवघाटमा मानिसहरू निर्धक्क भएर हिँड्ने अवस्था कहिले आउला ? देवघाटको प्राकृतिक सौन्दर्य र जैविक विविधताको एउटा हिस्सा मानिने बाँदर अहिले मानव बस्तीमै प्रवेश गरी आक्रमण गर्न थालेपछि सर्वसाधरणका लागि डर र जोखिम बढेको छ । घर तथा पसलमा पसेर खाद्यान्न लैजाने, मानिसलाई लखेट्ने र पछिल्लो समय प्रत्यक्ष आक्रमण गर्ने घटनालाई सामान्य मान्न सकिँदैन ।
बाँदरको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गए पनि यसको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायबाट प्रभावकारी पहल हुन नसकेको पुडासैनीले बताए । ‘मानिसभन्दा ठूलो जंगली जनावर हुन सक्दैन, नागरिकको जीवन र सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ’ पुडासैनीले भने ‘बाँदरको समस्या समाधानका लागि गाउँपालिका तथा सम्बन्धित निकायको पटक–पटक ध्यानाकर्षण गराईएको छ, तर कतैबाट ठोस पहल भएको छैन ।’
बाँदरको व्यवस्थापन गर्न बाँदरको वास्तविक संख्या तथा बासस्थानको अध्ययन, खाद्य व्यवस्थापन, बस्तीमा प्रवेश नियन्त्रण, फोहोर तथा खाद्यान्न व्यवस्थापन, जोखिमयुक्त क्षेत्र पहिचान, स्थानीयस्तरमै प्राथमिक उपचार तथा रेबिजविरुद्धको खोपको सहज उपलब्धता र नागरिक सचेतनासहितको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन योजना तत्काल अघि बढाउनुपर्ने आवश्यकता देखिएको देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष पौडेलले बताए । देवघाटधाम क्षेत्रमा हाल करीब सात हजार भन्दा बढिको संख्या बाँदर रहेको अनुमान गरिएको छ ।












