कार्की भन्छन्–मेरो ठाउँमा अर्काे सदस्य नियुक्ती गर्न वाधा पुर्याएको छैन
दमौली, भदौ ५
नेकपा एकिकृत समाजबादी तनहुँले राष्ट्रिय भुमी आयोग तनहुँको सदस्यपदबाट श्रीराम कार्कीको राजिनामा मागेको छ । सो पार्टीले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि कार्कीले नेकपा एसमा हुँदा पाएको उक्त राजनीतिक नियुक्ती हाल नेकपा एस छाडेर एमालेमा प्रवेश गरेपछि पनि त्याग नगरेको आरोप लगाएको छ ।
नेकपा एसका जिल्ला कमिटिका अध्यक्ष काजिमान श्रेष्ठले कार्की नेकपा एसमा हुँँदा आयोगमा विज्ञ सदस्यको रुपमा सो नियुक्ती पाएको भएपनि अहिले नेकपा एस छाडेर एमालेमा प्रवेश गरेपछि आयोगको उक्त नियुक्तीबाट पनि राजिनामा दिनु पर्नेमा हालसम्म राजिनामा नदिएको बताए । नेकपा एसका तत्कालिन जिल्ला अध्यक्ष कार्की गत साउन ५ गते नेकपा एमालेमा समाहित भएका थिए । उनले एमालेमा फर्कने दिन दिन पार्टी कार्यालयमा आयोजित जिल्ला भेलामा अव आफु नेकपा एमालेमा जान लागेको भन्दै नेकपा एसको सबै जिम्मेबारी र नियुक्तीहरुबाट पनि राजिनामा दिने बताएपनि हालसम्म आयोगको सदस्यबाट राजिनामा नदिएको अध्यक्ष श्रेष्ठले बताए ।
तर कार्कीले भने राष्ट्रिय भुमी आयोगको सदस्यको हैसियतले आयोगका अध्यक्षलाई साउन ३० गते पत्र लेखी आफुले राजनीतिक दल परिवर्तन गरिसकेको हुँदा आयोगमा भएको आफ्नो जिम्मेबारीको बारेमा आयोगले गर्ने निर्णय स्विकार गर्ने जानकारी गराएका छन् । कार्कीले आयोगले नियम अनुसार गर्ने निर्णय आफुले स्विकार गर्ने बताएका छन् । ‘अव कसलाई नियुक्ती दिनु पर्ने हो, मैले छेकेको छैन’ कार्कीले भने ‘नियम अनुसार आयोगले गर्ने निर्णय मलाई स्विकार हुन्छ ।’
आफु सदस्य रहेको पदमा आयोगको गठन आदेश, ऐन कानुन र नियमको आधारमा सम्बन्धित पार्टीबाट सदस्य नियुक्ती गर्न आफ्नो तर्फबाट कुनै बाधा अवरोध नहुने कार्कीले आयोगका अध्यक्षलाई लेखेको पत्रमा स्पष्ट पारेको बताएका छन् । आफुलाई जिम्मेबारीबाट हटाएमा पुर्नवाहालीकोलागि अदालत नजाने भन्दै कार्कीले तर त्यही पदबाट राजिनामा दिनकोलागि काठमाडौं भने नजाने स्पष्ट पारे । कार्की २०७८ चैत ४ गतेदेखी आयोगमा विज्ञ सदस्यहरुको जिम्मेबारीमा छन् ।
सदस्य कार्कीले भुमी आयोगका अध्यक्षलाई लेखेको पत्र
कार्कीले भुमी आयोगको सदस्यबाट राजिनामा नदिएसम्म उनलाई जिम्मेबारीबाट हटाउने कानुनी प्रावधान छैन । भुमी आयोगको सदस्यको नियुक्ती संघीय मन्त्री परिषदको निर्णय अनुसार भएको र आयोगको गठन आदेश अनुसार स्वयं कार्कीले राजिनामा दिएमा, फौजदारी अभियोग लागेमा वा आयोगको पदावधि सकिएको अवस्थाा मात्रै उनको सदस्य पद रिक्त हुने व्यवस्था छ ।
कार्कीले भुमी आयोगको सदस्यबाट राजिनामा दिएपछि सो पदमा जान नेकपा एस भित्र दुई नेताले इच्छा व्यक्त गरेका छन् । श्रीप्रसाद भट्टराई र विष्णु खड्काले आयोगको विज्ञ सदस्य बन्न पार्टीमा लबिङ बढाएका छन् । कार्कीले राजिनामा नदिँदा उनीहरु निराश बनेका छन् । त्यसैकारण नेकपा एसले पत्रकार सम्मेलन मार्फत कार्कीको राजिनामा मागेको हो । कार्की आयोगको विज्ञ सदस्य हुन् । गठन आदेश अनुसार विज्ञ सदस्य बन्न कम्तीमा स्नातक उत्तिर्ण भएको व्यक्ति हुनु पर्ने प्रावधान छ ।