आदिकवि भानुभक्त क्याम्पसमा तमु भाषा तथा लिपि प्रशिक्षक प्रशिक्षण सुरु, ३० जना सहभागी

Devghat Online

शेयर गरौ

तनहुँ । असार २०

व्यास नपा १ स्थित आदिकवि भानुभक्त क्याम्पसमा तमु भाषा लिपि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । बढ्दो आधुनिकीकरण र पश्चिमा संस्कृतिको प्रभावका कारण रैथाने भाषा र लिपिहरू लोप हुने चुनौतीपूर्ण अवस्था सिर्जना भइरहेका बेला आदिकवि भानुभक्त क्याम्पसको आफ्नै आन्तरिक आर्थिक स्रोतसाधनमा सात दिने ‘तमु भाषा तथा लिपि प्रशिक्षक प्रशिक्षण तालिम’ शनिबारदेखि क्याम्पसको तालिम कक्षमा भव्य रूपमा सुरु भएको हो ।

क्याम्पसको ‘आदिवासी जनजाति भाषा तथा संस्कृति सम्बर्धन एवं विकास समिति’ को आयोजनामा सुरु भएको उक्त तालिममा सहभागी प्रशिक्षकहरूले तालिमपश्चात् आ–आफ्नो स्थानीय पालिका स्तरमा पुगेर तमु भाषा र लिपिको प्रशिक्षण अभियान सञ्चालन गर्ने उद्देश्य राखिएको छ । तालिमको उद्घाटन कार्यक्रमका वक्ताहरूले वर्तमान समयमा रैथाने भाषा र लिपिहरूको अवस्था निकै चुनौतीपूर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए । उद्घाटन सत्रमा बोल्ने वक्ताहरूद्वारा नयाँ पुस्तामा आफ्नो मातृभाषा बोल्ने र लिपि लेख्ने संस्कार हराउँदै गएकाले तमु समुदायको पहिचान नै संकटमा पर्न सक्ने खतरा औंल्याइएको थियो ।

क्याम्पसको आदिवासी जनजाति भाषा तथा संस्कृति सम्बर्धन एवं विकास समितिका संयोजक एवं अध्यक्ष ठाकुर बहादुर दरैको अध्यक्षतामा आयोजित सो तालिमको व्यास नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपानेले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केश बहादुर सुनारले समुदायको भाषा संस्कृति कला र साहित्यको संरक्षण गर्नु पनि सामुदायिक क्याम्पसको दायित्व भएकाले क्याम्पसले गत वर्ष मगर भाषा र यस वर्ष गुरुङ भाषाको सम्बर्धनको कार्यक्रम अगाडि बढाएको बताए । सो कार्यक्रममा क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष बुद्धिमान श्रेष्ठ, सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विज्ञ समूहका संयोजक हरिसिंह गुरुङले तालिमको पाठ्यक्रम, मोड्युल र सात दिने उद्देश्यमाथि विस्तृत प्रकाश पारेका थिए भने क्याम्पस प्रमुख महाप्रसाद हडखलेले क्याम्पसद्वारा अघि सारिएको ‘तमु भाषा, साहित्य, कला तथा संस्कृति वर्ष २०२६’ को अवधारणा र यसका मुख्य उद्देश्यहरूका बारेमा विशेष प्रस्तुति राखेका थिए ।

तालिमको उद्घाटन कार्यक्रममा तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य रग बहादुर गुरुङ, परिषद्का जिल्ला संयोजक देव बहादुर गुरुङ, तमु लिपिका विज्ञ भिम प्रसाद गुरुङ लगायत तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को केन्द्र, प्रदेश, जिल्ला र पालिका स्तरका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

तालिममा तनहुँ जिल्लाका विभिन्न स्थानीय तहका ३० जना प्रशिक्षार्थी सहभागी छन् । तालिममा सहभागी भएका प्रशिक्षार्थीहरूका लागि क्याम्पसकै छात्रावासमा निःशुल्क आवासको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा