देवघाट, असार ५
देवघाट गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम



आदरणीय सभा अध्यक्ष ज्यु सभाका सदस्यज्युहरु,
यस गरिमामय सभामा देवघाट गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्न पाउँदा मैले आफुलाई गौरवान्वित महशुस गरेको छु | वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका क्रममा गाउँपालिकालाई विभिन्न सुझाव दिनु हुने सम्पुर्ण आमा,वुबा,दाजुभाई तथा दिदी बहिनीहरु लगायत सहजीकरण गर्नु हुने सबैलाई हार्दिक आभार सहित हामी सबैको तर्फबाट धन्यवाद व्यक्त गर्दछु| यस अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलन,राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तीको क्रममा भएको ऐतिहासिक आन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नु हुने सम्पुर्ण शहिदहरुप्रति भावपुर्ण श्रध्दाञ्जली अर्पण गर्दछु।
सुन्दर,समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने हाम्रो संकल्प समस्त गाउँपालिका बासीको समृद्धिको चाहाना र हामिले निर्वाचनका क्रममा हाम्रा मतदाताहरु प्रति अभिव्यक्त गरेका प्रतिज्ञाहरु पुरा गर्ने दिशामा हामीले आगामी आ.व २०८०/०८१ को निति तथा कार्यक्रमलाई अभिमुख गरेका छौ।यसका लागि दिगो विकासको राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण गर्दे गुणस्तरीय पूर्वाधार निर्माण सहित स्थानीय स्रोतको पहिचान र परिचालन गरी समाबेशी,जलवायु उत्थानशील तथा दिगो स्थानीय आर्थिक बिकास मार्फत समृद्ध देवघाट गाउँपालिका र सुखी जनताको लक्ष्य हासिल गर्न सार्बजनिक,निजीक्षेत्र र समुदायको साझेदारि विकास गरिनेछ।
गाउँपालिकालाई उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्ने,भूमिहिन अव्यवस्थित बसोवासीहरुको वैज्ञानिक व्यवस्थापन गर्ने,स्वच्छ,सफार सुन्दर देवघाट गाउँपालिकाको पहिचान कायम राख्ने र योजनावद्ध शहरीकरण तथा वस्ती विकास नीति तथा कार्यक्रमलाई प्रमुख प्राथमिकताहरुको रुपमा लिइएको छ।
(ख) विद्यमान परिवेश (राजनितिक,आर्थिक,सामाजिक,प्रशासनीक आदि)
विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीबाट थलिएर माथि उठन लागेका अर्थतन्त्र पुनःयुक्रेन युद्धबाट विश्व आपुर्ति श्रृंखलामा आएको संकुचनले नेपाललाई समेत प्रभाव पारेको छ।
संघीय सरकारको राजश्व परिचालनमा प्रभाव पर्न गै स्थानीय तहले पाउनु पर्ने वित्तीय हस्तान्तरणमा नकरात्मक असर पुगेकोछ ।
नेपालले जनसांख्यिकी लाभ लिदै अल्पविकसित मुकुकबाट निकासशील मुलुकको श्रेणीमा उक्लिदै लाग्दा हरेक दिन २ देखि ३ हजार युवाहरु रोजगारीको खोजीमा नेपाल छाडेर विदेसिनु पर्ने अवस्थाले हामी सवैलाई गम्भीर वनाएकोछ।आन्तरिक र वाह्रय बसाईसराइका कारण नेपालका गाउँघरहरु सुनसान बस्तीका रुपमा रुपान्तरित हुन पुगेकाछन।उब्जाउ खेतबारी बाँझो हुन पुगेको छ।यस सन्दर्भमा युवालाई देशमा रोजगारको अवसर सृजना गर्ने र गाउँघरको बसाईलाई गाउँमा नै बसौ बसौ लाग्ने आकर्षक बनाउने चुनौती हामी सवैको साझा हुन पुगेकोछ ।
यस विशिष्ट परिस्थितिमा हामीले हाम्रो अर्थतन्त्रलाई पुर्नउत्थानशील क्रियाकलापमार्फत अगाडी बढाउदै तिब्र र दिगो आर्थिक विकास गरी समृद्ध नेपाल सुखी नेपालीको मुल लक्ष्य हासिल गर्नु परेको छ ।यसका लागि हाम्रो गाउँपालिकामा स्थानीय आर्थिक विकासका कार्यक्रमहरुलाई विशेष जोड दिनु पर्ने अवस्था सृजना भएको छ ।कृषि उत्पादन र उत्पादकत्व वुद्धिको लागि उच्च जोड दिनु पर्ने भएको छ ।
सेवा प्रवाहलाई थप प्रभावकारी बनाइ सुशानको अनुभूति जनमानसमा ल्याउन गाउँपालिकको क्षमता विकास गर्न समेत अपरिहार्यछ ।यसका लागि विद्युतीय सुशासन प्रणालीलाई सेवा प्रभावमा व्यापक र प्रभावकारी बनाउनु पर्ने अवस्था देखिन्छ । शिक्षा र स्वास्थ्यका कार्यक्रमलाई उच्च स्थान दिन नागरीकको जीवनस्तरमा सुधार गर्नुपर्ने भएको छ ।
(ग) विकास तथा समृद्धिको लक्ष्य प्राप्तिका अवसर तथा चुनौतीः-
विद्यमान अवसरहरु:
हाम्रा लगि देहाय बमोजिमका अवसरहरु रहेका छन ।
- संविधानत: अधिकार सम्पन्न स्थानीय सरकार स्थापना भै २२ वटा एकल अधिकार सहित विविध साझा अधिकार किटान हुनु ।
- आफ्ना अधिकार क्षेत्रका विषयमा ऐन,कानून तर्जुमा,योजना तर्जुमाको अभ्यास हुनु।
- विकास निर्माणका विविध विषयमा नीति कार्यक्रम तथा बजेट सञ्चालन गर्ने अधिकार प्रष्ट हुनु,
- गाउँपालिका भित्र भौगोलिक तथा सांस्कृतिक विविधता रहनु ।
- सबै वडामा सडक पूवाधारको पहुँच हुनु।
- गाउँपालिकामा कृषिजन्य उत्पादनको प्रचुर मात्रामा सम्भावना रहनु ।
- घरहरुको निर्माणमा भवनसंहिता पालना हुने क्रम बढ्नु तथा नक्सापास गर्न नागरीकको आकर्षण बढ्नु।
- कृषि तथा पशुजन्य क्षेत्रलाई पकेट क्षेत्र तथा जोन क्षेत्रको रुपमा विकास तथा विस्तार गर्ने उच्त सम्भावना हुनु
- धार्मिक तथा सांस्कृतिक पर्यटनको लागि उच्च सम्भावना हुनु ।
विद्यमान चुनौतीहरु:
हाम्रा सामु देहाय वमोजिमका चुनौतीहरु रहेकाछन :
- रोजगारउन्मुख सीपमूलक विकास गर्नु ।
- बजारको सूचना कृषकलाई समयमा नै उपलब्ध गराउनु ।
- गुणस्तरीय बीउबिजन/मलखाद समयमा नै उपलब्ध गराउनु।
- युवा जनशक्तिलाई कृषि व्यवसाय प्रति आकर्षित गर्नु।
- व्यावसायिक कृषकको संख्या वृद्धि गर्नु।
- वैदेशिक रोजगारबाट फर्केका सीप युक्त जनशक्तिलाई र सीप तथा पूँजीलाई उद्यम विकासमा उपयोग गर्नु।
- निर्माण भएको पूर्वाधारको मर्मत संभार पद्धतिको विकास गर्नु ।
- सडक लगायतका पूर्वाधारको उपयोग योजना,डिजाइन,तथा ड्रइङ विना गरीने सडक तथा अन्य पूर्वाधारका संरचना निर्माणको कार्यलाई रोक्नु।
- भिरालो ठाउँ, बाढी पहिरो तथा डुवान लगायतका प्रकोपको उच्च जोखिम भएका बस्तीमा भवन निर्माण कार्यलाई रोक्नु।
१०.बैज्ञानिक,जलबायु उत्थानशिल तथा व्यवहारिक एवम उपयुक्त भु-उपयोग योजना तर्जुमा गरी लागु गर्नु ।
११.अव्यवस्थित बस्ती बिस्तारको क्रम रोक्न तथा व्यवस्थित बस्ति विकास गर्नु ।
१२.सञ्चार सेवा प्रदायक संस्थाहरुबाट प्रभावकारी सेवा प्राप्ति र व्यवस्थित गर्नु ।
१३. प्राकृतिक स्रोत तथा नदिजन्य पदार्थ (माटो,ढुङ्गा, बालुवा ,गिट्टी) को मापदण्ड अवलम्वन गरी अत्यधिक दोहन रोक्नु ।
१४. विभिन्न कालखन्डमा गाउँपालिकामा निर्माण बनाएका पूर्वाधारका संरचना (पूँजीगत सम्पत्ति) को लगत तयार गर्नु,मूल्याङकन गर्नु तथा सेवा प्रवाहमा प्रभावकारी उपयोग सम्बन्धी योजना (Asset Management plan) तयार गरी कार्यान्वयन गर्नु ।
(घ) नीति तथा कार्यक्रम तर्जुमाका आधारहरु (संविधान,प्रचलित कानूनी व्यवस्था,राष्ट्रिय,प्रदेश र स्थानीय नीति योजना र लक्ष्य एवम अनुभव तथा सिकाई आदि)
नेपालको संविधानमा स्थानीय शासन सम्बन्धी उल्लेख भएको नीतिगत व्यवस्था,स्थानीय सरकार सञ्चालन ऐन,२०७४ ले स्थानीय तहले आवधिक,वार्षिक तथा रणनितीक योजनाहरु बनाई लागू गर्दै जानुपर्ने प्रावधान,राष्ट्रिय योजना आयोगले जारी गरेको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८,पन्ध्रौ आवधिक योजनाको मूलभुत पक्षहरु अनुसार विभिन्न चरणको सहभागितामूलक प्रक्रियाबाट यस गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम तयार गरीएकोछ ।
पन्ध्रौ योजना ,दिगो विकास लक्ष्य २०३० को मार्गचित्र ,गाउँपालिकाको आवधिक योजना, गाउँपालिकाले कार्यान्वयनमा ल्याइएका कानूनी प्रावधान समेतलाई ध्यानमा राखी यो नीति तथा कार्यक्रम ल्याइएको छ ।
गुणस्तरीय पूर्वाधार विकास निर्माणको कार्यमा गाउँपालिका भित्रका आम उपभोक्ताहरु,सर्वसाधारण जनता, उद्यमी व्यवसायिहरु,सामाजिक संघसंस्थाहरु तथा विकास साझेदारीहरुको निरन्तर सहयोग रहदै आएको छ । विकास र सुशासनको लागि जनप्रतिनिधिहरुले स्पष्टता सहित अगुवाई गर्ने हो भने प्रशासनिक संयन्त्रले त्यसलाई प्राविधिक तथा कानूनी ढाँचा भित्र आवद्ध गराउने हो ।आम नागरीकहरुले साथ सहयोग,सुझाव दिने जनसहभगिता एवं जनपरिचालनको क्षेत्रमा गाउँपालिकाले कायम गरेको ईतिहासलाई अक्षुण्ण राख्दै शासकीय प्रबन्धमा जवाफदेहिता पारदर्शिता,गुणस्तरीयता एवं स्वच्छतायुक्त जनसहभागिता सुनिश्चित गरिनेछ ।
गाउँपालिकाको संगठन तथा व्यवसथापन सर्वेक्षण (O&M) लाई अद्यावधिक रुपमा अध्ययन गरी छरितो एवं चुस्त संगठन संरचना मार्फत प्रशासनिक तथा चालु खर्च मितव्ययी बनाइनेछ । यसबाट सेवा प्रवाहलाई प्रभावकारी तथा विकेन्द्रित तुल्याउदै पूँजीगत खर्च बढाउने नीति लिइएको छ, संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदान एवं वित्तिय हस्तान्तरणको उच्चतम र प्रभावकारी परिचालन एवं उपयोग गर्दै वित्तिय आत्मनिर्भरता कायम गर्न प्रयत्न गरीने छ ।
यस गाउँपालिकाले आफ्नो क्षेत्रमा समृद्ध,समावेशी,स्वच्छ,सुरक्षित,स्वावलम्बी र सुशासित समुदाय निर्माण गर्ने उद्देश्य लिएको छ । जनताको मौलिक अधिकार र प्रतिनिधित्व सुनिस्चित गर्नका लागि सहभगिताका माध्यमबाट पारदर्शिता र जवाफदेहितालाई जोड दिइनेछ ।
(ङ) चालु आ.व.को हालसम्मका प्रमुख उपलब्धिहरुको संक्षिप्त विवरण तथा भौतिक उपलब्धिहरुः
सडक यातायातः
यस गाउँपालिकामा चालू आ.व. २०७९।०८० मा हाल सम्म ६४ कि.मि सडक स्तरोन्नति ११ कि.मि नयाँ ट्रयाक निर्माण भएको र गाउँपालिकाका सबै वडामा सडकको पहुँच पुगेको छ। गाउँपालिकाबाट अन्य गाउँपालिका तथा प्रमुख राजमार्ग सम्मको सडक पहुँचलाई सुदृढ वनाइएकोछ। १३५० मि पक्कि नाला निर्माण भएकोछ।५ कि.मी सडक प्रदेश सरकारबाट कालो पत्रे भएकोछ ।
पुर्वाधार विकासः
यस गाउँपालिकामा चालू आ.व. २०७९।०८० मा १२३ वटा आयोजना उपभोक्ता समितिबाट र ८ वटा ठेक्काबाट गरी जम्मा १३१ वटा आयोजना सम्पन्न भएका छन भने अन्य काम हुँदै रहेका छन । गाउँपालिका र शहरी पूर्वाधारबाट गरी ३१० मी. बाटो ढलान भएको छ। ३ वटा कलभर्ट निर्माण गरीएको छ ।
सिंचाईः
गाउँपालिकाका विभिन्न वडामा साना सिंचाइ सुविधा प्राप्त हुने अवस्था सृजना भएकोछ। जलवायु परिवर्तनको प्रभावका कारण डिजाइन अनुसार पानी प्राप्त हुने कुरामा चुनौती थपिएको छ। ३५४ मिटर सिचाई कच्ची कुलो निर्माण भएको छ।
सामाजिक विकास (शिक्षा,स्वास्थ्य,लक्षित समुह):
गाउँपालिकामा रहेको १० शैयाको अस्पताल निर्माणधिन छ। कार्यालयबाट प्रबाह हुने सार्वाजनिक सेवा लगायत शिक्षा,स्वास्थ्य,बैंकिङ कारोबार आदिमा सूचना प्रविधिको प्रयोग भएको छ। विकासका विभिन्न क्षेत्रमा महिला तथा युवाहरुको संलग्नता बढेको छ। युवाहरुको खेलकुदमा संलग्नता बढाउनका लागि खेलकुद मैदान तथा अस्थायी कभर्डहल निर्माण भएको छ। माहिला बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धी ११ वटा कार्यक्रम संचालन भएको छ।
१५ वटा विद्यालयमा WASH कार्यक्रम संचालन भएको छ। १८५६ जना भुमीहिन र अव्यवस्थित बसोबासीको जग्गा नापजाँच भएकोछ।२४५ जनालाई उद्यमशीलता तालिम, प्रविधि सीप प्रदान गरीएकोछ।सुरक्षित आप्रवसन (सामी) कार्यक्रम संञ्चालन गरीएकोछ। ७२ वटा उपभोक्ता समिति दर्ता भएकोछ।
शिक्षा:
८ वटा विद्यालयमा ICT कक्षा, विज्ञान प्रयोगशाला र पुस्तकालय कार्यक्रम सञ्चालन भएका राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट २ वटा विद्यालय निर्माणधिन रहेको छ।गाउँ शिक्षा योजना तर्जुमा भएको आधारभुत कक्षा ५/८ गाउँपालिका स्तरीय रुपमा संचालन र व्यवस्थापन भएको छन।
स्वास्थ्य:
नि:शूल्क आँखा शिविर बाट ६३ जनाले सेवा पाएका छन ।
सवै किसिमा परिवार नियोजन कार्यक्रमबाट ३०४ जनाले सेवा पाएका छन।
देवघाट गाउँपालिकाका ५नं.वडामा ३४५४ घरधुरी सर्वेक्षण सम्पन्न भएको छ ।
मिति २०८०/०२/१२ गते देवघाट गाउँपालिकालाई पूर्णखोप पालिका घोषणा गरीएको छ ।
मातृ शिशु सेवा कार्यक्रम अन्तर्गत ३७७ जनालाई सेवा प्रदान गरीएको छ ।
खोप क्लिनिकबाट पटक पटक गरी ८४९९जनालाई सेवा प्रदान गरीएको छ ।
राष्ट्रिय कार्यक्रमबाट जुकाको औषधी २२२५ जना ४ भिटामिन ए २४६८ जना बालबालिकाले प्राप्त गरेका छन ।
महिला तथा जेष्ठ नागरीकः
महिला तथा जेष्ठ नागरीक अन्तर्गत ११ वटा कार्यक्रमहरु संचालन भएका छन ।
आर्थिक विकास (कृषि,उद्योग,पर्यटन,सहकारी,रोजगार):
गाउँपालिका कृषि सहकारी संस्थालाई व्यावसायिक कृषि तथा पशुपालनका क्षेत्रमा लगानी गर्न उत्प्रेरित एवंसहयोग गरीएको छ। गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको संरक्षण र प्रवर्धन गर्ने कामलाई व्यवस्थित रुपमा कार्यान्वयनमा ल्याईएकोछ। रोजगारी सृजना गर्न गाउँपालिका भित्र रहेको श्रम शक्तिको लगत तयार गरी विभिन्न सीपमूलक तालिम संचालन गरीएको छ।
तरकारी बिउविजन वितरण र च्याउको बिउ वितरण कार्यक्रम ५०% अनुदानमा वितरण गरी घरधुरी भने मकैबालिका वीउबिजनबाट ५३० घरधुरी कृषक लाभाम्वित भएका छन साथै ६४५ कृषकलाई ३४ वटा समूहमा आवद्ध गरीएको छ । पशुपन्क्षी तथा मत्स्य विकास तर्फ १७ वटा कार्यक्रमहरु सम्पन्न भएका छन ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ३३ जनाले २८२६ दिन रोजगार पाएका छन ।
वन, वाताबरण,जलबायु परिवर्तन तथा विपद् व्यवस्थापनः
वन तथा वातावरण व्यवस्थापन गर्न र लागत साझेदारीमा काम गर्न तथा वन क्षेत्रबाट गाउँपालिकाले प्राप्त गर्ने विक्रीको १० प्रतिशत प्राप्त गर्न सामुदायिक वनसँग समन्वय गरीएको छ।गाउँपालिका विपद व्यवस्थापन समितिको बैठक नियमित रुपमा बसिएको छ। गाउँपालिका सवै कार्यालय र ईलाका प्रहरी कारयालयमा विपद उद्धार सामग्रीको व्यवस्था गरीएको छ ।
वडा न. ५ मा दिगो फोहोर व्यबस्थापनको लागि अध्ययन गरी फोहोर उठाई डम्पिङ साइडमा लैजाने काम भएको छ।
सुशासन तथा संस्थागत विकास (कानूनी व्यवस्था, राजश्व परिचालन, संगठन संरचना, सार्वजानिक निजी साझेदारी एवं समन्वय) भएको उपलब्धीः
गाउँपालिकाले हालसम्म ऐन, नियमावली, कार्यविधि र मापदण्डहरु मार्गदर्शन गरी ९६ वटा कानून तर्जुमा गरी कार्यान्वयनमा ल्याइएकोछ। गाउँपालिकाले संगठन तथा सर्वेक्षण गरी सो अनुसारको संगठन संरचना, जनशक्ति र कार्याविवरण तयार गरी कार्यान्वयनमा ल्याएकोछ। यस गाउँपालिकाले गत आ.व को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA)मा ५९.५प्रारम्भिक अंक प्राप्त गरेको छ।यस आर्थिक वर्षमा राजश्व सुधार कार्ययोजनाको कार्यान्वयनबाट आन्तरिक राजश्व स्रोतको दायरामा वृद्धि भएको छ।
२.२.२ क्षेत्रगत नीति तथा कार्यक्रम हरु
क) राजश्व तथा आर्थिक प्रशासन:
राजश्वः
- सडक नयाँ ट्रयाक खोल्दा तथा मर्मत गर्दा निस्कने माटो, ढुंगा, गेग्रान प्रक्रिया पुर्याई बिक्री गरी राजश्वप्राप्तिगरिनेछ ।
- राजश्व संकलनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन राजश्व सुधारको योजना ल्याई सोही बमोजिम कार्यान्वयन गरिनेछ ।
- राजश्व सुधारलाई प्रभावकारीबनाउनआन्तरिक उत्पादन कर लगायत राजश्वकादायरालाई वृद्दि गरी राजश्वका दरहरुमा समयानुसार केही परिमार्जन गरी कर, दस्तुर, सेवा शुल्क संकलनको कार्यलाई जोड दिइनेछ ।
- सामुदायिक वनबाट निकासी हुने काठको वातावरण शुल्क लगाई राजश्व संकलनमा प्रभावकारिता बढाइनेछ । साथै सामुदायिक वनको आम्दानीको १० प्रतिशत गाउँपालिकामा बुझाउनु पर्ने व्यवस्थामा कडाई गरिनेछ ।
- सूचना प्रबिधि, करदाता शिक्षा, आर्थिक प्रशासनको संयन्त्रको संस्थागत क्षमतामा वृद्धि गरी राजश्व संकलनलाइ पारदर्शी, मितव्ययी, छिटो छरितो र नागरीकमैत्री बनाइनेछ । जसका लागि राजश्व संकलन सम्बन्धी सचेतना कार्यक्रम ल्याईनेछ ।

ख) आर्थिक क्षेत्रः
उद्यम, रोजगारी र गरीबी निवारण:
- नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेको र उक्त हकको कार्यान्वयन गर्न रोजगारीको हक सम्बन्धी ऐन, २०७५ तथा नियमावली जारी भएको अवस्थामा यस गाउँपालिकामा रहेका सूचिकृत बेरोजगार ब्यक्तिहरुलाई रोजगारी दिन तथा थप रोजगारीका अवसर सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम तथा निजी क्षेत्रबाट रोजगारी सिर्जना हुने उद्योग, व्यवसायहरुलाई दिगो तथा उत्पादनशील क्षेत्रमा रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम संचालन गरीने छ ।
- देवघाट गाउँपालिकाकोको रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्याक्तिहरु मध्ये प्राथमिकताको आधारमा इच्छुक सुचिकृत बेरोजगार हुने मध्येबाट रोजगार तथा सीपमूलक कार्यक्रम र न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूत गरीने छ ।
- आन्तरिक रोजगारी सिर्जना गर्न सरोकारवाला निकाय र निजी सरकारी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्यमा जोड दिइनेछ । सामान्य श्रम गर्न बाध्यताले विदेशिनु पर्ने अवस्थाको अन्य गर्न तथा विदेश जानै परेमा सिप सिकेर दक्ष जनशक्तिको रुपमा सुरक्षित तवरले बैदेशिक रोजगारीको अवसर सिर्जना गर्न सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइनेछ ।
- बैदेशिक रोजगारीबाट फर्किएका, रोजगारी गुमाएका युवाहरुलाई उद्यमशीलता विकास गराउन तालिम तथा बिउ पूँजी उपलब्ध गराउने गरी आवश्यक व्यवस्था गरिनेछ ।
- दिगो रोजगारी सिर्जना गर्न कृषि उद्यम सम्वन्धी सीप विकास कार्यक्रम तथा कृषि उत्पादन र उत्पादकत्व बृद्धि गर्ने गरी एकीकृत रुपमा कार्यक्रम सञ्चालन गरीने छ ।
कृषि तथा पशु पंक्षी विकास:
- सिंचाइ नपुगेको जग्गामा सिंचाइको उपयुक्त प्रविधि अवलम्बनगरिनेछ ।
- चालु आर्थिक वर्षको बाख्रा पकेट र सुन्तला पकेट क्षेत्रलाई प्रभावकारी बनाई सम्भाव्यताको आधारमा थप बाख्रा तथा सुन्तला पकेट क्षेत्र बनाइनेछ । गाउँपालिकालाई बाख्रा पकेट र सुन्तला पकेट क्षेत्रमय बनाइनेछ ।
- प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ।
- आगामी आ.व. २०८०।०८१ मा कृषि, पशुपन्छी क्षेत्रलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिनेछ ।
- फलफूलहरुको उत्पादकत्व वृद्धि गर्न प्राविधिक सहयोग, मल, बीउ, भिटामिन, तालिमको व्यवस्था गरिनेछ।
- किसानहरूका लागि उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिनेछ।
- खाद्य तथा पोषण सुरक्षा सुनिश्चितताका लागि कृषि क्षेत्रको ब्यवसायीकरण र बजारीकरण मार्फत पालिकालाई प्रमुख कृषि उपजमा आत्मनिर्भर बनाउदै लगिने छ ।
- साना, निर्वाहमुखी, विपन्न र सिमान्तकृत समुदायका किसानहरुका लागि प्राविधिक सहयोग सहित जीविकोपार्जन सुधार कार्यक्रम संचालन गरीने छ ।
- साना तथा विपन्न कृषकहरुलाई प्रवर्धन गर्न मोडेल कृषक समूह कार्यक्रम संचालनमा ल्याईने छ ।
- अदुवा, हलेदो, पिडालु, तरुल, सखरखण्ड खेती प्रणालीलाई व्यवसायिक खेती प्रणालीमा जोड दिइनेछ।
- कृषिलाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्न स्थानीय उत्पादन तथा कृषि पकेट क्षेत्रको विकास गर्ने नीति लिईने छ र वातावरणमैत्री कृषि उत्पादनमा जोड दिईने छ ।
- स्थानीय स्तरमा उत्पादित विउहरुलाई स्थानीय स्तरमै खपत गर्नको लागि वीउ बैंक कार्यक्रम संचालनमा ल्याईने छ ।
- कृषक समूह गठन/पुनर्गठनएवं अभिमुखिकरण कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
- चालु आर्थिक वर्षमा सुन्तला पकेट क्षेत्रलाई प्रभावकारी बनाई सम्भाव्यताको आधारमा थप सुन्तला पकेट क्षेत्र बनाईने छ ।
- किसान सुचिकरण अभियानलाई सफल बनाउन आवश्यक सहजीकरण गरिनेछ । कृषि तथ्याङ्क अद्यावधिक गरिनेछ ।
- खाद्यान्न तथा दाल वालीको बीज वृद्दि गर्न कृषक समूहलाई मुल विउमा अनुदान दिईने छ ।
- दुध तथा दुग्धजन्य उत्पादन तथा उत्पादकत्व वृद्धिमा सहकारी संस्था तथा कृषि समूहलाई अनुदान मार्फत प्रोत्साहन गरिनेछ ।
- स्थानीय उत्पादनको बजारीकरणमा सहकारी संस्थाहरुमार्फत प्रवर्द्धन कार्यक्रम ल्याइनेछ।
- किसानको लागत मूल्य प्राप्तिको सुनिश्चितताको लागि बाली तथा पशुपंक्षी बीमामा सहजीकरण गर्दै अभियानको रुपमा अगाडि बढाइनेछ ।
- कृषि क्षेत्रको उत्पादन लागत कम गरी अन्य उत्पादनमा वृद्दि गर्न अध्ययन तथा अनुसन्धानगरिनेछ ।सोही अनुसार कृषकलाई सहयोगगरिनेछ । यसको लागि एक वडा एक प्राविधिक कार्यक्रम सञ्चालनमा ल्याईनेछ ।
- सक्रिय कृषक समूह र learning on the field नीति लिइनेछ ।
- सुन्तला उत्पादन हुने क्षेत्रमा निःशुल्क सुन्तलाको बिरुवा वितरण गर्न सुन्तला नर्सरी स्थापना गरिनेछ ।
- आर्थिक उन्नतिको लागि महत्वपुर्ण क्षेत्रको रुपमा रहेको कृषि तथा पशु पालन क्षेत्रमा विकासको लागि स्थानीय धान, कोदो, मकै, गहुँ,सामा, कौनी, फापर, तरुल र तोरी पकेट क्षेत्र र स्थानीय पशुपालन (गाई, बाख्रा, भैंसी, कुखुरा, कालो च्वाँचे) पकेट क्षेत्र छनौट गरी कार्यक्रमहरु सञ्चालन गरी अनुदानको ब्यवस्था गरिनेछ ।
- पशुपंक्षी तथा मत्स्य खाद्यवस्तुको उत्पादन र उत्पादकत्वमा वृद्दि गरी आत्मनिर्भर बनाइने छ।
- पशुपंक्षीजन्य उत्पादनमा वृद्धि गरी ब्यवसायीकरण र विविधिकरणको माध्यमबाट निर्यात प्रवर्द्धन गरिनेछ ।
- जैविक विविधताको संरक्षण, संवर्धन तथा सदुपयोग गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकुलनका लागि अनुसन्धानमा आधारित वातारणमैत्री प्रविधिको विकास र विस्तार गरिनेछ ।
- कृषि क्षेत्रमा रहेको बाँझो जग्गाहरुको तथ्यांक संकलन गरी बाँझो जग्गामा उपयुक्त कृषि खेती गर्न अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
- जीविकोपार्जनको परम्परागत रुपमा गरीदै आएका कृषि प्रणालीमा आधारित किसानलाई ब्यवसायिक कृषि प्रणालीमा रुपान्तरण गरिनेछ ।
- कृषि सहकारी मार्फत दुग्धजन्य पशुपालन निम्ति दुधमा आधारित अनुदानको ब्यवस्था गरिनेछ ।
- कृषि उपजको बिक्रीका लागि कृषि उपज संकलन केन्द्र र हाटबजारलाई यथाशिघ्र सञ्चालनमा ल्याइनेछ ।
पर्यटन तर्फः
- निजी क्षेत्रका व्यवसायीहरुलाई पर्यटनमा आकर्षित गर्ने खालका ब्यवसाय गर्न प्रोत्साहन गरिनेछ।
- गाउँपालिका अन्तर्गत धार्मिक, ऐतिहासिक, सांस्कृतिक महत्व बोकेका स्थानहरुलाई पर्यटन क्षेत्रको रुपमा विकासगरिनेछ ।
- देवघाटमा रहेका गलेश्वर आश्रम, महेश आश्रम, हरिहर आश्रम जस्ता अन्य आश्रमहरुलाई धार्मिक पर्यटन विकासको रुपमा अघि बढाउने कार्यक्रम ल्याइने छ ।
- यस गाउँपालिका र अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक स्थल भएका पालिकाहरुसँग धार्मिक भगिनी सम्बन्ध विस्तार गरिनेछ ।
- व्यवसायिक एवं रोजगार मूलक पर्यटन ब्यवसायमा जोड दिइनेछ ।
- देवघाट गाउँपालिका अन्तर्गतका वडाहरुमा व्यवस्थितहोम-स्टे प्रवर्द्दनका लागि सशक्तीकरणतथासबै जात जातिको सांस्कृतिकपहिचान झल्किनेगरीसुधारका कार्यक्रम ल्याइनेछ ।
- पर्यटन पथको थप सुधार, मर्मत, सम्भार, संरक्षण तथा प्रचार प्रसार गरिनेछ ।
- घण्टाचुली पर्यटन प्रवर्द्धननिर्माण तथा संरक्षणका लागि सम्भाव्यता अध्ययन तथा अनुसन्धानको कार्य स्थानीय स्तरबाट अगाडि बढाइनेछ ।
- देवघाट-२ मा पर्ने छरछरे झर्ना, देवघाट-४ को वाहुनी छाँगा खोल्सा, देवघाट-५ को क्युदी दोभानको झरना पर्यटन क्षेत्र विकासको संभाब्यता अध्ययन गरी विकास गरिनेछ ।
- पर्यटन आवधिक योजना अनुरुप पर्यटन क्षेत्रको विकासलाई प्रभावकारी कार्यान्वयन गरिनेछ।
- देवघाट धार्मिक स्थल देवघाटधाम देखि तोकिएको पर्यटन पथमा पर्यटक प्रवर्द्धनको कार्यलाई प्रभावकारी बनाइनेछ ।
- देउपुर हर्दि पुल देखी बेनी संगम हुदै ढासढुंगा पुलसम्म पर्यटनपैदल मार्ग निर्माणगरिनेछ ।
सहकारी:
- स्थानीय साना सहकारी संस्थाहरुलाई प्रवर्द्धन गरी व्यवसायिक कृषि तथा बजारीकरणलाई जोड दिइनेछ ।
- कृषिमा आधारित सहकारी हरेक वडाहरुमा स्थापना गरीदै लगिनेछ ।
- एक वडा एक सहकारीलाई प्रवर्धन गरी ब्यवसायिक खेति र बजारीकरणलाई जोड दिइनेछ ।
- सहकारी संस्थाको क्षमता विकास गरी कृषकहरुलाई सहकारीमा आवद्धता गरी गरीबी निवारणमा टेवा पुर्याइनेछ ।
- उत्कृष्ट कार्य गरेको वा नमुना सहकारी संस्था छनौट गरी पुरस्कृत गर्ने ब्यवस्था मिलाईनेछ।
- सहकारी संस्थाको क्षमता विकास गरिनेछ ।
उद्योग/वाणिज्य:
- रोजगार मूलक कृषि उद्योगको प्रवर्द्धन गरी निरन्तरता दिईनेछ ।
- गरीवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नयाँ लघु उद्यमी सिर्जना र पुराना उद्यमीहरुलाई स्तरोन्नती गरीदै लगिनेछ ।
- उद्यमशीलता मार्फत “सिक्दै जाऊँ, कमाउँदै जाऔँ”कार्यक्रम संचालनका लागि सीप विकास तालिम संचालन गरिनेछ ।
- स्वरोजगार कोषको उचित ब्यवस्थापन गरिनेछ ।
- उत्पादित वस्तुहरुको बजारीकरणमा सहयोग गरिनेछ ।
- सीप विकास तालिम संचालन गर्दा स्थानीय कच्चा पदार्थको बढिभन्दा बढी सदुपयोग हुने किसिमका तालिमलाई जोड दिइनेछ ।
- उद्यमशिलता तालिम मार्फत सीप विकास तालिम संचालन गरी मागमा आधारित सीप विकास तालिम संचालन तथा प्रविधि हस्तान्तरणगरिनेछ ।
- उत्पादित वस्तुहरुको बजारीकरण गर्न आवश्यक समन्वय गरिनेछ ।
- सरकारी, निजी क्षेत्र, सरकारी तथा गैर सरकारी संस्थासंग सहकार्य गरी विभिन्न उद्योगहरु तथा लघु उद्यम सञ्चालनमा जोडदिइनेछ।
- सबै प्रकारका व्यवसाय अभिलेखीकरणको कार्यलाई सूचना प्रविधिको प्रयोग गरी व्यवस्थित गरिनेछ ।
- “देवघाटको कोशेली” घर नामक कोशेलीघर सञ्चालन गरी साना उद्यमी, समूह, सहकारीबाट उत्पादन सामान एकै ठाउँबाट बिक्री गर्ने ब्यवस्था गरिनेछ ।
- स्थानीय कृषि उत्पादन र वनजन्य कच्चा पदार्थमा आधारित लघुउद्यम तालिम, कार्यक्रमलाई प्रोत्साहन सहित प्राथमिकता दिईनेछ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमः
- बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुका लागि पुनःएकीकरण कार्यक्रम अन्तर्गत सिक्दै, कमाउदै कार्यक्रमलाई प्रभावकारी रुपमा संचालनम ल्याइनेछ ।
- मनोसामाजिक परामर्श सेवालाई प्रभावकारी रुपबाट संचालनमा ल्याइनेछ ।
- वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणको उपयोगका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ ।
- सुरक्षित वैदेशिक रोजगार सम्बन्धी चेतनामुलक होर्डिङ बोर्डहरु राख्ने विभिन्न स्थानमा राख्ने ब्यवस्था गरिनेछ ।
- स्थानीय तहबाट नै श्रम स्वीकृतीको प्रक्रियालाई अझै प्रभावकारी र सेवाग्राही मैत्री बनाइनेछ।
- बैदेशिक रोजगारी सम्बन्धी पार्श्वचित्र तयार गरिनेछ ।
ग) सामाजिक विकास:
शिक्षा:
- पालिकामा वार्षिक रुपमा कम्तिमा एक विद्यालय सुधार योजना कार्यक्रम ल्याइनेछ ।
- एक वडा एक मातृ विद्यालय (Mother School) कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ ।
- सूचना प्रविधिमा आधारित पाठ्य सामाग्री विकासको लागि अध्ययन गरी उपयुक्त हुने प्रविधिको विकास गरिनेछ । सूचना प्रविधिको पहुँच तथा पुस्तकालय व्यवस्थापनमा विस्तार गर्दै लगिनेछ ।
- माध्यमिक विद्यालयमाकृषि, शिक्षा, स्वास्थ्यलाई रोजगारमूलक एकीकृत सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।
- सम्पूर्ण मा.वि. तहमा अनिवार्य Science Lab, Library, Computer Class हुनु पर्ने र कक्षा ६, ७ र ८ मा समेत आवश्यकता अनुसार कार्यान्वयन गरिनेछ ।
- विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान र मर्च गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
- वाल विवाह न्यूनीकरण, दुर्व्यसनी सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु विद्यालयहरुमा संचालन गरिनेछ।
- विद्यालयलाई छात्रामैत्री, अपाङ्गमैत्री, वातावरणमैत्री, वालमैत्री बनाउने कार्यक्रम संचालन गरिनेछ।
- सबै विद्यालयमा अनिवार्य रुपमा सफाखानेपानी, शौचालयको तथा छात्राहरुको लागिनिशुल्क सेनेटरी प्याडको व्यवस्था गरिनेछ ।
- वाल विकास केन्द्र समयानुकुल सुधार गर्दै लगिनेछ र श्रब्यदृश्य शैक्षिक सामाग्री ब्यवस्था गरी शिक्षण क्रियाकलाप अघि बढाईने छ ।
- शैक्षिक गुणस्तर सुधार गर्न शैक्षिक सामाग्री, विज्ञान प्रयोगशाला, अतिरिक्त क्रियाकलापका कार्यक्रम सञ्चालन गरिनेछ।
- कक्षा १-५ संचालन भएका शिक्षक संख्या अनुपातमा विद्यार्थी कम भएका विद्यालय कक्षा १-३ र प्रस्तावित रुपमा संचालन भएका मा.वि. तह शिक्षक अनुपातमा विद्यार्थी अनुपात कम भएकालाई कक्षा १-८ आधारभूत तह कायम गरिनेछ र सोही अनुसार शिक्षक दरबन्दी कायम गरिनेछ ।
- गाउँपालिकाभित्रको सामुदायिक विद्यालयहरुबाट SEE परीक्षामा A+ अंक ल्याउनेहरु एक छात्रा एक छात्रलाई नगद पुरस्कार र सम्मान गरिनेछ र १२ कक्षामा उत्कृष्ट अंक ल्याउने एक जनालाई नगद पुरस्कारको व्यवस्था गरिनेछ। कृषि प्राविधिक शिक्षा अध्ययन गर्ने गाउँपालिका भित्रका बढीमा ५ जनालाई छात्रवृत्तिमा सहयोग गरिनेछ ।
- देवघाट सामुदायिक सिकाई केन्द्रलाई कार्यक्रम सञ्चालनका लागि एक जना जनशक्तिलाई पारिश्रमिक उपलब्ध गराईनेछ ।
- विद्यालय तहमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिनेछ ।
- देवघाट गाउँपालिकामा संचालनमा आएको गुरुकूल विद्यालयहरुको स्तरोन्नतिका लागि आवश्यक सहयोग गर्न नीति अवलम्बन गरिनेछ ।
- विद्यालय तथा विद्यालय शिक्षकहरुलाई आन्तरिक मूल्यांकन गरी उत्कृष्ट विद्यालय तथा उत्कृष्ट शिक्षकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाइ निरन्तरतादिइनेछ ।
- विद्यालय अनुगमन एवं पृष्ठपोषण गर्ने कार्यक्रमनियमित गरिनेछ ।
- आधारभूत तथा माध्यमिक तहमा रहेका शिक्षकहरुका लागि क्षमता विकास तालिम संचालन गरिनेछ ।
- दलित, बोटे, भुजेल जातिका लागि उच्च शिक्षा एवं प्राविधिक शिक्षाका लागि अध्ययन गर्नर्यश्रमलाई सहयोग गरी अधचाहने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ ।
- स्वयंसेवक शिक्षक छनौट गरी सुत्केरी सट्टा शिक्षक लगायत आवश्यक ठाउँमा पारिश्रमिक दिई खटाइने छ ।
- देवघाट गाउँपालिकाको शैक्षिक गुणस्तर वृद्दि गर्न शैक्षिक कार्यक्रम संचालनका लागि जनशक्तिको ब्यवस्था गरिनेछ।
स्वास्थ्य तर्फः
- अल्पसंख्यक (बोटे, बराम, चेपाङ्ग) जातिको लागि “अल्पसंख्यकलाई निशुल्क स्वास्थ्य वीमा” कार्यक्रमलाई निरन्तरतादिइनेछ ।
- सम्भावित तथा राष्ट्रिय संक्रमणले सिर्जना गर्न सक्ने जनस्वास्थ्यको चुनौतिलाई व्यवस्थापन गर्न सक्ने संस्थागत क्षमताको विकास औषधि उपचारको ब्यवस्थागरिनेछ ।
- देवघाट स्वास्थ्य चौकीको स्तरवृद्धि गरी १० शैयाको अस्पताल बनाउनको लागि अस्पताल भवन निर्माणाधीन रहेकोमा आगामी आ.व. २०८०।०८१ मा सम्पन्न गरिनेछ।
- गर्भवती महिलाको पति, सासु, ससुराको लागि गर्भवती महिलाको स्वास्थ्य सम्बन्धी जानकारी दिने र प्रत्येक महिनाको १ पटक गर्भवती महिला स्वास्थ्य चौकी आएर स्वास्थ्य परीक्षण गराउँदा १००/- रुपैंया खाजा खर्च दिने कार्यक्रमलाई निरन्तरता दिइनेछ र संस्थागत सुत्केरी गराउने स्वास्थ्यकर्मीलाई प्रति सुत्केरी रु. १,०००/- प्रोत्साहन भुक्तानी दिइनेछ ।
- आवश्यकता अनुसार विभिन्न संघ संस्थाहरुसँग समन्वय गरीस्वास्थ्य कार्यक्रमतथा शिविर संचालन गरिनेछर सुत्केरी उद्दार कार्यक्रमलाई निरन्तरता दिइनेछ ।।
- महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि प्रोत्साहन तथा प्राकृतिक स्वास्थ्य अगुवा म.स्वा.से. कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
- म.स्वा.स्वं.से. को लागि प्राकृतिक चिकित्सा पद्दति कार्यक्रम तथा मनोसामाजिक परामर्श अभिमुखीकरण कार्यक्रम संचालन गरिनेछ ।
- नागरीकको स्वास्थ्य परीक्षण प्राथमिक स्किमिङ तथा डिजिटल विधिबाट परीक्षणको अभियान संचालन गरिनेछ । जस अन्तर्गत पहिलो चरणमा बृद्द बृद्दा तथा शारीरिक असमक्षता भएकाहरुलाई प्राथमिकता दिईनेछ ।
- HIV/AIDS, डेंगु, पाठेघर खस्ने जस्ता समस्याको सम्बन्धमा सेवामूलक कार्यक्रम ल्याइनेछ ।
- स्वास्थ्यकर्मीहरुको अनुभव आदान प्रदानको लागि गोष्ठी संचालन गरिनेछ ।
- आमा सुरक्षा कार्यक्रमलाई सेवामूलक रुपमा अगाडि वढाइनेछ ।
- पोषण र सन्तुलित भोजन (Balance Diet) रविभिन्न प्रकारका सरुवा रोगहरुबाट बच्ने उपायहरुको बारेमा व्यापक प्रचार गरिनेछ ।
- नागरीक आरोग्य सेवा केन्द्र देवघाटमा थेरापी समेतका उपचार सेवा शुरु गरी थप व्यवस्थित र प्रभावकारीतालाई निरन्तरता दिईनेछ र आवश्यक औषधी तथा पूर्वाधारमा सहयोग गरिनेछ ।
- ५ वर्षमुनिका वच्चाहरुलाई पूर्ण खोप कार्यक्रम व्यवस्थापन समावेशलाई निरन्तरतागरिनेछ । मातृ तथा नवशिशुहरुलाई उचित कार्यक्रम संचालन गरिनेछ ।
- क्षयरोग तथा कुष्ठरोगका विरामीहरु पहिचान गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
- भैपरी आउने महामारीको व्यवस्थापन सम्बन्धी(झाडापखाला,टाइफाइड आदि) कार्यक्रम सञ्चालन गरिनेछ ।
- परिवार नियोजन सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।
- पूर्ण खोप कार्यक्रम निरन्तरगरिनेछ ।
- बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
- २४ घण्टा प्रसुती गृहलाई सुविधा सम्पन्न बनाइनेछ ।
- धर्मार्थ अस्पताललाई २४सै घण्टा सेवा प्रवाह गरिनेछ र एक स्नातक चिकित्सक निरन्तरता दिईनेछ। त्यस सेवाका लागि आवश्यक जनशक्ति व्यवस्था गर्न कार्यक्रम ल्याईने छ ।
- छिपछिपे स्वास्थ्य चौकीमा ल्याब संचालन कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
- गर्भधारण पुर्व र गर्भधारण पश्चात हुन सक्ने संभावित जोखिम न्युनीकरण गर्न विद्यालय स्तरदेखि सचेतना कार्यक्रम संचालन गरिनेछ ।
सामाजिक सुरक्षा तथा पञ्जिकरण तर्फः
- सबै वडाहरुमा Online व्यक्तिगत घटना दर्ता कार्य सुदृढीकरण गरिनेछ ।
- सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको अभिलेख नियमित रुपमा अध्यावधिक गरिनेछ।
पूर्ण सरसफाई तथा फोहरमैला व्यवस्थापन:
- ल्याण्डफिल्ड साइटको दिगो व्यवस्थापन गर्न उपयुक्त स्थानको खोजी गरिनेछ ।
- व्यक्तिगत, घरायसी, तथा वातावरणीय सरसफाईमा थप जोड दिदै पूर्ण सरसफाई उन्मुख गाउँपालिका कार्यक्रमलाई संघ-संस्थाको सहकार्यमा सञ्चालन गरिनेछ ।
- पानी परीक्षण प्रयोगशाला स्थापना गरिनेछ साथै सुरक्षित खानेपानीको सुनिश्चित गरिनेछ।
- फोहोरमैला ब्यवस्थापन गर्न आवश्यक ट्रयाक्टर तथा अन्य उपकरण खरीद गरिनेछ ।
- देवघाटधाम वेणी संगम धार्मिक क्षेत्रमा पूर्ण सरसफाईलाई कडाईका साथ लागू गरी जनचेतना कार्यक्रम ल्याईने छ ।
खानेपानी, सरसफाइ तथा स्वच्छताः
- अधुरो क्वादी खोला खानेपानी आयोजनलाई समयमा नै सम्पन्न गराई वितरण प्रणाली मार्फत २४ सै घण्टा खानेपानीको आपुर्ति व्यवस्था मिलाइनेछ ।
- व्यक्तिगत, घरायसी तथा वातावरणीय सरसफाइमा थप जोड दिदै पूर्ण सरसफाइ उन्मुख गाउँपालिका कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- खानेपानी मुहान संरक्षण तथा व्यवस्थापन अभियान सञ्चालन गरिनेछ ।
- पानी परीक्षन प्रयोगशआला निर्माण गरिनेछ ।
- सम्पूर्ण खानेपानी आयोजनाको पानी परीक्षण गरिनेछ र सुधारका कार्यक्रम ल्याइनेछ ।
- प्रदेश सरकार,संघीय सरकार, युनिसेफ लगायत अन्य दातृ निकाय र उपभोक्ता समितिको सहलगानीमा सबै खानेपानी योजनाहरूमा सुरक्षित खानेपानीको योजना (Water Safety Plan) लाई निरन्तरता दिइनेछ ।
- खानेपानी उपभोक्ता समितिको संस्थागत क्षमता विकास र चेतनामूलक कार्यक्रममा जोड दिइनेछ ।
- “एक घर एक धारा” सुरक्षित खानेपानी हाम्रो अभियानलाई प्राथमिकता दिई प्रभावकारी कार्यान्वयन गरिनेछ।
- खानेपानीको स्रोत भएका कुवा, पधेरा, खोल्साको संरक्षणका लागि अभियान ल्याईने छ ।
- देवघाट-५ मा रहेको खानेपानी समितिहरुलाई एकीकरण गरी एकद्वार प्रणाली खानेपानी वितरण कार्यक्रम पहल गरिनेछ ।
- खानेपानीको मुहान संरक्षणका लागि पुनर्भरण पोखरी (Recharge Pond) को व्यवस्था गरिनेछ।
लक्षित वर्गः
- विपन्न तथा आर्थिक, सामाजिक रुपमा पछाडि परेका वर्गहरुलाई गाउँपालिका स्तरीय सञ्जाल, वडा स्तरीय सञ्जाल पुनर्गठन गरी जसको सहकार्यमा आर्थिक, सामाजिक विकासका कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ ।
आदिवासी जनजाति दलित र अल्पसंख्यक तर्फः
- रोजगार कार्यक्रम मार्फत आदिवासी जनजाति, दलित, पिछडिएको वर्ग एवं महिला वर्गहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न सशक्तिकरण कार्यक्रम र आय आर्जनका लागि विभिन्न सिपमूलक कार्यक्रम, संस्कृति संरक्षणका कार्यक्रमहरु ल्याइनेछ ।
- पछाडि पारिएका जनजाति वर्गहरुका लागि क्षमता विकास कार्यक्रम ल्याईने छ ।
महिला तथा वालवालिका तर्फः
- गाउँपालिकाको लैंगिक हिंसा निवारण कोष सञ्चालनलाई निरन्तरतादिइनेछ।
- लैससास नीतिलाई पूर्ण रुपले अवलम्बन गरिनेछ ।
- सम्पूर्ण वडाहरुमा घुम्ति शिविर राखी अपाङ्गता परिचय-पत्र सहितको राहत तथा स्वास्थ्य परिक्षण गरिनेछ ।
- लैङ्गिक हिंसा विरुद्ध जनचेतना जगाउने कार्यक्रम संचालन गरिनेछ ।
- नेपाल सरकारले संचालन ल्याएको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम(PLGSP)सँग समन्वय गरी लैंगिक समानता,महिला हिंसा नियन्त्रण तथा न्यूनिकरण एवं सामाजिक समाबेशीकरणसँगसम्बन्धित कार्यक्रम संचालन निरन्तरता दिइनेछ ।
- विभिन्न संघ संस्थाको सहकार्यमा तथा रोजगारी कार्यक्रम मार्फत महिलाहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न सशक्तीकरण कार्यक्रम र आय आर्जनका लागि विभिन्न सीपमूलक कार्यक्रम ल्याइनेछ र महिला उद्यमीहरुलाई प्रोत्साहित गरिनेछ।
- महिला क्षमता विकासमा महिला संजाललाई उत्प्रेरितगरिनेछ ।
- वालमैत्री कार्यक्रम संचालन निरन्तर गरिनेछ ।
- लैङ्गिक हिंसा, बाल विवाह, बोक्सी प्रथा अन्त्य गर्ने कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ ।
अपाङ्ग वर्ग तर्फः
- अपाङ्गता भएका व्यक्तिहरुको दिगो आयआर्जनमा टेवा पुर्याउन अपाङ्ग भएका व्यक्तिका परिवार मार्फत कार्यक्रम सञ्चालन गरिनेछ ।
- उपचार हुने अपाङ्गहरुलाई स्वास्थ्य संस्थासँग समन्वय गरी उपचारको प्रबन्ध गरिनेछ ।
- अपाङ्ग भएका अभिभावकका छोराछोरीहरुका लागि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थिहरुका लागि पोशआक, शैक्षिक सामाग्री झोला कापी कलमको ब्यवस्था गरिनेछ ।
जेष्ठ नागरीक कार्यक्रम तर्फः
- देवघाट गाउँपालिकामा वृद्ध-वृद्धाहरुको उपचारको लागि उपयुक्त स्थान पहिचान तथा छनौट गरी १०० शैया सम्मको नेपालकै केन्द्रिय वृद्ध-वृद्धा अस्पताल निर्माण गर्न संघीय सरकार समक्ष पहल गरिनेछ ।
मानव अधिकारः
- देवघाट गाउँपालिका अन्तर्गत मानव अधिकारको संरक्षण र संवर्धन गर्दै मानव अधिकार सम्बन्धी कार्यक्रम सञ्चालनमा ल्याईने छ ।
मानव सेवा आश्रम:
- देवघाट आश्रममा रहेको गलेश्वर आश्रमले सञ्चालन गरेको अन्न भण्डार कार्यक्रम र वृद्द आश्रममा सञ्चालनका लागि सहयोग गरीदै लगिनेछ ।
- मानव सेवा आश्रममार्फत बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहिन, शारीरिक तथा मानसिक रुपमा कमजोर सडक आश्रित मानवहरुको उद्धार, उपचार, परामर्श, पालन पोषण एवं पारिवारिक पुनर्मिलन सम्बन्धीविशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
भूमि सम्बन्धी समस्या समाधान तर्फः
- संघ र प्रदेश सरकार भूमि सम्बन्धी समस्या समाधान आयोगको नीति कार्यक्रम बमोजिम आवश्यक समन्वय गरी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण कार्य अघि बढाइनेछ ।
- गाउँपालिका क्षेत्रभित्र भूमिको वर्गिकरण गरी भू उपयोग क्षेत्र तोकिनेछ ।
सामाजिक सुधार, सार्वजनिक स्थल र चाडपर्व:
- समाजमा सदाचार,शिष्टाचार, नैतिक मूल्य र मान्यतालाई प्रवर्द्धन गरिनेछ ।
- देवघाट गाउँपालिका अन्तर्गत बसोबास गर्ने सांस्कृतिक र साम्प्रदायिक सद्भाव झल्कने सबै जातजातीहरु समेटिने गरी पार्श्वचित्र निर्माण गरिनेछ ।
- स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सु-सम्बन्धमा आधारित समाजको निर्माण गरिनेछ ।
- सामाजिक, सांस्कृतिक तथा सेवा मूलक कार्यमा स्थानीय समुदायको सहभागिता मार्फत सिर्जनशीलताको प्रवर्द्धन गरिनेछ ।
- भड्किलो र अनुत्पादक खर्च बढी हुने गरी मनाइने चाडपर्वलाई निरुत्साहित गर्दै सरल, मितव्ययी र परम्परागत संस्कृतिको संरक्षण र सम्वर्द्धन गरिनेछ ।
- वेणी संगम तथा देवघाटको धार्मिक क्षेत्रमा विभिन्न समयमा हुने धार्मिक पर्वहरुमा ब्यवस्थित सुरक्षा नीति अपनाईने छ ।
भाषा/संस्कृति संरक्षण:
- स्थानीय भाषा, संस्कृति, कला, सांस्कृतिकसंरक्षण संवर्द्धनगरिनेछ।
यूवा /खेलकुद तर्फः
- युवाहरुसँग समन्वय गरी विभिन्न खेलकुद एवं खेलकुदसँग सम्बन्धित क्रियाकलापहरु सञ्चालन गरिनेछ ।
- युवा जनशक्तिहरुलाई रचनात्मक कार्यहरुमा लाग्न, विकास र निर्माण कार्यमा सहयोग गर्न, रोजगार र युवा शक्तिकरण कार्यक्रमगरिनेछ ।
- एक वडा एक खेल मैदान बनाउन पहल गरिनेछ ।
- निजी क्षेत्रको लगानीमा खेल मैदान, खेलकुद भवन निर्माण गर्न प्रत्साहित गरिनेछ ।
- पालिका स्तरिय खेलकुद कार्यक्रम संचालन गरीने छ । त्यसका लागि संगठित खेलकुद समितिहरुलाई प्रोत्साहित गरिनेछ ।
गैर सरकारी संघ संस्था तथा अन्य संघसंस्था र निजी क्षेत्रः
- कुनै पनि गैससले गाउँपालिका क्षेत्रभित्र कार्यक्रम संचालन गर्नु भन्दा पहिले नै गाउँकार्यपालिका बाट अनुमति लिनुपर्नेव्यवस्था गरिनेछ ।
- विकासको साझेदारको रुपमा निजी क्षेत्र तथा गैरसरकारी संघसंस्थाहरुलाई समन्वयात्मक रुपमा परिचालन गरिनेछ । साथै उपयुक्त कार्यक्रममा गाउँपालिकाबाट लागत साझेदारी हुनेछ ।
- सार्वजनिक निजी क्षेत्र र समुदायको साझेदारीको विकास गरिनेछ ।
- गै.स.स. तथा अन्य संघ संस्थाहरुवाट लगानीको लागि प्राप्त प्रस्तावित कार्ययोजना तथा कार्यक्रमहरुलाई आवश्यकता भएबमोजिम समन्वयात्मक रुपमा अगाडि वढाइनेछ ।
टोल विकास संस्थाः
- सामाजिक विकास, व्यक्तिगत आचरणमा सकारात्मक परिवर्तन गर्न र आय आर्जन तथा सरसफाइको क्षेत्रमा समेत टोल विकास संस्थालाई परिचालन गरिनेछ ।
- सामाजिक, आर्थिक, भौतिक पूर्वाधारको क्षेत्रमा टोल विकास संस्थाको उचित परिचालन गरिनेछ ।
- टोल विकास संस्थालाई सशक्त बनाउन मौजुदा टोल विकास संस्थाहरुलाई मर्च(गाभी) गरी क्षमता विकास कार्यक्रम ल्याईने छ ।
घ) पूर्वाधार क्षेत्रः
- पूर्वाधार तर्फः
- सडक निर्माण मापदण्ड बनाई विशेष मुल सडकको किनारमा फलफूल बिरुवा लगाई वातावणमैत्री सडक निर्माणमा जोड दिइनेछ ।
- उत्साहजनक जनसहभागिता जुट्ने, मितव्ययी गुणस्तरीय रोजगारी सिर्जना गर्ने तथा दिगोपना हुने खालको योजना उपभोक्ता समिति मार्फत गराईने छ ।
- विगतमा निर्माण गरीएका मुख्य कच्ची सडकहरुलाई बाह्रै महिना चल्ने गरी स्तरवृद्धि गरिनेछ ।
- शुरु भएको आवश्यकअधुरो ट्रयाक पूरा गर्ने बाहेक आगामी आ.व. मा नयाँ ट्रयाक खोल्ने कार्यगरीनेछैन ।
- शालिग्रामकोरिडोर मार्गलाई गौरवको योजनाको रुपमा लिई प्रदेश सरकारलाई उक्त मार्ग छिटो र गुणस्तरीय रुपमा स्तरोन्नति गर्न गराउन निरन्तरसहयोग तथा पहलगरिनेछ ।
- पालिका भित्रका सबै सडकको प्राथमिकीकरणगरी स्तरोन्नति एवं स्तरवृद्धि गर्दै लगिनेछ।
- सडक मर्मत तथा निर्माणमा प्रयोग गर्न ब्याकहो लोडर खरिद गरिनेछ ।
- देवघाट – ५ क्यूदीमा निर्माण कार्य भईरहेको प्रशासकीय भवन निर्माण सम्पन्न गरी थप पूर्वाधारका काम गरिनेछ ।
- भौतिक पूर्वाधारका महत्वपूर्ण ठूला योजनाहरु (भवन, खानेपानी, ढल, सडक, पुल, तटवन्ध जस्ता) सञ्चालनका लागि प्रदेश सरकार,संघिय सरकार र दातृ निकायमा पहल गरिनेछ ।
- सार्वजनिक जग्गा एवं सम्पत्ति संरक्षण गरी वडागत लगत राख्ने कार्यलाई निरन्तर अगाडि बढाइनेछ ।
- आगामी ५ वर्ष भित्रमा प्रत्येक वडा कार्यालयलाई पक्कि सडक वा कालो पत्रेले हुने गरी काम अगाडि बढाईनेछ ।
- सार्वजनिक सडक बाटोको नक्साकंन गर्ने कार्यलाई अगाडी बढाइनेछ ।
- फोस्रेपानी देवघाट सडक गाउँपालिकाको गौरवको योजनामा राखी खोलिएको ट्रयाकलाई पूरा गरिनेछ ।
- देवघाट-४ गाईघाट र भरतपुर म.न.पा.- २९ भोर्ले चितवन जोड्ने त्रिशुली नदीतथाआवश्यक स्थानहरुमा पक्की पुल निर्माणको लागि पहल गरिनेछ।
- आवश्यकता पहिचान भएका स्थानहरुमा क्रमश: झोलुङ्गे पुल निर्माण कार्य निरन्तर गर्दै लगिनेछ ।
- तोकिएको समयमा न्युन प्रगति गर्ने, सम्झौता बमोजिम काम नगर्ने, संघीय र प्रदेश शसर्त तथा समपुरक बजेटबाट गर्ने कामको काम नगरेको कारण बजेट फ्रिज गराउने ठेकेदारसँग ठेक्का सम्झौता तोड्ने, आवश्यक कानूनी कारवाही गर्ने र कालोसूचीमा राख्ने काम गरिनेछ।
- झोलुंगे पुल संरक्षण गर्न संरक्षक तथा वर्षातको ४ महिना सफाई, अवरोध हटाउन तथा सो को सूचना तुरुन्त गर्न सडक हेरालु राखिनेछ ।
- सि.टी. हलः
- देवघाट गाउँपालिका वडा नं. ५ मा अवस्थित सि.टी. हल निर्माण कार्य सम्पन्न भइसकेकोले संरक्षणको लागि घेराबार, रिटेनिङ्ग वाल र गेटको निर्माण प्रक्रियालाई अगाडि बढाइनेछ ।
- वेणि संगम नदीमा त्रिकोणात्मक पूल बनाउन विशेष पहल गरिनेछ ।
- वडा र कार्यालय भवनः
- वडा नं. १ र वडा नं. ५ मा वडा कार्यालय भवन निर्माणधिन रहेकोले निर्माण सम्पन्न गरिनेछ ।
- विद्युतिकरण तर्फः
- देवघाट गाउँपालिकाको विद्युतिकरण नभएका क्षेत्रहरुमा यथाशिघ्र विद्युतिकरणका लागि सम्बन्धित निकायमा पहलगरिनेछ ।
- सडकको दायाँ बायाँतर्फ व्यवस्थित रुपमा नगाडेका पोलहरु अनुगमन गरी व्यवस्थित गर्न पहल गरिनेछ ।
- आँपटारी देवघाट विद्युत प्रशारण लाईनलाई जमिनमुनिबाट विद्युतिय तार ल्याउने कार्यमा पहल गरिनेछ ।
- घर नक्सा एवं शहरी सुन्दरता तर्फः
- बस्ती विकास,शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्ग दर्शन २०७२ अनुसार घर नक्सा पास सम्वन्धी मापदण्डलाई थप प्रभावकारी रुपमा लागू गरिनेछ ।
- पुरानो घरको अभिलेखीकरण गर्नका लागि तथा घर कायम गर्नको लागि घरधनिहरुलाई थप सुशुचित गरी आगामी आ.व. मा समय थप गरिनेछ ।
- गाउँपालिकाको भवन संहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
ङ) वन, वातावरण तथा विपद व्यवस्थापनः
- विपद ब्यवस्थापन तर्फः
- विश्वव्यापी महामारीको रुपमा भविष्यमा आउन सक्ने विपद व्यवस्थापन गर्न सक्ने गरी विपद व्यवस्थापन क्षमताको विकास गरिनेछ ।
- विपद व्यवस्थापन संयन्त्रको विकास, विपद सामाग्रीको भण्डारण लगायतको कार्य गर्न र महामारी रोगको सम्भावित थप जोखिम समेतलाई मध्यनजर गरी विपद व्यवस्थापन कोषको मौज्दात रकममा वृद्धि गरिनेछ ।
- प्राकृतिक प्रकोपका दृष्टिले अत्यन्त जोखिमपूर्ण क्षेत्रमा विपद ब्यवस्थापन पूर्व तयारी कार्यक्रमहरु संचालन गरिनेछ ।
- प्राकृतिक प्रकोप, मानव सृजित प्रकोप तथा महामारी रोग रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न पूर्व तयारी गरिनेछ ।
- भू-क्षय रोकथामको लागि तार जाली खरीद गरी लागत सहभागिताका आधारमा वितरण रभू-क्षय नियन्त्रणको कार्य निरन्तरगरिनेछ।
- वन तथा वातावरण तर्फः
- हरित तथा पूर्ण सरसफाइयुक्त गाउँपालिका अवधारणाको मर्म अनुरुप हरित गाउँपालिका बनाउन निर्माण सम्पन्न प्रमाण पत्र लिदा कम्तिमा २ वटा रुख रोपेको हुनु पर्ने व्यवस्था लाई निरन्तरतादिइनेछ ।
- वातावरणमैत्री स्थानीय शासन कार्यक्रम मार्फत वातावरणमैत्री गाउँपालिकाको रुपमा अगाडी बढाउने प्रयासगरिनेछ ।
- सामुदायिक वनसँगको सहकार्यमा आर्थिक उपार्जन र वन व्यवस्थापनको कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
- वातावरण हराभरा बनाउनको लागि सार्वजनिक स्थलहरुमा वृक्षारोपण गरिनेछ।
- वन, वातावरण तथा विपद् व्यवस्तापन इकाईलाई प्रभावकारी रुपले संचालन गरिनेछ ।
- सम्भावित स्थलहरुमा जैविक पोखरी निर्माणको लागि वन डिभिजन कार्यालयसँग समन्वय गरी प्रोत्साहित गरिनेछ।
- भौतिक पूर्वाधार निर्माण गर्दा वातावरण-मैत्री, वाल-मैत्री, अपाङ्ग मैत्री पूर्वाधार निर्माण गर्न जोड दिईनेछ ।
- डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिसँगको समन्वय, सहकार्यमा फलफूल लगायतवन क्षेत्रमा अन्य विरुवा रोप्ने कार्य प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
- सामुदायिक वनले गर्नुपर्ने कार्यक्रमहरु गाउँपालिकाको साझेदारी तथा प्राथमिकता अनुसार गर्नुपर्ने गरी आवश्यक व्यवस्था मिलाईनेछ ।
- संस्थागत विकास, सेवा प्रवाह र सुरक्षाः
आन्तरिक व्यवस्थापन एवं सेवा प्रवाह तर्फः
- पुलको मुखमा तथा संवेदनशिल क्षेत्रमा सि.सि.टि.भी. (CCTV) को ब्यवस्था गरिनेछ ।
- सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधीको उपयोग मार्फत सेवा प्रवाह छिटो छरितो बनाउन जोड दिइनेछ ।
- आवश्यकता अनुसार एकिकृत घुम्ति शिविरहरु सञ्चालन गरिनेछ ।
- स्थानीय शान्ति सुरक्षा कायम गर्न एवं सामाजिक विकृति विसंगति विरुद्धका गतिविधिहरु रोक्न सामुदायिक मेलमिलाप सेवा समिति, सामुदायिक प्रहरी, इलाका प्रहरी कार्यालयको सहकार्यमा कार्यक्रम संचालन एवं सहयोगका लागि निरन्तरता दिईनेछ ।
- सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाईनेछ ।
- वडा र गाउँपालिकामा रहेको नागरीक वडापत्रलाईप्रविधियुक्त बनाइनेछ ।
- गाउँकार्यपालिकामा सूचना तथा अभिलेख केन्द्रको स्थापना गरिनेछ ।
- गाउँकार्यपालिका कार्यालयमा रहने विषयगत शाखाहरुलाई साधनश्रोत सम्पन्न बनाई उचित परिचालन गरिनेछ।
- जनप्रतिनिधि तथा कर्मचारीको क्षमता वृद्दि गर्न आवश्यकता अनुसार तालिम, गोष्ठी, अन्तरक्रिया, समीक्षा, अध्ययन भ्रमणको व्यवस्था गरिनेछ ।
- गाउँपालिका र प्रत्येक वडामा मासिक, चौमासिक तथा वार्षिक समीक्षा कार्यक्रम निरन्तरता गरिनेछ ।
- गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्थाको संस्थागत क्षमता वृद्धि गरी साधन सम्पन्न बनाइनेछ । साथै सूचना प्रविधिको अधिकतम उपयोग गरिनेछ ।
- भूमि सम्बन्धी नापनक्सा र रजिष्ट्रेशन दर्ता गर्न सदरमुकाम दमौली टाढा रहेकोले मालपोत कार्यालयको शाखा देवघाटमा स्थापना गर्न आवश्यक पहल गरिनेछ ।
- अनुगमन, मूल्यांकनमा सुधार गरीने र यस सम्बन्धमा कार्यविधि तर्जुमा गरिनेछ ।
- सेवाग्राही सहजकर्ता, नागरीक सहायता कक्ष, अमिन सेवा र WASH कार्यक्रमलाई निरन्तरता दिई सेवा प्रवाहलाई निरन्तरता दिइनेछ ।
- दरबन्दीका ४ जना नगर प्रहरीमा २ जना थप गरी ६ जना नगर प्रहरी परिचालन गरीएकोमा यसलाई निरन्तरतादिई सुरक्षा तथा राजश्व चुहावट नियन्त्रण गर्ने काममा परिचालन गरिनेछ ।
- देवघाट गाउँपालिकाको छुट्टै पहिचान स्थापित गर्न गाउँपालिकाको आफ्नै लोगो बनाइनेछ ।
सुशासन, जवाफदेहिता, प्रशासनिक कुशलता, वित्तिय प्रभावकारीता तथा जोखिम न्युनीकरण र पारदर्शिताः
- आवधिक योजना, मध्यमकालीन खर्च संरचना तथा बार्षिक बजेट अनुसारका कार्यक्रम र योजना कार्यान्वयनमा ल्याइनेछ ।
- राजश्व संकलन र स्थानीय सुरक्षा कायम गर्न नगर प्रहरी क्षमता अभिवृद्दि कार्यलाई जोड दिईनेछ ।
- जनप्रतिनिधि, कर्मचारी र नागरीकको विभिन्न विधामा सिप तथा दक्षता विकास, सस्थागतसुशासन, नीति प्रभावकारिता जस्ता क्षेत्रमा क्षमता विकासका लागि संघीय सरकार र प्रदेश सरकारका PLGSP लगायतकाकार्यक्रमसँग तालमेल र सहकार्यगरिनेछ ।
- भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन प्रत्येक महिना/चौमासिक रुपमा सार्वजनिकीकरण निरन्तर गरिनेछ । साथै सूचना प्रविधिमा आधारित भौतिक तथावित्तीय प्रतिवेदन प्रणालीमा जोड दिइनेछ ।
- उपभोक्ता समितिको पर्याप्त लागत सहभागिता रहने र त्यसलाई मर्मत सम्भारको जिम्मा लिइएका आयोजना बाहेक अन्य विकास आयोजनाहरु सार्वजनिक खरिद ऐन २०६३ तथा नियामवली २०६४ बमोजिमको प्रक्रिया मार्फत कार्यान्वयन गरिनेछ ।
- सबै योजनाहरुमा अनिवार्य अनुगमन, सूचना पार्टी र सार्वजनिक परीक्षण गरिनेछ ।
- उपभोक्ता समितिहरुलाई योजना सञ्चालन सम्बन्धी तालिम वडा कार्यालयमा व्यवस्था गरिनेछ।
- योजना तथा कार्यक्रमको सम्झौताअनुगमन तथा कार्य सम्पन्न तथा भुक्तानी प्रक्रियालाई वडाबाटै छिटो, छरितो र पारदर्शी बनाउन आवश्यक प्रक्रियाअवलम्बन गरिनेछ ।
- समुदाय स्तरमा हुने साना तिना र स्थानीय झैझगडा विकृति, विसंगती न्युनीकरण गर्न सामुदायिक प्रहरी सेवालाई निरन्तरता दिई प्रोत्साहन गरिनेछ ।
- पालिकाको समग्र सेवा प्रवाह, कार्यक्रमहरुकोउपलब्धिबारेनागरीकहरुको सुझाव लिने गरी सार्वजनिक सुनुवाई, सामाजिक परिक्षणकोव्यवस्थागरिनेछ।
- सूचना प्रविधि, अभिलेख तथा तथ्यांकतर्फ
- गाउँपालिकाको कार्यालय, वडा कार्यालय, अस्पताल, स्वास्थ्य चौकी, विद्यालय सबैलाई क्रमश: आधुनिक सूचना प्रविधिमैत्री बनाईनेछ ।
- गाउँपालिकाका सबै सूचना र तथ्यांकलाई अनलाईन, दिनहुँ अपडेट वेबसाइटतथा आधुनिक प्रविधिको प्रयोग मार्फत नियमितसरोकारवाला समुदायसम्म k’¥ofइनेछ ।
- गाउँ क्षेत्रभित्रका विद्यालय, स्वास्थ्य सेवा केन्द्र, कृषि पशु इकाई तथा अन्य सेवा प्रदायक संस्थालाई नेटवर्किङ्ग गर्न पूर्वाधार विकास गरिनेछ ।
- गाउँपालिकाबाट प्रवाह हुने सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन आवश्यक पूर्वाधार लगायतका विषयहरुको सम्बन्धमा विस्तृत कार्ययोजना तयार गरी क्रमश: कार्यान्वयन गरिनेछ ।
- सार्वजनिक सुनुवाई वडागत रुपमा गरीने र स्थानिय संचार माध्यमबाट सहजीकरण गरिनेछ ।
दण्ड, प्रोत्साहन र पुरस्कारः
- गाउँपालिकाको उत्कृष्टकर्मचारीलाई सम्मान तथा पुरस्कृतगरिनेछ ।
- कानुनको सीमा भन्दा बाहिर गएर कार्य गर्ने, नैतिक मूल्य मान्यता तथाअनुशासनको पालना नगर्ने, गलत कार्य गर्ने प्रवृतिहरुलाई निरुत्साहित गर्नसम्बन्धित निकायहरुसँग हातेमालो गरिनेछ ।यस्ता कार्यमा संलग्न जोसुकै व्यक्तिलाई दण्ड, जरिवाना गर्न नियमानुसारसमन्वय तथा सहकार्य गरी कार्य गरिनेछ।
सुरक्षा नीति तर्फः
- देवघाट वडा नं. ३ छिपछिपेमा अस्थायी प्रहरी चौकीको लागि पहल गरिनेछ ।
- इ.प्र.का. देवघाटमा पूर्ण दरबन्दी र स्तरोन्नति गर्नको लागि आवश्यक पहल गरिनेछ ।
- साविक देखि ६ जना नगर प्रहरी परिचालनगरि सुरक्षा सेवा प्रवाह हुदै आएकोमा आगामी आ.व. उक्त सेवालाई निरन्तरता दिदै थप चुस्त र दुरुस्त सेवा प्रवाह गरिनेछ ।
जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि आचारसंहिता
- गाउँ सभाबाट पारित नीति, कार्यक्रम तथा बजेटको विरुद्धमा बोल्न, लेख्न तथा समाचार प्रकाशन गर्न पाइनेछैन ।
- जनपर्तिनिधि र कर्मचारीले तोकिएको आचार संहिता पालन गर्नुपर्नेछ ।
गाउँपालिका गौरवका योजनाः
जन-अपेक्षा तथा आवश्यकता भौगोलिक बनावट, योजनाको प्राथमिकता, गाउँपालिकाको श्रोत साधन, आर्थिक, सामाजिक, पर्यटकीय सम्भावना लगायतका दृष्टिकोणले महत्वपूर्ण मानिएका तपसिल अनुसारका योजनाहरुलाई गाउँपालिका गौरवका योजनाको रुपमा लिइएको छ । जसलाई उपलब्ध श्रोत साधनको आधारमा बहुवर्षिय योजनाको रुपमा क्रमशः श्रोत साधनको व्यवस्था गरी सम्पन्न गरिनेछ ।
- घण्टाचुली भ्यू टावर पर्यटकीय स्थल देवघाट – १ र २ घण्टाचुली
- ऐतिहासिक प्याउली गढी, देवघाट – ४ डुँडे
- देवघाट-साउने, कर्ताप सडक, देवघाट – ४ र ५
- गाईघाट, काफलडाँडा छिपछिपे सानुभञ्ज्याङ्ग सडक, देवघाट – ४, १, ३ र २
- सुन्तला पकेट क्षेत्र, बाख्रा पकेट क्षेत्र, देवघाट- ३
- खाल्टे-मास्दीघाट सडक, देवघाट – २
- देवघाट गाउँपालिका अस्पताल, देवघाट – ५
- देवघाट धार्मिक पर्यटन पथ
- गाउँपालिका प्रशासकीय भवन
- ढासढुंगा वेणी संगम पद मार्ग
- घिनाटार-टाउन चोक कालो पत्रे आयोजना
- क्वादी खानेपानी योजना
श्री तिल बहादुर थापा
अध्यक्ष












