गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख ६

देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२ जना विद्यार्थी भर्नाको लागि आवेदन खुलाउँदा २३७ जनाले प्रवेश परिक्षा फारम भरे । तिनीहरु मध्येबाट प्रवेश परिक्षा र अन्तवार्ता मार्फत ३२ जना विद्यार्थी छनौट गरि उक्त गुरुकुलले आगामी शैक्षिक सत्रकोलागि नयाँ विद्यार्थी भर्ना गर्ने सुचना प्रकाशन गरेको छ ।

त्यसैगरि देवघाटमै रहेको बेद बेदाङ्ग संस्कृत विद्यापिठ र परमानन्द संस्कृत विद्यापिठले पनि आवश्यक संख्या भन्दा निकै बढि विद्यार्थीको आवेदन परेपछि प्रवेश परिक्षा लिएको थियो । देवघाटमा रहेका तिन वटै संस्कृत विद्यापिठ र गुरुकुलमा आवश्यक संख्या भन्दा निकै बढि विद्यार्थीको आवेदन परेको सम्बन्धित गुरुकुलहरुले जनाएका छन् । देवघाटका तिनवटै गुरुकुलले कक्षा ६ मा प्रत्येक वर्ष २५ देखी बढिमा ३५ जनासम्म विद्यार्थी भर्ना गर्छन् ।

पछिल्ला वर्षहरुमा संस्कृत शिक्षा वा गुरुकुल शिक्षामा अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्न थालेको देवघाटमा रहेका गुरुकुलहरुमा विद्यार्थीको थेगिनसक्नु चापले पनि पुष्टि हुन्छ । देवघाटका गुरुकुलहरु देशमै ख्याती प्राप्त रहेको कारण देशका अन्य गुरुकुल भन्दा देवघाटका गुरुकुलमा विद्यार्थीको आकर्षण यसैपनि बढ्ने गरेको छ ।

विगतमा संस्कृत अध्ययनका लागि पूर्वी नेपालबाट भारतको बनारस र वृन्दावन जाने प्रचलन थियो । भारतमा संस्कृतको उच्च शिक्षा लिने र नेपाल फर्केर पुराणलगायतका धार्मिक अनुष्ठानको नेतृत्व गर्ने कुरा अहिले पनि सामान्य लाग्छ । तर, समयको परिवर्तनसँगै नेपालमा संस्कृत पढ्न भारतबाट बटुकहरु आउन थालेका छन् ।

केही वर्षयता गुरुकुलमै बसेर संस्कृत पढ्न चाहनेहरुको संख्या बढिरहेको महेश संस्कृत गुरुकुलमका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले बताए । उक्त गुरुकुलले प्रत्येक शैक्षिक सत्रमा बढिमा ३२ जना मात्र विद्यार्थी भर्ना गर्ने भएकोले आवेदन दिएका जती सबैले भर्ना हुन नपाउने पौडेलले बताए । खान, बस्न र पढ्न कुनै शुल्क नलाग्ने भएकाले पनि अभिभावकहरुको रोजाइ गुरुकुल हुने गरेको छ । त्यसबाहेक संस्कृत भाषा र हिन्दू धर्मप्रतिको बढ्दो आकर्षणले समेत विद्यार्थीहरु गुरुकुल आउने पौडेलले बताए ।

देवघाटमा सन्चालित सबै गुरुकुलहरु दाताको भरमा नै सन्चालन हुँदै आएका छन् । राष्ट्रियता तथा विश्वबन्धुत्वको भावना विकास गर्नका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, सम्बद्र्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञान विज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले ति गुरुकुलहरु सञ्चालित छन् ।

गुरुकुल तथा संस्कृत विद्यापिठहरुले बटुकलाई सनातन धर्म, संस्कार र संस्कृतिका बारेमा ज्ञान दिँदै आएका छन् । देवघाटमा बटुककालागि महेश सन्यास आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकुल, गलेश्वर आश्रमले सञ्चालन गरेको वेद वेदाङ्ग संस्कृत गुरुकुल, हरिहर आश्रमले सञ्चालन गरेको परमानन्द संस्कृत गुरुकुल र बालिकाहरुको लागि माताजीले सञ्चालन गरेको माँ कल्याणी गुरुकुल सन्चालनमा छन् ।

देवघाटमा सन्चालित सबै गुरुकुलमा करिब सात सय बटुक अध्ययनरत रहेका छन् । प्रत्येक गुरुकुलमा करिब दुई सय २५ देखि ७५ सम्म बटुक अध्ययनरत छन् । महेश संस्कृत गुरुकुलमा शास्त्री र आचार्य (स्नातक र स्नातकोत्तर) पढाई भईरहेको महेश संस्कृत गुरुकुलका प्रधानाचार्य पौडेलले जानकारी दिए । त्यस्तै परमानन्द संस्कृत गुरुकुलमा पनि आचार्यसम्मको पठनपाठन पनि सुरु गरिएको छ । त्यस्तै वेद वेदाङ्गमा शास्त्रीसम्मको अध्यापन हुन्छ ।

ति सबै गुरुकुलले राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त गरी परीक्षामा सहभागी गराउँदै आएका छन् । शास्त्री तथा आचार्यका लागि नेपाल संस्कृत विश्वविद्यालय दाङबाट सम्बन्धन प्राप्त गरी अध्यापन भइरहेको छ । सबै गुरुकुल एउटै प्रकृतिका छन्, आवाससहित बटुकलाई अध्ययनको व्यवस्थापन गरिएको छ । ति सबै गुरुकुल दानदाताको भरमा सञ्चालित छन् ।

गुरुकुलको नियमित सञ्चालन र भौतिक विकास गरी दुई पाटोमा विभाजन गरी खर्चको व्यवस्थापन गरिएको छ । नियमित सञ्चालनतर्फ गुरु र कर्मचारीलाई तलब, बटुकलाई खान र शिक्षाका लागि खर्च छुट्याइन्छ भने भौतिक तर्फ पुर्वाधार निर्माणमा खर्च हुने गरेको छ । गुरुकुल सन्चालनको लागि महेश सन्यास आश्रम र गलेश्वर आश्रमले यस अघि २०७५ र २०७६ मा बृहत ज्ञान महायज्ञ आयोजना गरेका थिए । उक्त दुबै महायज्ञको तत्कालिन राष्ट्रपती विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिईन । उक्त महायज्ञबाट संकलित रकम गुरुकुल सन्चालन र भौतिक पुर्वाधार निर्माणमा खर्च गरिएको थियो ।

त्यसबाहेक दाताहरुलाई आग्रह गरि बटुकको एक वर्षकोलागि सबै खर्च व्यवस्थापन गर्ने गरि पनि सन्चालन गरिएको छ । केहीले अन्नदान पनि सहयोग गर्ने गरेको गलेश्वर आश्रमका व्यवस्थापक महेन्द्र प्याकुरेलले बताए । नेपाल सरकारले देवघाटका हरेक गुरुकुललाई बर्षेनी एक जना शिक्षक बराबरको अनुदान मात्र उपलब्ध गराएको छ । यसबाहेक गुरुकुललाई मूलधारको शिक्षामा जोड्न नेपाल सरकारको पाठ्यक्रमलाई समावेश गरिएको छ । संस्कृत विषय छुट्टै नभई मूलधारकै विषय भएको तर्फ सरकारको ध्यानाकर्षण हुनु पर्ने महेश सस्कृत गुरुकुलका प्राधानाचार्य पौडेलले बताए ।

महेश संस्कृत गुरुकुलमा भारतको काशी, बनारस लगायत विभिन्न ठाउँबाट पनि बटुकहरु अध्ययन गर्न आएका प्रधानाचार्य पौडेलले बताए । देवघाटधाममा सञ्चालित गुरुकुल पवित्र स्थलमा रहेकाले पनि यहाँको गुरुकुलमा भारतबाट बटुक संस्कृत शिक्षा लिन आउने गरेको उनको भनाई छ ।

देवघाटका गुरुकुलहरुः

बेदबेदाङ्ग संस्कृत विद्यापिठ

वैदिक सनातन धर्मसंस्कृति र संस्कृत वाङ्मय तथा वैदिक सनातन धर्मलाई संरक्षण गर्ने उद्देश्यले २०२३ साल पौष २७ गतेका दिन सिद्घयोगी ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) ले देवघाटमा श्री वेद वेदाङ्ग विद्यालयको स्थापना गरेका थिए । तपस्वी अष्टाङ्ग योगसिद्ध ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) ले आफ्नो साधनास्थलको रुपमा कालीगण्डकी नदीलाई पच्छ्याउने क्रममा वि.सं.१९८० सालमा म्याग्दीबाट देवघाट आई कुटी निर्माण गरी आश्रमको स्थापना गरेका थिए । सोही आश्रमलाई हाल गलेश्वर आश्रमको रुपमा चिनिन्छ ।

उनै गलेश्वर बाबाले संस्कृतिको आधारशिला संस्कृत वाङ्मय हो भन्ने मर्मलाई हृदयङ्गम गरी वैदिक सनातन धर्मबाट समस्त मानवजातिको कल्याण होस् भन्ने उद्देश्य राखी वि.सं. २०२३ साल पौष २७ गते पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) का दिन श्री वदे वेदाङ्ग विद्यालयको नामबाट गुरुकुलीय शिक्षापद्धति अनुसार संस्कृत पाठशालाको स्थापना गरेका थिए । विद्यालयको अभिलेख अनुसार यस विद्यालयले वि.सं.२०२४ साल चैत्र १२ गते अस्थायी अनुमति पाई गुरुकुलीय पद्धति अनुसार वेदाध्ययन गराउँदै आएको थियो । गुरुकुलीय शिक्षा पद्धतिलाई अवलम्बन गरी संस्कृत पाठशालाको रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्दै आइरहेको यो विद्यालय अहिले सार्वजनिक गुठी अन्तर्गत श्री गलेश्वर आश्रमबाट सञ्चालनमा रहेको छ ।

अस्थायी रूपपमा सञ्चालन भई पूर्ण गुरुकुलीय शिक्षण शैलीमा पाठशाला मात्र रहेको यस विद्यालयले २०५८ सालमा तत्कालीन श्री ५ को सरकार शिक्षा मन्त्रालयबाट कक्षा ८ सम्मको स्थायी अनुमति प्राप्त गरी कक्षागत विद्यालयीय पद्धतिमा सञ्चालन भयो । वि.सं. २०६३ मा कक्षा ९ र २०६४ सालमा कक्षा १० सम्मको स्थायी अनुमति प्राप्त गरी २०६४ सालबाट एसएलसी परीक्षा बोर्डमा आबद्ध भएको थियो । २०७५ सालबाट राष्ट्रिय परीक्षा बोर्डसँग सम्बद्ध हुने गरी स्थानीय निकायबाट अनुमति लिई कक्षा १२ सम्म संस्कृत व्याकरण, ज्योतिष, साहित्य आदि विषयसहितको आधुनिक शिक्षा पनि निःशुल्क रूपमा प्रदान गरिएको छ ।

करिब दश रोपनीको क्षेत्रफलमा श्री वेद वेदाङ्ग विद्यालय कक्षा ६ देखि कक्षा १२ सम्म सञ्चालनमा रहेको छ । सो स्थानमा तीनवटा भवनमा करिब २६ वटा कोठाहरू रहेका छन् । कार्यालय, कक्षा कोठा, आवास कोठा, पुस्तकालय लगायत शौचालय पनि पर्याप्त नै रहेको छ तर हाल विद्यार्थीको सङ्ख्यामा भएको उल्लेख्य वृद्धि र विद्यालयले अनुमति प्राप्त गर्न अघि बढेको शास्त्री तहको प्रक्रियालाई पनि मध्यनजर गरी अर्को करिब १५ रोपनी जग्गासहितको स्थानमा सुविधा सम्पन्न पुस्तकालय, कम्प्यूटर कक्ष, सभाहल र आवाससमेत व्यवस्थापन हुने गरी भूकम्प प्रतिरोधात्मक विशाल भवन निर्माण भएको छ भने करिब २५ रोपनी जग्गामा खेलमैदान समेत रहेको छ । ४ तले सो भवनमा ४० वटा कोठाहरू पूर्णरूपमा तयार भइसकेका छन् ।

महेश संस्कृत गुरुकुलम

देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल, प्राचीन पुराणहरुमा आदिप्रयाग हरिहर क्षेत्रका नामले वर्णित देवताहरुको तपोभूमी देवघाटधाममा रहेको महेश सन्यास आश्रममा वैदिक सनानतन धर्म र आर्य संस्कृतिको संरक्षण, संवद्र्धन एवं संस्कृत विद्याको प्रचार–प्रसार गर्ने मूल उद्देश्यका साथ अनन्त श्रीविभूषित स्वामी महेशानन्द गिरिजी महाराजको आशिर्वाद तथा ब्रह्मनिष्ठ श्री १००८ स्वामी सच्चिदानन्द सरस्वती (खप्तड बाबा) को प्रेरणाबाट आश्रमका संस्थापक अध्यक्ष डा.स्वामी रामानन्द गिरिजी महाराजको सङ्कल्पमा वि.सं.२०५२ सालबाट शैक्षिक संस्थाको रूपमा महेश संस्कृत गुरुकुलको स्थापना र सञ्चालन भएको हो । संस्थापक स्वामीको संस्कृत शिक्षाप्रतिको विशेष अनुरागबाट स्थापित यस गुरुकुललाई नेपाल सरकारको प्रचलित शिक्षा ऐन तथा नियमावली अनुसार संस्थागत निजी शैक्षिक गुठीको रूपमा सम्बद्ध सरकारी निकायमा दर्ता गरी नियमित सञ्चालन गरिँदै आएको छ ।

महेश संन्यास आश्रम अन्तर्गत सञ्चालित यस गुरुकुलमा प्राचीन गुरुकुलको मर्यादालाई अनुसरण गर्दै वेद वेदाङ्ग लगायत पौरस्त्य वाङ्मयको शिक्षा दिने व्यवस्था गरिएको छ । जस अन्तर्गत आधारभूत तहदेखि स्नातकोत्तर र विद्यावारिधि तहसम्मको औपचारिक अध्ययन–अध्यापनको व्यवस्था एकै प्राङ्गणबाट उपलब्ध हुँदै आएको छ । कक्षा ६ बाट प्रारम्भ हुने गुरुकुलीय शिक्षाको आधारभूत तह नेपाल सरकारद्वारा निर्धारत गुरुकुलीय पाठ्यक्रममा आधारित भएर सञ्चालित छ भने उच्च तहमा नेपाल संस्कृत विश्वविद्यालयको पाठ्यक्रम अनुसारको अध्ययन–अध्यापन सञ्चालन भईरहेको छ ।

उक्त गुरुकुलमा हाल देशका सुगमदेखि दुर्गमसम्मका ५४ भन्दा धेरै जिल्लाका मेधावी ३ सय छात्रहरूले आवासीय सुविधासहितको निःशुल्क पूर्ण शिक्षा प्राप्त गरिरहेका छन् । गुरुकुलबाट उत्पादित जनशक्ति देशका प्राज्ञिक, शैक्षिक, प्रशासनिक, धार्मिक एवं शान्ति–सुरक्षाका महत्त्वपूर्ण पद र प्रतिष्ठाहरूमा रहेर राष्ट्र र समाजको सेवामा समर्पित भइरहेका छन् । उक्त आश्रममा गुरुकुल तहको शिक्षणकोलागि उपप्राध्यापक फणिन्द्रप्रसाद पौडेल प्रधानाचार्य रहेका छन् । पौडेलको नेतृत्वमा गुरुकुल (मावि) तहको शिक्षकहरुको टिम रहेको छ भने विद्यापिठ तहको लागि रमणान्द गिरी पिठाधिश, मधुसुदनान्द गिरी संरक्षक र उपप्राध्यापक कमल सुवेदी प्राचार्य रहेको अध्यापकहरुको टिम रहेको छ ।

देवघाट गाउँपालिका वडा नम्बर ५ मा महेश सन्यास आश्रमको नाममा खरिद गरिएको ६५ रोपनी जमिनमा आश्रमका गतिविधिहरु सञ्चालित छन् । उक्त भुमीमा विभिन्न प्रयोजनका भवन, बगैचा, खेलकूद मैदान एवं कृषि उत्पादनमा प्रयोग गरिएको छ । यस महेश संस्कृत गुरुकुलको पूर्वाधार निर्माणका क्रममा विभिन्न कार्यका लागि विभिन्न भौतिक संरचनाहरू निर्माण गरिएका छन् ।

परमानन्द संस्कृत विद्यापिठ

परमानन्द संस्कृत गुरुकुल वि.सं.२०२८ सालमा गुल्मी जिल्लाबाट प्रारम्भ भएको हो । परमानन्द संस्कृत गुरुकुलको नाममा हाल दर्जनभन्दा बढी गुरूकुल सञ्चालित छन् । ऋषि महर्षिहरुको तपस्थल शालिग्रामगर्भा श्रीकृष्णगण्डकीको प्रवाहले परमपवित्र देवघाटधाममा श्री १००८ स्वामी परमानन्द सरस्वती महाराजले २०४५ सालमा हरिहर सन्यास आश्रमको स्थापना गरेका थिए । श्री १००८ स्वामी परमानन्द सरस्वती महाराज वि.सं २०५३ साल माघ १८ गते ब्रह्मलीन हुनुभएपछि उनका प्रमुख उत्तराधिकारी श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज श्री हरिहर सन्न्यास आश्रम देवघाटधामको पीठाधीश भए । उनै श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले देवघाटधाममा वि.सं २०५९ सालमा श्री परमानन्द संस्कृत गुरूकुलम्को स्थापना गरेका थिए ।

देशका विभिन्न जिल्लामा सन्चालित दर्जन भन्दा बढि परमानन्द संस्कृत विद्यापिठ नेतृत्व देवघाट स्थित विद्यापिठले गरेको छ ।
नेपाल सरकारको शिक्षानीतिसँग संयोजन गरी प्राचीन गुरूकुलीय पद्धतिअनुरुप सन्त–महात्मा एवं विशिष्ट विद्वान् अनुभवी गुरूकुलहरुको सान्निध्यमा कक्षा ६ देखि शास्त्री तहसम्म आवासीय रुपमा करिब तिन सय छात्रहरुलाई आधुनिक शिक्षाको साथमा वैदिक दर्शन, संस्कार, संस्कृति र संस्कृत अध्यापन गराउँदै आएको छ । निकट भविष्यमा आचार्यतह सञ्चालन गर्ने र यस गुरूकुललाई पौरस्त्य वाङ्मयको अनुसन्धान केन्द्र बनाई न्यूनतम हजार छात्रहरुलाई आवासीय रुपमा राखी अध्यापन गराउने योजना समेत रहेको छ ।

गुरुकुलीय पद्धति अनुसार सञ्चालित गुरूकुलमा हाल आवास तथा भोजन सहित निःशुल्क रुपमा नेपालका सबै क्षेत्रबाट करिब तीन सय विद्यार्थीहरुले सन्त–महात्मा एवं विशिष्ट विद्वान् अनुभवी गुरूहरुको सान्निध्यमा आधुनिक शिक्षाको साथ–साथमा वैदिक दर्शन, संस्कार, संस्कृति र संस्कृतशिक्षाको अध्ययन गरिरहेका छन् । नेपाल सरकारको शिक्षानीतिसँग आबद्ध भई (गुरूकुलीय पद्धतिको पाठ्यक्रम) कक्षा ६ देखि १२ सम्मको र नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी शास्त्री तहसम्मको पठनपाठन सञ्चालन हुँदै आइरहेको छ । यो विद्यापीठ हरिहर संन्यास आश्रमद्वारा सञ्चालित छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय