देवघाट । फागुन ७
देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रमको आयोजनामा गत माघ १८ गतेदेखी शतचण्डी यज्ञ जारी रहेको छ । राष्ट्रशान्ती, समृद्धी एवं कल्याणका लागि गलेश्वर आश्रमको आयोजनामा एक महिने शतचण्डी यज्ञ गरेको हो । उक्त यज्ञमा पछिल्लो दिनमा भक्तजनको उल्लेख्य उपस्थिती बढ्दै गएको गलेश्वर आश्रमले जनाएको छ ।



देवघाटधाम नेपालको मध्यभागमा रहेको ऐतिहाँसिक, सांस्कृतिक र धार्मिक तिर्थस्थल हो । कृष्णागन्डकी र त्रिशुलीको संगम स्थल रहेको हुँदा यस देवघाटलाई शास्त्रमा आदिप्रयाग भनिएको छ । यस विशिष्ट स्थानमा एक सय वर्ष अघि म्याग्दीको गलेश्वरधामबाट अष्टाङ्ग योगसिद्ध ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) देवघाटधाम आएर तपश्या गरेका थिए ।

तपस्वी अष्टाङ्ग योगसिद्ध योगिराज श्री ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) ले आफ्नो साधनास्थलको रुपमा कालीगण्डकी नदीलाई पच्छ्याउने क्रममा वि.सं. १९८२ सालमा म्याग्दीबाट देवघाट आई कुटी निर्माण गरी उक्त गलेश्वर आश्रमको स्थापना गरेका थिए । गलेश्वरबाबाले यहाँ आएर साधना गर्नु भएको हुँदा उक्त स्थानलाई गलेश्वर आश्रम भनिएको हो ।

गलेश्वर बाबा देवघाट आएर बस्नुभएको एकसय बर्ष भएको अवसरमा गलेश्वर आश्रमले माघ १८ गतेदेखी फागुन १७ गतेसम्म नेपालको इतिहाँसमै पहिलो पटक विराट लक्ष्यचण्डी महायज्ञ गर्ने संकल्प गरिएको थियो । तर फागुन २१ गतेको लागि प्रतिनिधि सभाको निर्वाचनको घोषणा गरिएको हुँदा सबैको राय, सल्लाहा र सुझाव अनुसार उक्त लक्ष्यचण्डी यज्ञ स्थगित गरि हवनात्मक शतचण्डी यज्ञ गरिएको गलेश्वर आश्रमका पिठाधिश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले बताए ।

यस अघि संकल्प गरिएको लक्ष्यचण्डी विराट महायज्ञ आगामी वर्ष २०८३ माघ १ गतेदेखी फागुन ८ गतेसम्म गरिनेछ । यो वर्ष लक्ष्यचण्डी महायज्ञ गर्ने संकल्प गरिएकोमा त्यसको सानो रुप माघ १८ देखी फागुन १७ गतेसम्म हवनात्मक शतचण्डी यज्ञ गरिएको छ हुँदा सबै भक्तहरुलाई उक्त हवनात्मक शतचण्डीमा आउन र सहयोग गर्न आश्रमका पिठाधिश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले अनुरोध गरे ।













