तनहुँ । भदौ ५
नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो । तनहुँबाट पटक–पटक नेता, सांसद र मन्त्री बनेकाहरूले जिल्लाका लागि के गरे ? सिंहदरबारलाई जनताको आवाज सुनाउने अभियानमा चार दलका नेता र दर्जनौं तनहुँवासी आमनेसामने भए ।



प्रश्न ठूलो छः विकास रोकियो कि गति अपेक्षाअनुसार भएन ?
तनहुँसँग जलस्रोत, कृषि, पर्यटन, धार्मिक–ऐतिहासिक सम्पदा र उर्वर भूमि हुँदाहुँदै किन अपेक्षित समृद्धि आउन सकेन भन्ने प्रश्नबाट दमौलीको बहस सुरु भयो । तनहुँबाट धेरै व्यक्ति मन्त्री, सांसद र उच्च ओहोदामा पुगे। तर समृद्धि रोकिनुको कारण दल हो, नेता हो कि इच्छाशक्तिको कमी हो भन्ने प्रश्नको उत्तर खोज्न रास्वपाका श्रीराम न्यौपाने, नेपाली कांग्रेसका शंकर भण्डारी, नेकपा एमालेका टुकराज सिग्देल र नेकपाकी आशा कोइराला एउटै मञ्चमा उभिए ।
श्रीराम न्यौपानेः सत्ता आफूवरिपरि राख्ने लोभले विकृति जन्मायो

रास्वपाका नेता न्यौपानेले आगामी निर्वाचन नलड्ने घोषणा गर्दै आफूभित्रको एउटा भनाइ सुनाए–बाँचुन्जेल सत्ता र शक्ति आफ्नै वरिपरि राख्ने लोभले नै विकृति, विसंगति र भ्रष्टाचार जन्माएको हो। निर्वाचनमा मासु–भात र रक्सीले मतदातालाई प्रभावित पार्ने प्रवृत्तिप्रति उनले असन्तुष्टि जनाए । नेपालको विकास मोडल किन तय हुन सकेन भन्नेमा उनले भारतको कृषि मोडल, चीनको औद्योगिकीकरण र सिंगापुरको ट्रान्जिट हबसँग तुलना गर्दै नेपालको मोडल ऊर्जा र जलस्रोतमै आधारित हुनुपर्ने तर्क राखे। पूर्वाधार निर्माण मुद्दा–मामिला र स्टे अर्डरमा अल्झिने समस्या पूर्वाधार अदालत गठनपछि हल हुने विश्वास व्यक्त गर्दै वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारलाई पाँच वर्ष काम गर्न दिनुपर्ने धारणा उनले राखे ।
शंकर भण्डारीः नीति बनाउनै सकेनौं, विश्वासको संकट छ, राजा चाहिन्छ

नेपाली कांग्रेस नेता भण्डारीका अनुसार ऊर्जा, जलस्रोत, कृषि र पर्यटन विकासको आधार भए पनि त्यसअनुरूप नीति बनाउन नसक्नु नै मुख्य समस्या हो । १७०० मेगावाटसम्म बिजुली खेर गइरहँदा भारत र बंगलादेशमा निर्यातको सम्भावना उपयोग हुन नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे । अति दलीयकरण र अतिव्यक्तिकरणले नै नेपालको विकास रोकेको उनको ठहर छ, र देशमा आन्तरिक तथा बाह्य दुवै किसिमको लगानी वातावरणमा विश्वासको संकट रहेको उनी बताउँछन् । यसैक्रममा भण्डारीले देश जोगाउन राजा चाहिने र राष्ट्रिय एकताका लागि राजसंस्थाको खाँचो रहेको आफ्नो व्यक्तिगत राजनीतिक धारणा पनि राखे– जुन उनकै विचारका रूपमा लिनुपर्ने विवादास्पद अभिव्यक्ति हो ।
टुकराज सिग्देलः सडक बनायौं, त्यसपछि के दिने भनेर सोचेनौं

नेकपा एमाले नेता सिग्देलले नेपालको विकास नेपालकै प्राकृतिक स्रोतसाधनमा आधारित हुनुपर्ने र संविधान तथा कानूनको सर्वोच्चता स्वीकार्नुपर्नेमा जोड दिए । विगतमा भएका कमजोरी स्वीकार्दै उनले जनताले सडक माग्दा सडक बनाइयो, तर त्यसपछि रोजगारी र समृद्धि कसरी दिने भन्नेबारे पर्याप्त सोच्न नसकिएको स्वीकारे । शिक्षा, स्वास्थ्य, बाटो र बिजुलीमा भौतिक प्रगति भएको उनको दाबी छ, तर पछिल्लो पुस्ताले खोजेको चिज दिन नसकिएकोमा उनी सहमत देखिन्छन् ।
आशा कोइरालाः अस्थिर सरकारले योजनाको निरन्तरता तोड्यो

नेकपा नेता कोइरालाले गणतन्त्र र संविधानलाई उपलब्धिका रूपमा प्रस्तुत गर्दै आर्थिक उन्नतिका लागि पर्याप्त मेहनत हुन नसकेको स्वीकारे । एउटा सरकारले बनाएको योजना अर्को सरकारले निरन्तरता नदिँदा विकास रोकिने गरेको उनको भनाइ छ । तनहुँमा कृषि, पर्यटन, नदी, उर्वर भूमि र खानी लगायत सम्भावना रहेको भन्दै सबै राजनीतिक दलले सहकार्य गर्नुपर्नेमा उनले जोड दिइन् । अर्थमन्त्रीको अभिव्यक्तिदेखि युवा नेतृत्वको जनतासँगको दूरीसम्मका विषयमा उनले प्रश्न उठाइन् युवा मन्त्रीहरूले जनताको धरातलसँग नजोडिई सिंहदरबार पुगेको र फेरि राजतन्त्रतर्फ फर्किने प्रयत्न नहुनुपर्नेमा उनको स्पष्ट धारणा छ ।
दलभन्दा माथि विकास सम्भव ?
चारै नेता विकास र जनताको जीविकाको प्रश्नमा राजनीति नगरी अघि बढ्नुपर्नेमा एकमत देखिए । तर व्यवस्था, राजतन्त्र–गणतन्त्र र वर्तमान सरकारप्रतिको धारणामा उनीहरूबीच स्पष्ट मतभिन्नता कायमै रह्यो–जसले तनहुँको साझा एजेन्डा बन्न कति गाह्रो छ भन्ने देखाउँछ ।

जनताले सिंहदरबारलाई सोधेको प्रश्न
कार्यक्रममा तनहुँवासीले उठाएका प्रश्न पनि उत्तिकै धारिला थिए । कृष्णचन्द्र पाण्डेदेखि बुद्धिराज मिश्रसम्मले नेतृत्व राजधानीमै केन्द्रित रही जिल्लाको यथार्थ नबुझ्ने प्रवृत्तिमाथि प्रश्न उठाए । देवीबहादुर बस्नेतले पुरातात्विक सम्पदा संरक्षणमा भएको अवरोध सोधे भने सूर्यचन्द्र अधिकारीले सांसद श्रीरामसँग सिधै २०२५ सालदेखि अलपत्र पोखरा–खैरेनीटार–भिमाद–ऋषिङ–भीरकोट मार्ग किन ५५ वर्षमा पनि सकिएन भनेर सोधे ।
ठेक्का प्रक्रियाको पारदर्शिता, गणेशबहादुर कुँवरले उठाएको मन्त्री र राष्ट्रपतिसम्म पुगे पनि जनजीविकाका साना समस्या नटर्ने गुनासो, रामजी तिमल्सिनाले उठाएको ग्यास समस्या र प्रतिनिधिको कार्यसम्पादनप्रतिको असन्तुष्टि, सागर उदासले सोधेको प्रशासनिक ‘संस्कार’ नबदलिने प्रश्न, र विष्णुभक्त न्यौपानेले उठाएको पर्यटन–संस्कृतिलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचान दिलाउने योजना–यी सबैले एउटै कुरा दोहो¥याएः भौतिक प्रगति देखिए पनि जनताले परिवर्तन महसुस गर्न सकेका छैनन् । सूर्यमणि पौडेलले सुशासन र लगानीमैत्री वातावरणको रणनीति सोधे भने बैकुण्ठनाथ मिश्रले युवा पलायन रोक्ने ठोस कार्यक्रम खोजे ।
तनहुँको विकासको प्रश्न केवल बजेट, सडक वा पूर्वाधारको मात्र होइन । यो राजनीतिक इच्छाशक्ति, नीतिको निरन्तरता, दलगत स्वार्थभन्दा माथि उठ्ने क्षमता, लगानीको वातावरण र जनताको आवाज सिंहदरबारसम्म पु¥याउने नेतृत्वको पनि प्रश्न हो । बहसमा सहभागी चार नेता विकास र जनजीविकाको सवालमा राजनीति नगरी अघि बढ्नुपर्नेमा नजिक देखिए, तर व्यवस्था र राजनीतिक दिशाबारे उनीहरूबीचको मतभिन्नता उस्तै रह्यो । प्रश्न अब यही हो –तनहुँका नेता साझा एजेन्डामा साँच्चै एक हुन्छन्, कि दलगत भिन्नताले फेरि विकासलाई पर सार्छ ? (नेपाललिडडटकमबाट)












