दमौली, कार्तिक ३
बिहान उठे देखि नसुतेसम्म कल्पनाको समय अहिले फर्ममै बित्छ । नित्यकर्म सक्नासाथ उनी अधिकांश समय ड्रागनको बोट विरुवाको स्याहार सम्भारमै बिताउछिन् । मनमा लागेका दुख सुख पोख्ने साथी पनि उनले बोट विरुवालाइ नै बनाएकी छन् । कहिले तिनैलाई माया गर्छिन, त कहिले तिनैमा आइलाग्ने हानीकारक किराहरुसँग रीस पोख्छिन् । बिगत २ वर्ष देखी उनको दैनिकी यस्तै छ । तनहुँको व्यास नगरपालिका वडा नम्बर ५ ढोडेनी स्थित माँ अंम्बे अलौकिक कृषि फर्मकी सञ्चालक कल्पना अहिले कृषिमै उज्वल भविष्य देख्न थालेको बताउँछिन् ।



व्यास नपा–२ दमौली घर भएकी कल्पना अहिले कृषकको रुपमा आफुलाई परिचत गराउन पाउदा गर्व लागेको सुनाउछिन् । रोप्दा देखि उत्पादनको समयसम्म स्याहार सुसारमा अलि बढी नै समय दिन परेको उनले अनुभव सुनाइन् । अरु विरुवाको तुलनामा ड्रागनलाई बढी निगरानी पनि चाहिने उनले बताइन् । पानी कम चाहिने भएकाले यसलाई चिसोबाट जोगाउनुपर्ने उनको अनुभव छ । यसलाई ढुसी रोगले चाडै आक्रमण गर्ने र रोग चाडै फैलिने हुदा दैनिक निगरानी आवश्यक पर्ने उनको भनाइ छ । ‘पारिलो घाम लाग्ने र पानी नजम्ने ठाउँमा यसको उत्पादन राम्रो हुन्छ’ उनी भन्छिन् । विरुवा रोप्दा ८÷१० फिट को स्पेस राख्न उनी सुझाव दिन्छन् । उनले आफुले ८÷८ को राख्दा विरुवाहरु बढी झाङ्गिएर स्याहार गर्न अलि कठिन भएको बताइन् ।
सामाजिक सञ्जालहरुमा भेटिने ड्रागन फ्रुट्स खेती सम्बन्धी जानकारीमुलक भिडियोहरु नै आफ्नो ज्ञानको स्रोत बनेको उनले बताइन् । ‘मैले तालिमहरु लिन पाएको त छैन, कृषि विज्ञहरुले दिएको सल्लाह सुझावकै आधारमा फल फलाएर बेचेको छु ।’ फल लागेपछी पहिलो र दोस्रो छिमल उनले व्यवसायिक रुपमा विक्री गरिनन् । त्यसपछि उनले नौ पटकसम्म दुई हजार किलोग्राम उत्पादन गरेर विक्री गरिसकेकी छिन् ।
पहिला देखि नै बजार र व्यवसायलाई बुझेकाले पनि विक्री गर्न कठिनाइ नभएको उनले बताइन् । थोरै समयमा फल दिने र बजार मुल्य पनि राम्रै भएकाले यसको व्यवसायिक खेतीमा आफु आकर्षित भएको उनको भनाइ छ । अहिलेसम्म उनको उत्पादन स्थानीय बजारमै खपत भएको छ । स्थानीय बजार राम्रो ओगट्न सकोस् भन्ने उद्देश्यले फललाई ग्रेडिङ गरेर ३ देखी ५ सय रुपैयाँ केजी विक्री गरेको उनले बता्इन् । ठुलो, मझौला र साना दानामा बर्गीकरण गरि विक्री गर्दा २ सय ५० ग्राम भन्दा बढी तौलको दानालाई ६ सय रुपैया केजी, डेढ देखि २ सय ४० सम्म ५ सय र त्यो भन्दा कम तौल भएका दानालाई ३ सयमा विक्री गरेको उनले जानकारी दिइन् ।
संसारमा पाइने १ सय ५३ प्रजातीका ड्रागन फ्रुट्स मध्ये नेपालमा मात्र ५२ प्रजाती पाइने उनले बताइन् । उनले उत्पादन गरेको ड्रागन फ्रुट्स भने सिभेराइटी सिमरेड प्रजातीको हो । उन्नत जातको ड्रागन फ्रुट्स भित्राउने नेपालमा आफ्नो फर्म तेस्रो भएको उनले दावि समेत गरिन् । उचित स्याहार पाएमा यसले एक पटक रोपेपछी १५ देखि २० वर्ष सम्म उत्पादन दिन्छ । सुरुमा कौसी खेतीबाट कृषिमा लागेकी उनको लक्ष्य पूर्ण जैविक खेती हो । उनले कौसी खेती गर्दा पनि कहिल्यै रासायनिक मल प्रयोग गरिनन् । कौसीबाट उत्पादित सिजनका तरकारीहरु राम्रो विक्री हुन थालेपछी उनको जैविक खेती तर्फ आकर्षण बढेको हो ।
लामो समय शिक्षण व्यवसाय र बुटिक व्यवसायमा संलग्न रहेकी उनले प्रकृतिसँगको प्रेम जस्तो आनन्द अन्य व्यवसायमा नभेटेको बताइन् । आध्यात्मिक चेतना पनि राख्ने उनी प्रकृतिमै रमेर आफु पनि बाच्ने र अरुलाई पनि काम दिने गर्न पाउदा खुशी लागेको बताउछिन् । उनले धेरै काम हुदा १८ जना सम्मलाई काम दिएको सुनाइन् । ड्रागन खेतीसँगै मौसमी तरकारी खेती पनि गरेकी उनले सिजनमा फलाएका तरकारीलाई बेसिजनमा पनि प्रयोग गर्न मिल्ने गरि सुकाएर बेच्ने गर्छिन् । बेसिजनमा फलाइने तरकारीमा अत्याधिक विषादी प्रयोग गरिने भएकाले सिजनमा फल्ने तरकारी सुकाएर र बफाएर बेच्ने गरेको उनले बताइन् । सिस्नो, गाभा, मस्यौरा, करेला, गुन्द्रक लगायतका सुख्खा तरकारी उनले विक्री गर्छिन् । गिट्ठा, भ्याकुर, सिस्नोको पनि व्यवसायिक खेती गरेकी उनले साढे ५ रोपनीमा त सिस्नोको मात्र खेती गरेकी छन् ।
आगामी दिनमा कुरिलो, सिताके च्याउ, सितल चिनी, एभोकाडो, कोइरालो, काली निहुरो, सिपलीगान खेतीलाई विशेष प्रथामिता दिने योजना रहेको उनले बताइन् । दलन र मसलाजन्य उत्पादन पनि गर्दै आएकी उनको अझै विस्तार गर्ने योजना रहेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँकी अध्यक्ष समेत रहेकी गौलीको अवधारणा अनुसार अहिले दमौलीमा व्यास कोसेली घर पनि सञ्चालनमा आएको छ । जसको उद्देश्य तनहुँको प्रत्येक पालिकामा उत्पादितसबै खाले स्थानीय उत्पादनको बजारीकरण हो ।
रासायनिक मल तथा कीटनाशक औषधीले भ्रम पैदा गरिरहेको अहिलेको सयममा जैविक खेती गरेको विरलै देखिन्छ । रासायनिक मल प्रयोग नगर्दा उत्पादन घट्छ भन्ने पनि धेरै कृषकलाई लाग्न सक्छ । बजारमा विषादी प्रयोग नगरिएका फलफुल तथा तरकारी दुर्लभ भइसक्यो । रासायनिक पदार्थको अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा समेत असर गरिरहेको अहिलेको समयमा माँ अंम्बे अलौकिक कृषि फर्मकी सञ्चालक कल्पना गौली जैविक खेती प्रवद्र्धनमा सक्रिय छिन् ।
आफ्नो फर्मबाट उत्पादित तरकारी तथा फलफुलमा रासायनिक कीटनाशक औषधीको सट्टा आफैँले तयार गरेको औषधी प्रयोग गर्छिन् । जैविक तरकारी तथा फलफुलका रूपमा प्रमाणिकरण सहित स्टिकर टाँसेर बजारीकरण गर्ने धोको रहेकाले त्यसकै लागि दिनरात लागि रहेको उनको भनाइ छ । बजारमा पाइने रासायनिक मलको प्रयोगले माटोको उत्पादन क्षमतामा ह्रास ल्याउने भएकाले जैविक खेती प्रद्धतीलाई अवलम्वन गरेको उनले बताइन् ।
सम्पुर्ण किटनाशक औषधी तथा मलहरु जैविक प्रक्रियाबाट फर्ममा नै उत्पादन गर्दै आएको उनी बताउछिन् । ओरिजिनल वेस्ट डिकम्पोजर नामक तत्वको प्रयोग गरि भेलि, गौमुत्र, तमाखु खाने काँचो पातका साथै आफ्नै बारीमा उपलब्ध अन्य झारपातहरुको प्रयोग गरि जैविक किटनाशक औषधी तयार गर्ने गरेको उनले बताइन् । आफुले खेती गर्दा जैविक मल मात्र प्रयोग गर्दा पनि बिगतमा त्यो माटोमा प्रयोग भएको रासायनिक मलको असर अझै बाँकी रहेको उनी बताउछिन् । ‘अहिले म माटो सुधारकै क्रममा छु अझै कम्तीमा ४–५ वर्ष लाग्ला, माटो सुधारक तत्व प्रयोग गरेको छु’ उनले भनिन् ।
नेपालमा कृषिको राम्रो सम्भावना हुदाहुदै पनि कृषि गर्न सहज भने नभएको उनी बताउछिन् । तीनै तहका सरकारले कृषिलाई प्राथमिकता दिने भन्ने गरेको भएपनि कृषक र कृषिलाई सरकारले प्रोत्साहन भने गर्न नसकेको उनको गुनासो छ । ‘आफुसँग लगानी गर्ने क्षमता नभएका कृषकलाई व्यवसायिक कृषि गर्न कठिन छ, राज्यले कागज र भाषणमा सहयोगको प्रतिवद्धता गरे बमोजिम यथार्थमा अनुदान र सहयोग गरेका छैनन, उनले भनिन् राज्यले वास्तविक कृषकलाई आर्थिक, प्राविधिक र बजारीकरणमा पनि खुलेर सहयोग गर्छ भने कृषिमा राम्रो भविष्य छ ।’
१० लाखको ड्रागन विक्री
कल्पनाले पहिलो वर्ष मा नै १० लाखको ड्रागन फल विक्री गरिसकेकी छिन् । व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा ‘ड्रागन’ खेती सुरु गरे कल्पना गौलीले पहिलो वर्षमै १० लाख रुपैयाँ आम्दानी गरेकी हुन् ।
यस वर्ष करिब दश लाख रुपैयाँ बराबरको ड्रागन बिक्री गरिसकेको उनले जानकारी दिइन् । ‘अब बढीमा तीन लाखको बिक्री हुने अनुमान गरेको छु’, गौलीले भनिन्, ‘बढीमा तीन पटक फल दियो भने पहिलो वर्षको कूल आम्दानी १२ देखि १३ लाखसम्म हुन्छ ।’ उक्त फार्ममा उत्पादन भएका ड्रागन दमौली बजार क्षेत्रमा खपत हुने गरेको उनले बताइन् । वैशाखमा फूल खेल्न सुरु हुने र ६० दिनभित्र खानायोग्य हुने जनाउँदै गौलीले मङ्सिरसम्म फल्ने बताइन् । दोस्रो वर्षमा पहिलो वर्षको तुलनामा दोब्बर उत्पादन हुने ड्रागन खेती गर्दै आएका व्यवसायीले जानकारी दिएका उनको भनाइ थियो ।
‘कतिपय व्यवसायी फार्ममा आएर ड्रागन लैजानुहुन्छ । कुनै समयमा आफैले गाडीमा राखेर बजारसम्म लगेर बिक्री गर्ने गरेको छु’, गौलीले भनिन् । उत्पादित ड्रागन प्रतिकिलो पाँच सयदेखि छ सय रुपैयाँ सम्म बिक्री गर्ने गरेको उनले बताइन् । करिब नौ रोपनी क्षेत्रफल जग्गा बीस वर्षका लागि भाडामा लिएर वार्षिक रू बीस हजार भाडा बुझाउने गरी व्यवसाय थालेको किसान गौलीले जानकारी दिइन् ।
‘गतवर्ष भारतको हैदरावादबाट दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएको थिएँ’, उनले भनिन्, ‘यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ ।’ सुरुमा करिब असी लाख खर्च भएको भन्दै उनले त्यसमध्ये ४२ लाख पचास हजार खेतीमा लगानी गरिएको गौलीले बताइन् । फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिइन् ।
एउटा पोलमा करिब दश हजारका दरले खर्च भएको उनको भनाइ थियो । बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको अनुभव सुनाउँदै किसान गौलीले बिक्री गर्न नपाए पनि आफूहरुले चाख्न पाएको बताइन् । त्यसैगरि उनले यसवर्ष तीन लाख बढीको ड्रागनका बिरुवा बिक्री गरेकी छिन् । प्रति बिरुवा दुई सयदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री गरेको उनले बताइन् । ड्रागनका बिरुवा लिन तनहुँलगायत विभिन्न जिल्लाबाट मानिस आउने गरेका छन् ।