३२ वर्षपछि गोरखाको चुमनुब्रीमा फेला परे तनहुँका सुमन, बुबा–आमा र दाइको निधनबारे अझै बेखबर

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार २३

१० वर्षको उमेरमा रोजगारीको खोजीमा घर छाडेका तनहुँका सुमन भुजेल ३२ वर्षपछि गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकामा भेटिएका छन् । तीन दशकभन्दा बढी समय परिवारसँग सम्पर्कविहीन रहेका सुमन जीवित भेटिनु परिवारका लागि खुसीको विषय बनेको छ । तर उनले आफ्ना बुबा, आमा र दाइको निधन भइसकेको यथार्थ भने अझै थाहा पाएका छैनन् ।

आबुखैरेनी गाउँपालिका–६ हिलेखर्क (पुर्लुङ) जालभञ्ज्याङका ४२ वर्षीय सुमन बाल्यकालमै रोजगारीको खोजीमा घरबाट निस्किएका थिए । त्यसयता उनी विभिन्न स्थानमा ज्याला मजदुरी गर्दै हिँडे । वि.सं.२०६८/०६९ तिर गोरखाको आरुघाट पुगेपछि विभिन्न व्यक्तिसँग काम गर्दै अन्ततः चुमनुब्री गाउँपालिका–७ छैकम्पार पुगेका थिए । पछिल्ला वर्षदेखि उनी त्यहीँ भरिया तथा ज्याला मजदुरी गरेर जीवनयापन गर्दै आएका छन् ।

चुमनुब्री गाउँपालिका–७ का वडा अध्यक्ष टसी दोर्जे लामाका अनुसार स्थानीयले सुमनलाई ‘बन्दिपुरे’ नामले चिन्ने गरेका छन् । उनी २०७४ सालदेखि निरन्तर त्यही क्षेत्रमा मजदुरी गर्दै आएका छन् । केही समयअघि उनको हात भाँचिए पनि उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको र हाल उनी स्थानीयको सहयोगमा डेरामा बसिरहेको तथा डेरा भाडासमेत नलाग्ने व्यवस्था मिलाइएको वडा अध्यक्ष लामाले जानकारी दिए ।

देवघाट गाउँपालिका–४ का वडा सदस्य तथा सुमनका आफन्त बुद्धिमान भुजेलका अनुसार सुमनकी आमा रेउली माया भुजेल, दाइ हस्तबहादुर भुजेल, भाइ केशर भुजेल र बहिनी शुसिला भुजेल हुन् । तर सुमन घर फर्किन नपाउँदै उनका बुबा, आमा र दाइको निधन भइसकेको छ। यो पीडादायी खबर भने परिवारले हालसम्म सुमनलाई सुनाएको छैन ।

यस घटनाले अर्को गम्भीर सामाजिक यथार्थ पनि उजागर गरेको छ । ४२ वर्षको उमेर पुग्दासम्म पनि सुमनको नागरिकता बनेको छैन । जन्मथलो र परिवारबाट दशकौँ टाढा रहँदा उनले कानुनी पहिचानसमेत बनाउन नसकेको वडा अध्यक्ष लामाले बताए । नागरिकता अभावका कारण उनी राज्यबाट प्राप्त हुने आधारभूत सेवा तथा सुविधाबाट समेत वञ्चित हुँदै आएका छन् ।

वडा अध्यक्ष लामाका अनुसार वर्षायामका कारण छैकम्पार पुग्ने बाटो थप जोखिमपूर्ण बन्दै गएको छ। गोरखा सदरमुकामबाट एक दिन बस यात्रा र त्यसपछि करिब डेढ दिन पैदल हिँडेर मात्र छैकम्पार पुग्न सकिन्छ । त्यहाँ पुग्न प्रतिव्यक्ति करिब १५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । त्यसैले सकेसम्म छिटो आफन्तलाई पुगेर सुमनलाई घर लैजान उनले आग्रह गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण तत्काल त्यहाँ पुग्न कठिनाइ भइरहेको वडा सदस्य बुद्धिमान भुजेलले बताए । परिवार लिन आउने खबर पाएपछि सुमनले वडा अध्यक्षसँग ‘दशैंपछि घर जान्छु’ भनेका छन् । यद्यपि उनकी बहिनी शुसिला भुजेलले दाइलाई सकेसम्म छिट्टै घर ल्याउने तयारी भइरहेको बताउँदै आवश्यक सहयोगका लागि सबैसँग सहयोगको अपिल गरेकी छन् ।

३२ वर्षपछि हराएका आफन्त जीवित भेटिनु एउटा परिवारका लागि अविस्मरणीय खुसीको क्षण बनेको छ । तर घर फर्किएपछि सुमनले आफ्ना बुबा, आमा र दाइ अब यस संसारमा नरहेको कठोर यथार्थ एकैपटक सामना गर्नुपर्ने अवस्था छ । परिवार र स्थानीयवासीको अपेक्षा भने एउटै छ-सुमन सुरक्षित रूपमा आफ्नै घर फर्कून्, नागरिकता प्राप्त गरून् र बाँकी जीवन आफ्ना आफन्तको साथमा सम्मानपूर्वक बिताउन सकून् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मन्त्री लम्सालले दिए विवादास्पद अभिव्यक्तिः ‘जनताको काम नगरे मेयर र प्रदेश मन्त्रीलाई पनि कारबाही गर्छौँ’

तनहुँ । असार २१ काम नगरे ठेकेदारको खुट्टा भाच्ने अभिव्यक्ति दिएका पुर्वधार विकास मन्त्री शुनिल