देवघाट अनलाइन
दमौली, बैशाख ३
तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको चर्चा अन्य २ क्षेत्रको भन्दा बढि नै भईरहेको छ । नेपाली काँग्रेसमा लामो समय लाभको पदमा बसेका डा.स्वर्णिम वाग्ले उपचुनावको मनोनयनको २ दिन अघि मात्र नेपाली काँग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर तनहुँ–१ को उपनिर्वाचन लड्न आएपछि यो निर्वाचन क्षेत्रले धेरैको ध्यानाकर्षण समेत गराएको छ ।
लामो समय नेपाली काँग्रेसमा आवद्ध भएर सबैभन्दा बढि लाभको पद पाएका वाग्ले काँग्रेसले आफुलाई अवसर दिएन भन्दै रास्वपाबाट चुनाव लड्न तनहुँ आए । उनी काँग्रेसमा छँदा राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्ष तथा काँग्रेसको निर्वाचन घोषणापत्र मस्यौदा समितिका संयोजक समेत भए । लामो समय काँग्रेसमै रहेका कारण उनको व्यक्तिगत जिवनबारे पनि धेरै काँग्रेसीजनहरुलाई नै थाह छ ।
त्यसैकारण अहिले सामाजिक सन्जालमा स्वर्णिमलाई नौ प्रश्न भन्दै काँग्रेसका कार्यकर्ताहरुले अभियान नै चलाएका छन् । जसलाई काँग्रेसका उम्मेदबार गोविन्द भट्टराई निकट नेता तथा कार्यकर्ताहरुले धमाधम शेयर गरिरहेका छन् । सोही कारण काँग्रेसले आफु विरुद्ध साईवर हमला सुरु गरेको स्वयं स्वर्णिमले नै स्विकार गरेका छन् । आईतबार दमौलीमा भएको चुनावी सभामा बोल्दै स्वर्णिमले आफ्नो विरुद्धमा प्रचार गर्न काँग्रेसले दर्जन भन्दा बढि साईबर सेनाहरु दमौलीमा उतारेको आरोप लगाए । उनीहरुले आफ्नो व्यक्तिगत जिवनमाथी नै हमला सुरु गरेको स्वर्णिमको आरोप थियो । आफुमाथी मात्र नभई आफ्नो पत्नी र १० बर्षिय छोरामाथि पनि गाली गलौज गरेको स्वर्णिमले बताए ।
तर आफु विरुद्ध साईवर हमला भएको स्विकार गरेका स्वर्णिमले सामाजिक सन्जालमा भाईरल भएका आफुसँग सम्बन्धित प्रश्नहरुको बारेमा भने एक शब्द पनि उच्चारण गरेनन् । उनले ति प्रश्नहरुको जवाफ दिनु आवश्यक पनि ठानेनन् । सामाजिक सन्जालमा स्वर्णिमलाई सोधिएका प्रश्नहरु यस्ता छन्–
१.तपाईसँग अमेरिकन ग्रिन कार्ड छ कि छैन ? छैन भने कहिले त्याग्नु भयो ?,२.तपाईले आफ्नी श्रीमती र छोरालाई नेपाली नागरिकता किन नदिलाउनु भएको ?, ३.बलियो नेपाल भन्ने संस्थाबाट बिल एण्ड मृलिन्दा गेट्स् फाउण्डेशनको ९ करोड रुपैया हिनामिना भएको आरोप छ, यसमा तपाईको के छ स्पष्टिकरण ?, ४.तपाईले भियतनामको कुख्यात भ्रष्ट्रचारी कम्युनिष्ट नेताको छोरी विवाह गर्नु भएको रहेछ, त्यता ससुराको सम्पत्ती गैरकानुनी रुपमा नेपाल भित्राउनु भएको छ भन्ने पनि आरोप छ, यसमा तपाईको धारणा के छ ?,
५.तपाई र तपाइको श्रीमती डलरमा आम्दानी गर्ने मान्छे, गरिवको कोटामा युलेन्स स्कुलमा आफु योजना आयोगको उपाध्यक्ष हुदा छोरालाई पूर्ण छात्रबृत्तिमा पढाउनुभएको रहेछ नी ? गरिवको नाममा तपाईको छोराले कसरी अवसर पायो ?, ६.तपाईको बुबाको नाममा रहेको चितवन टाडीको युनिक स्कुललाई बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतलाई तपाईले थर्काएर कर्पोरेट सामाजिक उत्तरदायित्व कोष मार्फत १ करोड लिनु भएको रहेछ नी ? तपाईको निजि स्कुल कसरी सामाजिक उत्तरदायित्वको पैसा लिन मिल्छ ?,
यसैगरि ७ नम्बरमा तपाईले आर्थिक पारदर्शिताको कुरा गर्नु हुन्छ, अहिलेसम्म कुन ठाउँमा जागिर खादा कति तलव थियो, कति आम्दानी भयो र तपाईको नेपाल, भियतनाम र अमेरिकामा कहाँ कति सम्पत्ती छ भन्ने किन देखाउनु हुदैन ? ८.तपाई र तपाईको श्रीमती दुवै डलरमा आम्दानी गर्ने अनि चुनाव खर्च जनतासँग चन्दा उठाउने ? यो कहाँको आर्थिक पारदर्शिता हो ?, ९.शशिकान्त अग्रवाल लगायत माडवारी व्यापारीसँग तपाईले नियमित चन्दा लिनुहुन्छ भन्न आरोप छ नी ?
यी प्रश्नहरुको जवाफ नदिएसम्म प्रश्नहरुले स्वर्णिमलाई लखेटिरहनेछन् । किनकी स्वर्णिम माथि उठाईएका अधिकांश प्रश्न राष्ट्रियतासँग पनि सम्बन्धित छन् ।