दमौली, मंसिर १६
गृह मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय तनहुँ ७७ जिल्ला मध्ये ६१ औं नम्बरमा परेको छ । उक्त मुल्यांकनमा डडेलधुरा र पाल्पाले समान २९.०७५ नम्बर प्राप्त गरि सर्वाेत्कृष्ट भएका छन् । त्यस्तै २०.९०५ अंक प्राप्त गरि पर्सा जिल्ला सबैभन्दा कमजोर देखिएको छ ।



मन्त्रालयले बुधवार मात्रै सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१–८२ प्रथम त्रैमासिक नतिजामा ६१ औं नम्बरमा रहेको जिल्ला प्रशासन कार्यालय तनहुँले २६.५४४२ अंक प्राप्त गरेको छ । मुल्यांकनको अवधिमा तनहुँको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम रहेका थिए । गौतम हाल गुल्मी जिल्लाको प्रमुख जिल्ला अधिकारी रहेका छन् । तनहुँमा हाल श्यामकृष्ण थापा प्रमुख जिल्ला अधिकारी छन् ।
मन्त्रालयले तय गरेका विभिन्न सूचकलाई पुरा गरेका आधारमा मुल्यांकन गरिएको मन्त्रालयले जनाएको छ ।












