एस आर दुवाडी
धादिङको सुन्दर गाउँ केवलपुरमा २००३ सालको कुनै एक शुभ दिन पुण्यप्रसाद सुवेदी र तिलकुमारी सुवेदीको गर्भबाट एक बालकको जन्म भयो । ती बालकको अक्षर यात्रा घरबाटै आरम्भ भएको थियो । त्यसमा आधारशिला बनेर उभिनुभएको थियो पूर्णप्रसाद सुवेदी । जसको सान्निध्यमा रामप्रसादमा ज्ञानको बीज उम्रियो । त्यस बीजले काठमाडौँको रानीपोखरी प्रधान पाठशालामा मलजल पायो । पाठशालाबाटै उहाँले आफ्नो औपचारिक शिक्षाको थालनी गर्नुभएको थियो ।



त्रिभुवन विश्वविद्यालयबाट शांकर वेदान्तमा आचार्य उपाधि प्रथम श्रेणीमा प्राप्त गर्नु उहाँको अध्ययनशील गाम्भीर्यको साक्षी हो । त्यसपछि ‘राजर्षि जनक विदेह सिद्धान्तमा समीक्षात्मक अध्ययन’ शीर्षक अनुसन्धानमार्फत रामप्रसादले २०४१ सालमा विद्यावारिधिको मुकुट पहिरिनुभयो ।
धर्म र साधनाको गहिराइमा प्रवेश गर्दै उहाँले २०४८ सालमा निरञ्जन पीठाधीश्वर महामण्डलेश्वर श्री १००८ स्वामी महेशानन्द गिरिबाट आबाल ब्रह्मचारीको जीवनलाई पूर्णता दिँदै संन्यास ग्रहण गर्नुभयो । यही क्षण थियो–रामप्रसाद सुवेदी सांसारिक पहिचानबाट उन्मुक्त भई रामानन्द गिरि बनेर अध्यात्मका आलोकमा दीक्षित हुनुभएको ।
डा. रामानन्द गिरि एक यस्ता यायावर साधक, जसको हृदयमा मानवता ध्वनित हुन्थ्यो। जसको दृष्टिमा विश्वशान्तिको आभा प्रतिबिम्बित हुन्थ्यो र जसको आत्मा विश्वबन्धुत्वको दिव्य सूत्रमा गाँसिएको थियो । उहाँको जीवनमार्ग सनातन आर्य संस्कृतिको शुद्धतम स्रोतसँग अभिसिक्त रह्यो ।
वैदिक सनातन संस्कृतिको संरक्षण र संवर्धनको साधनामा उहाँ स्वयं एक ज्वलन्त दीप बनेर बलिरहनुभयो । उहाँले जीवनभर अज्ञानताको अँध्यारो चिरेर ज्ञानको किरण बाँडिरहनुभयो। प्राचीनतम भाषाका रूपमा ऋषिहरूको साससँग मिसिएको संस्कृत उहाँको साधनाको माध्यम मात्र होइन उहाँको आत्माको अभिव्यक्ति बन्यो । त्यही संस्कृत भाषामा रचना गरिएका वैदिक वाङ्ममयको गहिरो अध्ययन गरेर उहाँले अध्यात्म ज्ञानको अमृत बगाउनुभएको थियो ।
काठमाडौँका गुरुकुलदेखि वाराणसीका तीर्थस्वरूप शिक्षालयहरूसम्म उहाँले ज्ञान प्रवाह गर्नुभएको छ । उहाँ जहाँ पुग्नुभयो, त्यहाँ उहाँले ज्ञानको पवित्र जल बगाउनुभयो, शब्द–मन्त्र बने, शिक्षाहरू–दीक्षा बने । उहाँले आफूले संकलन गर्नुभएको शास्त्र र साधनाको सम्पूर्ण सम्पदा शिष्यहरूका हृदयमा रोपिदिनुभएको छ ।
उहाँले ज्ञान मात्रै बाँड्नु भएको छैन । ज्ञानको मन्दिर स्थापनाको नेतृत्व नै लिनुभयो । सदाचार, सेवा र सत्पथको संगमबाट समाजमा नवचेतना र आध्यात्मिक ऊर्जा सञ्चरित गराउने महान् संकल्प बोकेर स्वामीज्यूकै धर्मनिष्ठ संकल्पको प्रतिफलस्वरूप २०५० सालमा तनहुँको पवित्र देवघाटधाममा महेश संन्यास आश्रम र महेश–संस्कृत–गुरुकुलको दिव्य स्थापना भएको हो ।
यो गुरुकुल कुनै साधारण शिक्षालय मात्र होइन–यो त हो मानव आत्मालाई ज्ञान, अनुशासन र अध्यात्मको रश्मिबाट जागृत गराउने आध्यात्मिक प्रयोगशाला । यहाँ विद्यार्थीलाई निःशुल्क रूपमा आधारभूत कक्षादेखि आचार्यसम्मको शिक्षा प्रदान गरिन्छ । प्राकृतिक सौन्दर्यले घेरिएको, शान्त, सात्त्विक र तपोभूमि झल्काउने वातावरणमा वेद, व्याकरण, वेदान्त, ज्योतिषजस्ता प्राच्य ज्ञानशास्त्रहरूको अध्ययन गराइन्छ ।
गुरुकुलको जीवनशैलीमा योगाभ्यास, व्यायाम, खेलकुद र अनुशासनित दिनचर्याले शारीरिक तन्दुरुस्ती मात्र होइन, मानसिक समन्वय र आत्मिक सामञ्जस्य पनि प्रदान गर्दछ। आधुनिक शिक्षालाई अँगाल्दै संगीत र कम्प्युटरजस्ता विषयसमेत समावेश गरिएकाले परम्परा र प्रविधिको सुन्दर समन्वय गुरुकुलमा पाइन्छ ।
एक लाखभन्दा बढी ग्रन्थसम्पन्न बृहत् पुस्तकालय यस गुरुकुलको प्राण हो । त्यहाँ विद्यार्थीहरू शास्त्ररूको अमृतमा डुबुल्की मार्दै ज्ञानको क्षितिज विस्तार गरिरहेका छन् । चरित्र निर्माण यहाँको मूल मन्त्र हो । स्वामीज्यूले गुरुकुल स्थापनाको अभियान चलाउनुभयो । फलस्वरूप आज नेपालभर २०० भन्दा बढी गुरुकुल सञ्चालनमा छन् । ‘स्वाध्यायप्रवचनाभ्यां न प्रमदितव्यम् ।’ यो महान् वाक्यलाई जीवनको मूलमन्त्र बनाएर अध्ययन र शिक्षणमा सदैव समर्पित स्वामीजीका अनेकौँ रूप थिए । भनिन्छ– महापुरुषहरू प्रायः समुद्रजस्ता गहिरा र शान्त हुन्छन् । कहिलेकाहीँ रत्नजस्तै चम्किला अनि गोहीझैँ भयानक रूप पनि उनीहरूको हुन्छ ।
स्वामीजीमा त्यही प्रकारका बहुआयामिक व्यक्तित्व थिए, जसलाई न अत्यन्त नरम भन्न सकिन्छ न त पूर्ण कडा । उहाँमा स्नेह र कठोरता दुवैको सुमधुर मिलन थियो । सरल, निष्कपट र स्पष्ट अभिव्यक्तिका धनी, निर्भीक वक्ताका रूपमा उहाँको ख्याति थियो । उहाँले आफ्ना अनुयायी, विद्यार्थी र श्रोताको सानोतिनो भूल तत्काल सुधारका लागि कडा अनुशासनमा आबद्ध गराउनु हुन्थ्यो । कतिपयले उहाँको स्वभाव दुर्वासाजस्तै कठोर रहेको अनुभव गर्दथे । यद्यपि उहाँ सबैका आदरणीय र वन्दनीय हुनुहुन्थ्यो र भइरनुहुनेछ ।
स्वामीज्यू ज्ञानको महिमा यस्ता वाक्यहरूमा व्यक्त गर्नुहुन्थ्यो–ज्ञानीको ज्ञान जिज्ञासुहरूको सम्पत्ति हो । पढ्नु भनेको दृष्टि प्राप्त गर्नु हो । विद्याको रस लिन नजानेको जीवन मुर्दासमान हो । संसारमा सबैभन्दा पवित्र काम पढ्नु–पढाउनु हो । एउटा विषयमा आचार्य पास गरेपछि बल्ल विद्यार्थी जीवन सुरु हुन्छ ।
खप्तड बाबा र राष्ट्रगुरु योगी नरहरिनाथलाई प्रेरणाको स्रोत मानेर जीवनयात्रा अघि बढाउनुभएका स्वामीज्यू संस्कृत भाषामा धाराप्रवाह प्रवचन दिनुहुन्थ्यो । स्वामीज्यू अंग्रेजी भाषा पनि निपुणतापूर्वक बोल्न र लेख्न सक्नुहुन्थ्यो । वेदान्त दर्शनलाई अंग्रेजी माध्यमबाट नेपाल, भारत मात्र होइन, अमेरिका, बेलायत जस्ता देशहरूमा समेत उहाँले प्रभावशाली रूपमा उद्बोधन दिनुभएको थियो ।
देशभक्ति र राष्ट्रप्रेममा उहाँ गम्भीर हुनुहुन्थ्यो । जहाँ धेरै शासकहरू पद–प्रतिष्ठा र व्यक्तिगत उन्नतिमा मात्र ध्यान दिँदै देशको समग्र विकासलाई बेवास्ता गर्थे, त्यहाँ स्वामीज्यू देशको प्राचीन सांस्कृतिक र प्राज्ञिक वैभवको संरक्षणप्रति कटिबद्ध भएर आक्रोशित हुनुहुन्थ्यो । जोगी भएर पनि राष्ट्रसेवामा पूर्ण समर्पित भई उहाँले योगी नरहरिनाथ र प्रपन्नाचार्यले खोलिदिएको काँडा पन्छाउने मार्गलाई सकेसम्म संरक्षण र संवर्धन गर्ने अभियानमा जीवन समर्पित गर्नुभयो ।
मट्टिहानीका तस्मैया बाबा, दिङ्लाका बालगुरु षडानन्द, खिदिमका दधिराम मरासिनी जस्ता अभियन्ताले पार्टपुर्जा जोडेर गुरुकुल अभियानलाई बलियो बनाएका थिए । गलेश्वर बाबा, योगी नरहरिनाथ, परमानन्द सरस्वतीजस्ता साधुसन्तले सफासुग्घर गर्दै मार्ग प्रशस्त गरेका थिए । यो गुरुकुल अभियानलाई अझ सजीव, गतिशील र सफल बनाउन ‘साइकलको स्ट्यान्ड खोली कुदाउने र हावामा कावा खेलाउने’ अवसर भने डा. स्वामी रामानन्द गिरिजीलाई प्राप्त भयो ।
नेपालको राष्ट्रिय शिक्षापद्धतिमा संस्कृत शिक्षाको परम्परागत धारा ‘गुरुकुल’ को रूपमा स्थायित्व दिलाएर यसको मानक दृष्टान्त प्रस्तुत गर्न सफल उहाँ गुरुकुलशिक्षाका स्रष्टा र प्रवर्तक हुनुहुन्छ ।
सिकाइका क्रममा शास्त्रहरू कण्ठ गरेर निरन्तर आवृत्ति गराउनु मात्र होइन, जनमानसले सजिलै बुझ्ने गरी वेदान्तका जटिल सन्दर्भलाई सरल र स्पष्ट बनाई व्याख्या गर्ने अद्वितीय शैली पनि उहाँको थियो । प्रामाणिक रूपमा दार्शनिक साहित्यको रचना गर्ने नेपाली व्याख्याताहरूको खडेरी परेका बेला स्वामीजीबाट लिखित १६–१७ ग्रन्थहरू मरुभूमिका रुखजस्ता एकको सय भएका छन् ।

उहाँका जनकदर्शन, माण्डूक्यकारिका, रामगीता, वेदस्तुति, श्रीमद्भागवतमहापुराण (नेपाली अनुवाद–रामानन्दी टीका), देवीगीता, दुर्गासप्तशती, दक्षिणामूर्तिस्तोत्रम्, शिवमहिम्नः स्तोत्रम्, ईशादि दश उपनिषद्, अध्यात्म रामायण जस्ता ग्रन्थ प्रकाशित छन्। संस्कृतका गूढ आध्यात्मिक ग्रन्थहरूलाई नेपाली भाषामा अनुवाद गरी, गम्भीर व्याख्या प्रस्तुत गर्नुभएकाले उहाँ दार्शनिक लेखकका रूपमा परिचित हुनुहुन्छ ।
स्वामीज्यू अनुयायीहरूलाई धार्मिक आचारसंहिता र नियमहरूको कठोर अनुशासनमा दृढ रहन सजग गराउनुहुन्थ्यो । त्यसैले उहाँसँग संगत गर्नेहरू संस्कृत वाङ्मयका गहिरा उपासक र नेपाली भाषासाहित्यका प्रेमिल सन्तका रूपमा स्मरण गर्छन् । पठनपाठनमा अनन्य मोहले प्रेरित उहाँलाई हजारौँ अनुयायीहरूले मानवीय सीमाभन्दा माथि श्रद्धा प्रकट गर्दछन् । यसरी स्वामीज्यू नेपालको विद्वत्–सन्तपरम्परामा एक अनुपमज्योति झैँ चम्किन सफल हुनुभएको छ ।
स्वामीज्यूको हृदयमा अपार भक्ति र मस्तिष्कमा वेदान्त दर्शनको गहिरो ज्ञान दुवैलाई सम्हाल्ने सावधानी थियो । उहाँको लेखाइमा भक्ति र ज्ञानको अनुपम समन्वय झल्किन्छ । मधुसूदन सरस्वती र अप्पय दीक्षितजस्ता दार्शनिकहरूमा देखिने त्यो दिव्य समन्वय भाव स्वामीजीको जीवनदृष्टि हो ।
जीवनदर्शन र अनुभवबाट प्रेरित भएर श्रीमद्भागवतको दार्शनिक व्याख्या गर्नुभएका स्वामीज्यूले नेपाली साहित्यमा युगान्तकारी योगदान पु¥याउनुभएको छ । श्रीमद्भागवत जस्तो विशिष्ट ग्रन्थमा योग्य हस्तीद्वारा आधिकारिक व्याख्या प्राप्त हुनु नेपाली भाषासाहित्यका लागि दुर्लभ र अमूल्य अवसर हो। यसरी उहाँले ज्ञान र भक्ति दुवैको संगमबाट सृष्टि गरेको आध्यात्मिक प्रकाशले नेपाली संस्कृति र साहित्यमा अमीट छाप छोडेको छ ।
डा.स्वामी रामानन्द गिरिज्यूका स्वाध्याय र प्रवचनका क्रममा निस्किएका उपदेशहरू केही यस्ता छन्–
–संसारमा समस्या स्वयं खडा हुन्छ, गरिरहनुपर्दैन ।
–विषयभोगबाट कहिल्यै वैराग्य हुँदैन । भोगबाट तृप्ति मिल्दैन भने विचारबाट नै वैराग्य हुन्छ ।
–सगुणबाट सुरु नगरी र निर्गुणमा नटुंगिई ज्ञान हुँदैन ।
–सर्तमा भएको प्रेम देखावटी हुन्छ ।
–दिनु राख्नु हो र राख्नु दिनु हो ।
–संगठन भएपछि धर्म समाप्त हुन्छ ।
–संसारको उन्नति मान्यतामात्रको हो ।
–प्रेम त्यस्तो सम्बन्ध हो, जो भक्त र भगवान् दुवैमा बस्छ ।
–मान्छेको सृष्टि गनाउँछ भने ईश्वरको सृष्टि बास्ना आउँछ ।
–जसको हृदयमा विशुद्ध प्रेम छैन त्यही नास्तिक हो ।
–सृष्टि होइन दृष्टि बदल्नुपर्छ ।
–शास्त्रको अध्ययनबाट जुन प्रकाश मिल्छ, त्यसको तुलना कुनै भोगसँग हुन सक्दैन ।
–महत्वाकांक्षी व्यक्तिले उन्नति गर्न सक्दैन ।
–संसार अनादि कालदेखिको बासी भात हो, त्यसलाई नखाऊ ।
–संसार रोग–द्वेषको अड्डा हो ।
–विषय चिन्तनले चित्त मेटाउँछ ।
–ज्ञानद्वारा वासनाको कोलाहल शान्त गर्नु नै असली मौन हो ।
–मनले मान्छेलाई होइन मान्छेले मनलाई बिगारेको हो ।
–समयको दुरुपयोग भगवान्को अनादर हो ।
–यो संसार बौलाएको साँढे हो ।
–विचारको अभावमा बाँच्नु मर्नुसमान हो ।
–पढ्नु भनेको दृष्टि प्राप्त गर्नु हो ।
–यो युग चुहिने थोत्रो ताप्कृजस्तो भइसक्यो ।
–विषय बन्धनको कारण होइन, विषयमा हुने ममता बन्धनको कारण हो ।
–स्नेह तलतिर बग्छ भने श्रद्धा माथितिर बग्छ ।
नेपालका आध्यात्मिक र दार्शनिक मनीषीहरूको नाम उल्लेख गर्दा डा.स्वामी रामानन्द गिरिजी महाराजसँगै अर्को कुनै परिचय, पृष्ठभूमि वा भूमिका थप्न आवश्यक पर्दैन । उहाँ अध्यात्मशृंखलाका अविच्छेद्य कडी बनेर युगौँयुगसम्मका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । आर्षतुल्य, स्वामीज्यूले २०७४ साल असार २४ गते आफ्नो इहलीला सम्पन्न गर्दै समष्टिभावमा प्रवेश गर्नुभयो ।
डा. स्वामी रामानन्द गिरिजी महाराज महान् आध्यात्मिक सन्त, निष्ठावान् विद्वान्, सफल शैक्षिक अभियन्ता, सिद्धहस्त दार्शनिक लेखक र अनुशासनप्रिय गुरुका रूपमा नेपाल राष्ट्रका लागि सर्वदा अविस्मरणीय पात्र बन्नुभएको छ । त्यस्ता महान् व्यक्तिले देखाएको मार्गमा अग्रसर हुनु हामी सबैको दायित्व हो । सनातन संस्कृति, सभ्यता र वेदान्तशास्त्रको प्रचारप्रसारमा उहाँले गर्नुभएको योगदान कुनै एउटा विश्वविद्यालयको भन्दा कम छन् । गुरुपूर्णिमा एवम् व्यास जयन्तीका अवसरमा ब्रह्मसायुज्य श्रद्धेय गुरुप्रति गहिरो श्रद्धा र भक्तिभाव अर्पण गर्दछु ।












