देवघाट । बैशाख ७
कालीगण्डकी नदीको अस्तित्व जोगाउन देवघाटदेखी कालीगन्डकी नदीको शिर दामोदरकुण्ड सम्म कालीगन्डकी पदयात्रा हुने भएको छ । ‘प्रकृति, संस्कृति र सभ्यताको आराधना, कालीगण्डकी पदयात्रा एक आध्यात्मिक साधना’ भन्ने मुख्य संकल्प र आदर्शमा सञ्चालन हुने यो पदयात्रा आगामी जेठ २२ गते देवघाटबाट आरम्भ भएर चार हप्ताको पैदल यात्रापछि कालीगण्डकीको शिर दामोदर कुण्डमा पुगेर सम्पन्न हुनेछ ।



कालीगन्डकी संसारकै ठुलो हिमशृङ्खलाबाट उत्पन्न भएर नेपालको मध्यभागलाई सिञ्चन गर्दै बग्ने संसारकै पवित्रतम देवनदी हो । यसका तटवर्ती क्षेत्रहरुमा हजारौं वर्षदेखि मानवीय अस्तित्व संरक्षित रहेको छ । जसका कारण कालीगण्डकीका किनारमा अनेकौं जीवन, संस्कृति र सभ्यताहरु विकसित भएका छन् । विश्वमा देवताको प्रत्यक्ष स्वरुप मानिने शालिग्राम यसै नदीमा मात्र उपलब्ध हुने भएकाले पुराण वाङ्मयले कालीगण्डकीलाई देवनदीका रुपमा वर्णन गरेका छन् । यसै तथ्यलाई अवलम्बन गरेर हजारौं तपस्वी ऋषिमुनिहरुले गण्डकीका पवित्र किनारहरुलाई विचार र ज्ञानसाधनाको केन्द्रकारुपमा प्रयोग गर्दै आएका छन् ।
धार्मिक, पौराणिक र आध्यात्मिक ऊर्जाका अतिरिक्त अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता र पर्वतीय जनजीवनको जीवन्त सम्पदाका रुपमा समेत गण्डकीको सेरोफेरो प्रसिद्ध मानिन्छ । साथमा यस क्षेत्रले सनातनको आस्था र विश्वासमा अडिएको नेपाली जनजीवन,सामाजिक संरचना र अर्थतन्त्रलाई गतिशील बनाउन सक्ने पर्यटकीय अथाह सम्भावना बोकेको छ । यिनै राष्ट्र, राष्ट्रियता, संस्कार, संस्कृति र मौलिक सनातनी नेपाली गौरवलाई देशभित्र र बाहिर परिचित गराउने र आत्मगौरवले सजिएको नेपाली स्वाभिमानको पुनर्जागरण गर्ने उद्देश्यले ऐतिहासिक कालीगण्डकी पदयात्रा गर्न लागिएको पदयात्राका संयोजक महेश संस्कृत गुरुकुलका आचार्य उपप्राध्यापक फणीन्द्र प्रसाद पौडेलले बताए ।
राष्ट्रीय स्वाभिमान र सनातन नेपाली संस्कृतिको प्रवद्र्धनमा संस्थागतरुपमै लागिपरेको महेश संन्यास आश्रम देवघाटधामको संकल्प र आह्वानमा यो पदयात्रा सञ्चालन हुन लागेको संयोजक पौडेलले बताए । उक्त पदयात्रामा महेश संन्यास आश्रमका सन्त मधुसुदनानन्द गिरि र रमणानन्द गिरिका साथमा गलेश्वर आश्रम, हरिहर संन्यास आश्रमका सन्तहरुको उपस्थिति रहनेछ भने नेपालका प्रतिष्ठित सबै मठ मन्दिरका प्रतिनिधि र भारतका विभिन्न मठ तथा आश्रमबाट आमन्त्रित साधकहरुको पनि उल्लेख्य सहभागिता रहने छ । साथमा अन्य हज्जारौं अध्यात्म र प्रकृतिप्रेमीहरुको उल्लेख्य सहभागिता रहने छ । देवघाटदेखि दामोदरकुण्डसम्मको उक्त पदयात्रा २२ देखि २५ दिनको रहनेछ । तराईदेखि पहाड हुँदै हिमालसम्मको पदयात्राको दुरी ४३१ किलोमिटर रहेको छ ।
महेश संन्यास आश्रमका वर्तमान पीठाधीश युवासन्त स्वामी रमणानन्द गिरिजी महाराजको मौलिक नेपाली स्वाभिमान, संस्कार र सभ्यताप्रतिको सम्मान, समर्पण र प्रवद्र्धन गर्ने दृढ लगाव र विश्वासमा उक्त पदयात्रा सञ्चालन गर्न लागिएको पौडेलले बताए । स्वामीजी कै लगाव र समन्वयमा विगत लामो समयदेखि चल्दै आएको ‘देवघाटधाम गण्डकी परिक्रमा महोत्सव’ पुनः देवघाटधामकै गौरवमय उत्सवका रुपमा सञ्चालन हुँदै आएको छ ।