८० लाख उपचार खर्च जुटाउन आर्थिक सहयोगको अपिल, ३ लाख बढि संकलन
देवघाट । भदौ ४



नवलपुरको गैंडाकोट नपा–३ हर्दी देवघाट निवासी ब्लड क्यान्सर पीडित २५ बर्षीया सारा जर्घा मगरको जिवन बचाउन देवघाटका युवा अभियन्ता विष्णु पाण्डे (सफल शर्मा) ले सारा बचाउ अभियान सन्चालन गरेका छन् । शर्माले सामाजिक सन्जाल मार्फत सारा जर्घा मगरको जिवन बचाउन अपिल गरेका छन् ।

हर्दीका लोकबहादुर जर्घा मगरकी २५ वर्षीया छोरी सारा जर्घा मगर विगत केही महिनादेखि ब्लड क्यान्सर (रक्त क्यान्सर) जस्तो गम्भीर र प्राणघातक रोगसँग लडिरहेकी छन् । दुई वर्षअघि मात्रै पत्नि गुमाएका लोकबहादुरको परिवारमा फेरि ठूलो बज्रपात आइपरेको छ । छोरीलाई ब्लड क्यान्सर जस्तो प्राणघातक रोग लागेपछि लोकबहादुरको जिवनमा बज्रपात परेको हो ।
सारको हाल भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उनको उपचार भइरहेको छ ।
चिकित्सकहरूका अनुसार क्यान्सरलाई पूर्ण रूपमा निको पार्न करिब रु.८० लाख खर्च हुनेछ । कमजोर आर्थिक अवस्थाका कारण यति ठूलो रकम जुटाउन लोकबहादुरको परिवारलाई असम्भव भएपछि परिवारले देश–विदेशमा रहनुभएका सम्पूर्ण दयालु मनहरू, समाजसेवी तथा सहयोगी हातहरूसँग जीवन रक्षाका लागि आर्थिक सहयोगको अपिल गरेको छ ।

यसैक्रममा देवघाटका युवा अभियन्ता शर्माले सामाजिक सन्जाल मार्फत साराको जिवन बचाउन अपिल गरेका हुन् । शर्माले बुधबार दिउँसो आफ्नो फेसबुक पेजमा साराको जिवन बचाउनको लागि आर्थिक सहयोग गर्न अपिल गर्दै पोष्ट राखेका थिए । त्यसपछि दाताहरुले आफ्नो गच्छे अनुसार रकम उपलब्ध गराउनु भएको शर्माले बताए ।
आफ्नो एकल अभियानबाट साराको उपचारकोलागि विहिबार साँझसम्म करिब ३ लाख २० हजार रुपैयाँ संकलन भएको शर्माले जानकारी दिए । रकम संकलन हुने क्रम जारी रहेको भन्दै केही दिनपछि विस्तृत विवरण सार्वजानिक गरिने बताए । आफुलाई जानकारीमा आएको सहयोग रकम सबै आफ्नो फेसबुक पोष्टबाट सार्वजानिक गर्दै आएको देवघाट सन्देश साप्ताहिकमा आवद्ध सन्चारकर्मी समेत रहेका शर्माले बताए ।

साराको उपचार सहयोगकोलागि सहयोगी व्यक्तिहरुले सिधै साराकी दिदि सुमित्रा जर्घा राना मगरको नाउँमा लक्ष्मी सनराइज बैंकको गैंडाकोटमा रहेको खाता नम्बर २१४१४३९५०२०२३००१ मा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाईएको शर्माले बताए । साथै ९८०९२७६०६६ नम्बरको मोवाईलमा सम्पर्क गरि सहयोग गर्न सकिने पनि शर्माले बताए ।
सबैको सानो सानो सहयोगले २५ वर्षीया सारा नानीले नयाँ जीवन पाउन सक्ने भन्दै शर्माले सम्पूर्ण महानुभावहरूलाई सक्दो आर्थिक सहयोग गरी यो अभियानलाई अधिकतम सेयर गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरेका छन् । शर्माले ५ महिना अघि बुटवलका शेखर खरालको उपचारको लागी १२ लाख संकलन गरि परिवारलाई हस्तान्रतण गरेका थिए ।












