नेकपा एसका नेता श्रेष्ठ भन्छन्ः जबज नै अहिलेको राजनीतिको सर्वश्रेष्ठ नीति
दमौली, जेठ ३ गते



२ वर्ष यता नेकपा एमाले र नेकपा एकिकृत समाजबादीका नेताहरु प्राय एउटै मन्चमा बस्दैनन् । आफुबाट विभाजित भएको नेकपा एसलाई केही अघिसम्म त नेकपा एमालेले राजनीतिक दलको मान्यता नै दिएको थिएन । ति दुई पार्टीका नेताहरु विच पानी बाराबारको अवस्था रह्यो । अरु पार्टीले आयोजना गरेको कार्यक्रम, सरकारी कार्यक्रम र सन्चारसँग सम्बन्धित कार्यक्रमहरु बाहेक नेकपा एमाले र नेकपा एसका नेताहरु एउटै मन्चमा देखिएनन् । तर अहिले अवस्था फेरिएको छ । राष्ट्रपतीको निर्वाचन अघि दुई पार्टीका अध्यक्षहरु एउटै कोठामा छलफलसम्म गरिसकेका छन् । अहिले दुई पार्टीको सम्बन्ध सुधार पनि छैन, नराम्रो पनि छैन । तैपनि यि दुई पार्टीका नेताहरु प्राय एउटै मन्चमा देखिन अझै पनि मुस्किल नै छ ।
यसै सन्दर्भमा जननेता मदन भण्डारी र जिवराज आश्रीतको ३० औं स्मृति दिवसको कार्यक्रममा तनहुँमा नेकपा एमाले र नेकपा एसका नेताहरुले एउटै मन्चबाट जनताको बहुदलिय जनबादको महत्व र सान्दर्भिकताको बारेमा मन्तव्य राखे । नेकपा एमाले व्यास नगरपालिका वडा नम्बर १ वडा कमिटिको आयोजनामा ३० औं मदन–आश्रीत स्मृति दिवसको सन्दर्भमा व्यास नपा १ स्थित पृथ्विराजमार्गको मुसेखोलामा रहेको मदन–आश्रीत स्मृति प्रतिक्षालयमा आयोजित श्रद्धान्जली कार्यक्रममा नेकपा एमाले र नेकपा एसका नेताहरुले मदन–आश्रीत प्रति श्रद्धासुमन अर्पण गरे । नेकपा एमाले व्यास १ वडा कमिटिले हरेक वर्ष जेठ ३ गते मुसेखोलामा स्मृति दिवसको कार्यक्रम आयोजना गर्दै आएको छ ।

बुधबार विहान नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सदस्य अमर भण्डारी, जिल्ला कमिटिका उपाध्यक्ष हरिराज कडेंल तथा जिल्ला कमिटिका सदस्यहरु सहितको उपस्थितीमा श्रद्धान्जली कार्यक्रम भईरहेको थियो । कार्यक्रम सन्चालन भईरहँदा एक्कासी नेकपा एकिकृत समाजबादीका पोलिट्व्युरो सदस्य तथा गन्डकी प्रदेश कमिटिका सचिव प्रतापलाल श्रेष्ठ आईपुगे । कार्यक्रममा एमाले गन्डकी प्रदेश कमिटिका सदस्य भण्डारीलाई प्रमुख अतिथी बनाईएको थियो । तर नेकपा एसका पोलिट्व्युरो सदस्य श्रेष्ठ उपस्थित भएपछि उनलाई पनि प्रमुख अतिथी सरहकै सम्मान दिईएको थियो ।
नेकपा एमाले वडा कमिटिकी अध्यक्ष सरु कुमालले आफुहरुले नेकपा एसलाई कार्यक्रममा निमन्त्रणा नगरेपनि सो पार्टीका नेता श्रेष्ठको उपस्थितीले खुसी लागेको बताईन् । वडा कमिटिकी अध्यक्ष कुमालको अध्यक्षतामा आयोजित सो कार्यक्रममा नेकपा एसका पोलिट्व्युरो सदस्य श्रेष्ठ, एमाले गन्डकी प्रदेश कमिटिका सदस्य भण्डारी, जिल्ला कमिटिका उपाध्यक्ष कडेंल, जिल्ला कमिटिका सचिवालय सदस्य निर्मल पण्डित, व्यास नगर कमिटिका कार्यवहाक अध्यक्ष तुल्सीराम पाण्डे लगायतका नेताहरुले मदन भण्डारी र जनताको बहुदलीय जनबादको महत्वको बारेमा मन्तव्य राखेका थिए ।

नेकपा एसका पोलिट्व्युरो सदस्य श्रेष्ठले जननेता मदन भण्डारी प्रति आफ्नो विशेष श्रद्धा रहेको कारण उक्त श्रद्धान्जली कार्यक्रममा सहभागी भएको बताए । श्रेष्ठले जनताको बहुदलीय जनबाद नै अहिलेको राजनीतिको सर्बश्रेष्ठ नीति रहेको बताए । श्रेष्ठ हरेक वर्षको कार्यक्रममा सहभागी हुँदै आएका छन् । श्रेष्ठले बुधबार दमौलीबाट प्रकाशन हुने लोकवाणी दैनिक पत्रिका जननेता मदन भण्डारीको जिवनीको बारेमा लेख मार्फत मदनप्रतिको आफ्नो श्रद्धा जानकारी गराएका छन् ।












