दुर्लभ बनस्पती सर्पगन्धाको खेती गर्दै देवघाटका सामुदायिक वन

Devghat Online

शेयर गरौ

उच्च रक्तचाप, निन्द्रा नलाग्ने, डिप्रेसन, मानसिक उत्तेजना र मृगि जस्ता रोगहरूमा उपयोगी

देवघाट । असार १९

देवघाट गाउँपालिकाका सामुदायिक वन समुहले दुर्लभ बनस्पतीको रुपमा लिइने सर्पगन्धाको व्यवसायीक खेती गरेका छन् । देवघाट गाउँपालिका–५ को मधुवन सामुदायिक वन उपभोक्ता समितिले तनहुँै पहिलो पटक सर्पगन्धाको व्यवसायीक खेती गरेको हो ।
उक्त वन समुहले गत असार १३ गते वन समुहको चार रोपनी क्षेत्रफलको जग्गाामा सर्पगन्धाको ८ हजार बिरुवा रोपेको छ । उक्त विरुवा रोप्नकोलागि डिभिजन वन कार्यालय तनहुँले ४ लाख र मधुवन सामुदायिक वन समुहले १ लाख दश हजार गरि कुल ५ लाख १० हजार रुपैयाँ लगानी गरेको थियो ।

त्यसैगरि देवघाट–५ कै चक्रवर्ती सामुदायिक वन समुहले ४ हजार र रानीवन समुहले १ हजारको संख्यामा विरुवा रोपण गरेका छन् । पहिला पहिला काठजन्य विरुवा रोप्ने सामुदायिक वनमा अहिले भने महत्वपुर्ण तथा दुर्लभ बनस्पतीको रुपमा लिइने सर्पगन्धाको विरुवा रोप्न थालिएको हो । देवघाट–५ कै कालिका सामुदायिक वन तथा वडा नम्बर १ को सुनझाँक्री सामुदायिक वनले भने आफै उम्रिएको सर्पगन्धाको संरक्षंणको थालनी गरेको छ । उक्त वन समुहले आगामी आर्थिक वर्षमा थप विरुवा रोप्ने लक्ष्य लिएको छ ।

सर्पगन्धाको महत्व र उपयोगिता बुझेर नै यसको व्यसायीक खेती गरिएको मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम अधिकारीले बताए । सामुदायिक वनको आम्दानी बढाउन पनि उक्त खेती गरिएको गिरीले बताए । आगामी बर्षमा यो खेतीलाई अझ व्यापक विस्तार गर्ने र वनको आम्दानी बढाउने अध्यक्ष गिरीले बताए ।

चक्रवर्ती सामुदायिक वन समुहका अध्यक्ष टुकनाथ अधिकारीले वन बढेको झाडी फाँडेर बहुमुल्य जडिबुटीको रुपमा रहेको सर्पगन्धाको खेती गरिएको बताए । उनले अबको २ वर्षमा यसबाट राम्रो आम्दानी लिन सकिने बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ गन्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले सामुदायिक वनहरुले आम्दानीको विभिन्न श्रोतहरु खोज्नुपर्ने बताए । देवघाटको तल्लो भेगको हावापानीमा सजिलै हुर्कन सक्ने सर्पगन्धा जस्तो दुर्लभ बनस्पतीबाट भविष्यमा राम्रो आम्दानी लिन सकिने न्यौपानेले बताए ।

सव डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्णप्रसाद भट्टले वन समुहका उपभोक्तालाई सर्पगन्धाको महत्वको बारेमा धेरै जानकारी गराएपछि यसको व्यवासयीक खेती गर्न सम्भव भएको बताए । ‘यसअघि धेरैले झाडी ठानेर यसलाई पनि मास्ने गरेका थिए’ भट्टले भने ‘सर्पगन्धाको महत्व र उपयोगिताको बारेमा जानकारी गराएपछि सामुदायिक वनहरुले अहिले व्यवसायीक खेती गर्न थालेका छन् ।’ भट्टका अनुसार तनहुँमा हालसम्म देवघाटका सामुदायिक वनले मात्र यसको खेती गरेका छन् ।

२ सयदेखी ५ सय मिटरको उचाइमा रहेको जग्गामा मात्र सर्पगन्धाको खेती गर्न सकिने हुँदा देवघाटकै वडा नम्बर १ र ५ बाहेका अन्य वडाका सामुदायिक वनले भने यसको खेती गर्न सक्नेछैनन् । सर्पगन्धाको जरामा रहेका रिपर्पिन, सर्पेन्टाईन र एजमालिन आदि नामका मुख्य वनस्पतिजन्य रसायनहरू उच्च रक्तचाप, निन्द्रा नलाग्ने, डिप्रेसन, मानसिक उत्तेजना र मृगि जस्ता रोगहरूमा समेत उपयोगी भएकोले हानी रहित प्राकृतिक औषधीको रूपमा यसलाई प्रयोग गरिन्छ ।

देवघाटमा पहिलो पटक व्यवसायीक खेती गरिएको हुँदा जनकपुर र सर्लाहीबाट प्रति बिरुवा ५० रुपैयाँको दरले खरिद गरिएको सवडिभिजन वन कार्यालय देवघाटका प्रमुख भट्टले बताए । आगामी वर्षदेखी भने देवघाटमै विरुवा उत्पादन हुनेछ ।

सर्पगन्धा (रावल्फिया) एक वहुवर्षे सदाबहार बिरुवा हो । यसको व्यापारिक नाम रावलफिया हो । रावलफिया भन्ने शब्द १६ औँ शताब्दीका जर्मन चिकित्सक राउओल्फको नामबाट आएको हो । यसलाई संकटापन्न बिरुवाको सुचीमा समेत राखिएको छ ।

प्राकृतिक अवस्थामा यो बिरुवा पतझर ओसिलो जंगलमा पाइन्छ । विशेष गरेर सालको जंगलमा यो बिरुवा हुर्कन्छ । उष्ण प्रदेशिय वनस्पति भएकोले यो बिरुवा नेपाल लगायत भारत, वर्मा आदि देशहरूमा पाइन्छ । यो एसिया बाहेक अफ्रिका र अमेरिकाको उष्ण भूभागमा समेत पाइन्छ । भारतमा मात्रै यसका पाँच प्रजाति पाइन्छन् । हाम्रो देशमा हालसम्म तराई क्षेत्रमा मात्र यसको व्यवसायीक खेती गरिएको छ ।
सर्पगन्धाको जरा शताब्दी पहिलेदेखि नै आयुर्वेदिक औषधीमा प्रयोग हुँदै आईरहेको छ भने आधुनिक औषधीमा पनि यसको प्रयोग केही दशक अघि देखि भइरहेको छ । त्यसैले, युरोपियन मुलुकहरू तथा अमेरिकामा यसको आपूर्ति भारत, पाकिस्तान, श्रीलंका, बर्मा, थाइल्यान्ड आदि एसियाली देशहरूबाट निकासीबाट हुने गरेको छ । सर्पगन्धा औषधीमा उपयोग हुने वनस्पति भएकोले यो बिरुवाको महत्व निकै छ ।
सर्पगन्धाको जरा उच्च रक्तचापका लागि अति नै उपयोगी मानिन्छ ।

यो जडीबुटीलाई प्रशोधन नगरी कोरा रूपमा नै रक्तचापको रोगमा प्रयोग गर्न पनि सकिन्छ । यसको जरा सुपारीको टुक्रा समानको आकारमा खाएमा उच्च रक्तचाप नियन्त्रण हुन्छ । संसार भरि नै हाल रसायनबाट तयार गरिएको औषधीहरूले दीर्घकालीन रूपमा स्वास्थ्यलाई हानी गर्न सक्ने सम्भावना बढी भएको कारणले विकसित देशहरूका उपभोक्ताहरूले हाल जडीबुटीमा आधारित औषधीको प्रयोग गर्न सुरु गरेका छन् । तसर्थ सर्पगन्धाको माग बढी रहेको छ ।

भट्टका अनुसार नेपालमा आयुर्वेदिक औषधि निर्माता कम्पनीहरू सिंहदरबार वैद्यखानाले ‘सर्पगन्धावटी’, गोरखा आयुर्वेदिक कम्पनीले ‘टेन्सारिन” र भारतको डाबर कम्पनीले ‘रिपर्पिन’ नामको औषधि उत्पादनमा सर्पगन्धा जडीबुटीको खपत गरी राखेका छन् । जर्मन, अमेरिका जस्ता पश्चिमी मुलुकहरूमा पनि यसको माग प्रशस्त रहेको छ । विश्व बजारमा मागअनुसार मूल्य फरक फरक रहेका पाइन्छ । यसको जरा नेपालमा प्रति केजी ७५० रुपैयाँसम्म विक्री हुने गरेको छ ।

नेपाल सरकारले आर्थिक समृद्धीको लागि प्राथमिकता राखेका ३० प्रकारको जडिबुटी मध्ये सर्पगन्धा एक हो । यसको निकासी भन्सार दर नै प्रतिकेजी ५० रुपैयाँ तोकिएको छ । यसको राम्रो संरक्षण गर्न सके २ वर्ष पछि देवघाटका सामुदायिक वनले सर्पगन्धाको जरा बिक्रीबाट मात्रै वार्षिक लाखौं रुपैयाँ आम्दानी लिन सक्ने सव डिभिजन वन प्रमुख भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

व्यास नगरपालिकाका शिक्षा अधिकृतलाई पत्रः संस्थागत विद्यालयहरुको कानुनी बैधता र नियमन गर्नुस्

तनहुँ । बैशाख १३ व्यास नगरपालिकाका एक सचेत नागरिकले व्यास नगरपालिका भित्रका संस्थागत तथा निजि