देवघाट अनलाइन
आवुँखैरेनी, बैशाख ३
आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गराउने निर्णय केही अघिको गाउँ कार्यपालिकाको बैठकले गरेको थियो । अहिले नयाँ भर्ना अभियान सुरु हुँदा उक्त निर्णय कार्यान्वयनमा गएको छ । जनप्रतिनधिले आफ्ना छोराछोरी धमाधम सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् ।
गाउँ कार्यपालिकाको बैठकबाट नयाँ शैक्षिक सत्रबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा अनिबार्य अध्ययन गराउने यसअघि निर्णय भएपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराउन थालेका हुन् ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आफ्ना २ छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेर उक्त अभियानको सुरुवात गरेका छन् । अध्यक्ष चुमानले छोरा अनुराग चुमानलाई आँबुखैरेनी गाउँपालिका–२ स्थित अन्नपूर्ण प्राथमिक विद्यालयमा २ कक्षामा र छोरी अक्षरा चुमानलाई आँबुखैरेनी–३ स्थित रामशाह माध्यमिक विद्यालयमा ७ कक्षामा भर्ना गराएका छन् । यसअघि अध्यक्ष चुमानका छोराछोरी आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कूलमा अध्ययन गर्दै आएका थिए ।
सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानअन्तर्गत जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने निर्णय गरिएको हुँदा आफुले आफ्ना छोरछोरीलाई सामुदायिक विद्यालयमा ल्याएको अध्यक्ष चुमानले बताए । गाउँपालिकाका ३२ जना जनप्रतिनिधिले आफ्ना छोराछोरी एवं नातिनातिनीलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने भएका छन् ।
गाउँपालिकाले विक्रम संवत् २०८० साललाई सामुदायिक विद्यालयको शिक्षा रूपान्तरण अभियानका रूपमा अगाडि बढाउने भएको छ । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गरिने छ ।