तनहुँ । असार १५
नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार १६ र १७ गते भारी वर्षा हुने अनुमान गर्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधरणमा अनुरोध गरेको छ ।



जल तथा मौसम विज्ञान विभागका अनुसार यही असार १६ र १७ गते मनसुनी गतिविधि बढ्न गई मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
यसैगरी देशका पहाडी र तराई भू–भागका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा समेत मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको संभावना रहेको भन्दै प्राधिकरणले यस्तो बेला अकस्मात बाढी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन र पूर्वतयारी गर्नु हुन सबैमा अनुरोध गरेको छ ।
जोखिमको अवस्थालाई मध्यनजर अकस्मात वाढी आउनसक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेहरु, पहिरोको जोखिममा रहेका स्थान तथा खोला/नदी किनाराका वस्तीका बासिन्दाहरुले बढी सतर्कता अपनाउन, डुबान हुने वस्तीका बासिन्दाहरुले उँचो र सुरक्षित स्थानबारे आफूले पनि जानकारी लिने र अरुलाई पनि जानकारी दिने। आवश्यक पर्नासाथ सुरक्षित रुपमा सुरक्षित स्थानमा जान, तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्ग र सडकहरुमा डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरु तयारी अवस्थामा राख्न प्राधिकरणले अनुरोध गरेको छ ।
यसैगरि पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरुले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही अलर्टमा रहन, वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपदमा मद्दत माग्न ११४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल, नेपालको १११४ हटलाइन नम्बर मोवाइलमा सेभ गरी राखे र आवश्यक पर्नासाथ फोन गर्न तथा जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान/पूर्वसूचना/चेतावनी बारे जानकारी लिइरहनु हुन पनि प्राधिरणले अनुरोध गरेको छ ।












