देवघाट, भदौ २२
देवघाट गाउँपालिका–५ हरिहर चोकका ५२ बर्षिय भोजराज नैनावस्ती सोमबार विहान देवपुरमा रहेको गाईको गोठबाट फर्कदै गर्दा टाउनचोकमा ५०–६० वटा बाँदरको हुलले घेरा हालेर आक्रमण ग¥यो । बाँदरको आक्रमणबाट नैनावस्ती घाइते भए । उनको उनको पाखुरा र पिडुँलामा बाँदरको आक्रमणबाट गहिरो चोट लाग्यो । नजिकै रहेको धर्मार्थ अस्पतालमा बाँदरले टोकेपछि लगाउने रेविजको खोप नभएपछि उनी चितवनको भरतपुर अस्पताल गएर रेविजको खोप लगाएर फर्किए । अव भोलीबाट फेरी गाईको गोठ जाने आँट नैनावस्तीको छैन ।



देवघाटमा सोमबार विहान मात्रै चार जनालाई बाँदरले टोकेर घाइते बनाएको छ । नवलपुरको हर्दीबाट देवघाटमा पढ्न आउने अधिकांश विद्यार्थीहरु बाँदरको आक्रमणको डरले सोमबार विद्यालय आउन सकेनन् । उनीहरु हरेक दिन बाँदरको टोकाईको त्रास लिँदै विद्यालय आउने गरेका छन् ।
देवघाटमा बाँदरको टोकाईबाट दैनिक जसो सर्वसाधरण घाइते भईरहेका हुन्छन् । बाँदर आतंकले देवघाटबासीहरु आजित भएका छन् । बाँदरको आतंकबाट देवघाट घुम्न आएका सर्वसाधरण विशेषगरि महिला र बालबालिका बढि पीडित बनेका छन् । त्यस्तै कल्पक्षेत्रमा बसोबास गर्ने जेष्ठनागरिकहरु बाँदरको आतंकबाट दैनिक पीडित भईरहेका छन् । कोठाभित्र पसेर पकाउँदै गरेर खानेकुरा लिएर भाग्ने, फलफुल खोस्ने तथा प्रतिकार गरेमा टोक्ने जस्ता घटनाले बाँदरबाट देवघाटबासीहरु पीडित भईरहेका छन् । बाँदर आतंकको विरुद्ध स्थानीय प्रशासन र देवघाट क्षेत्र विकास समितिलाई पटक पटक गुहार मागेपनि कुनै सहयोग नपाईएको पीडितहरुको गुनासो छ ।
विभिन्न ठाउँबाट देवघाट घुम्न आएका भक्तजनहरु बाँदरको आतंकबाट डराएर अर्काे पटक देवघाट नआउने अवस्था पनि सिर्जना हुन सक्ने अवस्था रहेको एक सर्वसाधरणले बताए । बाँदर आतंकलाई समयमै नियन्त्रण गर्न देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिले विशेष कदम चाल्नु पर्ने देवघाटबासीको माग छ । समयमै बाँदर आतंक नियन्त्रण गर्न नसक्ने हो भने देवघाटको धार्मिक पर्यटनमा ठुलो असर पर्नसक्ने सरोकारवालाहरुले बताएका छन् ।

देवघाटमा बाँदरको आतंक बढेपछि यसअघि पाँच वर्षपछि देवघाट क्षेत्र विकास समितिको पहलमा बाँदर नियन्त्रण समिति गठन गरिएको थियो । देवघाटमा बाँदरले घरभित्र पसी खानेकुरा नष्ट गर्ने, कपडा च्यात्ने, आफूसँगै लैजाने, तीर्थयात्रीलाई टोक्ने, बारीको अन्नबाली नष्ट गर्ने लगायतको दुःख दिँदै आएपछि बाँदर नियन्त्रणको लागि समिति गठन गरिएको देवघाट क्षेत्र विकास समितिका तत्कालिन अध्यक्ष शिवराज पौडेलले बताए ।
बाँदरलाई व्यवस्थापन गर्न बाँदरमैत्री पार्क बनाउने, बाँदरलाई घेराबन्दी गरेर समाउने, समाएर बन्ध्याकरण गर्ने, धपाउने वा अन्य केही विकल्पबारे सोच्नुपर्ने पौडेलको भनाई छ । तर त्यस यता बाँदर आतकंको लागि कुनै काम भएको छैन । देवघाटधाम क्षेत्रमा हाल करीब तिन हजारको संख्या बाँदर रहेको देवघाट गाउँपालिका–५ का पुर्व अध्यक्ष यालबहादुर गुरुङले बताए ।
देवघाटमा बाँदरले टोकेमा लगाउनुपर्ने रेविजको खोप छैन । बाँदरको टोकाईबाट देवघाटमा महिनामा २० भन्दा बढि सर्वसाधरण बाँदरले टोकेको भन्दै देवघाट धर्मार्थ अस्पताल आउने उक्त अस्पतालका स्वास्थ्यकर्मीहरुले बताएका छन् । देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले देवघाटमा रेबिज खोप लगाउने दक्ष स्वास्थ्यकर्मी नभएको बताए ।
तालिमप्राप्त स्वास्थ्यकर्मीले मात्र रेबिजको खोप लगाउने हुँदा देवघाटमा तालिम प्राप्त स्वास्थ्यकर्मी नभएको बुढाथोकीले बताए । केही स्वास्थ्यकर्मीलाई रेबिज खोप सम्बन्धी तालिम दिनको गन्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेपनि त्यहाँबाट खबर नआएको बुढाथोकीले बताए । देवघाटमा बाँदरले टोकेको भन्दै आउने सबैलाई चितवनको भरतपुर अस्पतालमा रेफर गर्न बाध्य भएको बुढाथोकीले बताए ।












