चितवनमा पहिलोपटक सुरु भयो शाहसिक खेल प्याराग्लाईडिङ

Devghat Online

शेयर गरौ

चितवन, जेठ १

चितवनमा पहिलोपटक प्याराग्लाईडिङ सुरु भएको छ । उक्त शाहसिक खेल प्याराग्लाईडिङलाई प्रवद्र्धन गर्न चितवनका होटल व्यवसायीहरुले विभिन्न प्याकेजहरु ल्याउने भएका छन् । नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि एक भएर अघि बढ्ने प्रतिवद्धता जनाउन होटल व्यवसायीहरुले प्याकेज ल्याउने तयारी गरेका हुन् ।

हिमालय फ्रन्टियर्स प्याराग्लाईडिङ प्रा.लि.ले सोमबार भरतपुरमा गरेको छलफल कार्यक्रममा होटल व्यवसायीहरुले चितवनका नयाँ पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न विभिन्न प्याकेजहरु अघि बढाउने प्रतिवद्धता जनाएका छन् । होटेल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले नयाँ पर्यटकीय गन्तव्यले पर्यटकहरुलाई चितवनको बसाई लम्ब्याउने भएकाले त्यस्ता गन्तव्यहरुको प्रवद्र्धनमा होटल व्यवसायीहरुले सघाउने बताए । ‘चितवनको लागि यो नितान्त नौलो र नयाँ गन्तव्य हो, यसले चितवनमा पर्यटक भित्र्याउन थप मद्धत पुग्छ’–अध्यक्ष चुकेले भने ।

उनले वैशाख १ गतेबाट भरतपुर–२९ चौकीडाँडाबाट सुरु भएको प्याराग्लाईडिङले चितवनको पर्यटनमा नयाँ आयाम थपिएको भन्दै यसलाई जोगाउन सबैको दायित्व भएको बताए । वैशाख १ गतेदेखि अनौपचारिक रुपमा उडान सुरु भएपनि प्याराग्लाइडिङको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक रुपमा उद्घाटन गरेका थिए । जिल्लामा पर्यटकीय गन्तव्यहरु धेरै नहुँदा पर्यटकहरुको बसाई लम्ब्याउन कठिन भइरहेको भन्दै नयाँ–नयाँ गन्तव्य निर्माणमा पनि जोड दिनुपर्ने बताए । ‘चितवनमा धेरै पर्यटकीय गन्तव्यहरु दिन नसक्दा विदेशी पर्यटकहरु छोटो समयमै चितवनबाट फर्किने गरेका छन्, यस खेलले उनीहरुलाई थप चितवन बसाइ लम्ब्याउन मद्धत पुग्नेछ’–अध्यक्ष चुकेले भने ।

होटल व्यवसायी संघ चितवनका अध्यक्ष केशव हड्खलेले भरतपुरका सबै होटलहरुले प्याराग्लाइडिङको प्रवद्र्धनका सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘हामी भरतपुरबासीका लागि यो झनै खुशीको कुरा हो, आफ्नै ठाउँमा नयाँ गन्तव्यको सुरुवात हुनु गौरवको विषय हो’–अध्यक्ष हड्खलेले भने ।

हिमालय फ्रन्टियर्स प्याराग्लाईडिङका अध्यक्ष विजय बहादुर घलेले पहिलोपटक जिल्लामा सुरु गरिएको प्याराग्लाईडिङले चितवनको पर्यटनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले प्याराग्लाइडिङ प्रवद्र्धनका लागि सबै होटल व्यवसायीहरुको साथ सहयोग आवश्यक रहेको भन्दै छिट्टै विभिन्न प्याकेजहरु घोषणा गरिने बताए । अध्यक्ष घलेले भने–‘चितवनमा नयाँ पर्यटकीय गन्तव्यको विकास गरौं भन्ने उद्देश्यले हामीले प्याराग्लाईडिङ सुरु गरेका हौं, यो हाम्रो मात्र होइन चितवनबासीको सम्पति हो, यसलाई जोगाई राख्न सबैको सहयोगको खाँचो छ ।’

शुभारम्भको अवसरमा करिव ३० मिनेटको प्याराग्लाइडिङका लागि अहिले रु.६००० शुल्क तोकिएको छ । केही समयपछि प्याकेजसहित रु.८००० शुल्क तोकिने अध्यक्ष घलेले बताए । उनले चौकीडाँडालाई विशेष पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न कम्पनी लागि परेको भन्दै छिट्टै बम्जी जम्प, होटल, हिल स्टेशनको रुपमा विकास गर्न लागिएको बताए । प्याराग्लाईडिङ सुरुवातसंगै केही होटलहरुले प्याकेज समेत घोषणा गरि सकेका छन् ।

भरतपुरको होटल सिराइँचुलीलगायतले आफ्नो प्याकेजमा प्याराग्लाइडिङलाई समेटेका छन् । अन्य होटलहरुले पनि प्योकजमा घोषणाको तयारीमा छन् । होटल ह्याप्पी होम नारायणगढका संचालक कृष्ण महतोले आफ्नै ठाउँमा प्याराग्लाईडिङको अनुभव लिन अवसर आउनु सबै चितवनबासीको लागि गौरवको विषय रहेको बताए । उनले आफ्नो होटलको प्याकेजमा समेत प्याराग्लाडिङलाई समेट्ने प्रतिवद्धता जनाए ।

छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका द्धितीय उपाध्यक्ष राजेन्द्र ओली, पर्यटन विज्ञ डा.विश्व सुवेदीले चितवनको पर्यटन प्रवद्र्धनमा प्याराग्लाइडिङले थप टेवा पु¥याउने विश्वास व्यक्त गरे । पर्यटन विज्ञ सुवेदीले भरतपुर महानगरपालिकाले पर्यटन वर्ष २०२४ घोषणा गरि सकेकाले प्याराग्लाईडिङको प्रवद्र्धनलाई समेत जोड दिइने बताए । देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा स्वदेशी तथा विदेशी पर्यटकहरु चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी, हात्ती सफारी, डुंगा शयरका लागि सौराहा, पटिहानी र मेघौली आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू