कालीगण्डकीको महिमा बताउन ‘गन्डकी विमर्श’ कार्यक्रम

Devghat Online

शेयर गरौ

देवघाट । असार १९

तनहुँ देवघाटधामको महेश संन्यास आश्रमको आयोजनामा गत जेठ २२ गतेदेखि असार १५ गतेसम्म भएको कालीगण्डकी पदयात्राको महत्व तथा कालीगण्डकीको महिमा बताउन ‘गन्डकी विमर्श’ कार्यक्रम आयोजना गरियो ।

देवघाटबाट निस्किएको पदयात्रा टोली २५ दिनपछि असार १५ गते दामोदर कुण्ड पुगेको थियो । भोलिपल्ट दामोदर कुण्डमा धार्मिक अनुष्ठान गरेर फिर्ता भएको टोली बुधबार साँझ देवघाट आइपुगेको थियो । बिहीबार बिहान महेश संन्यास आश्रममा पदयात्रा टोलीले ‘गण्डकी विमर्श’ लगायतका कार्यक्रमहरू गर्दै कालीगण्डकीको महत्त्व र अहिलेको अवस्थाका बारेमा चर्चा गरेको थियो ।

महेश संन्यास आश्रमका पीठाधीश तथा नेपाल सन्त समाजका उपाध्यक्ष स्वामी रमणानन्द गिरिको नेतृत्वमा देवघाटबाट पैदलयात्रा सुरु हुँदा ६० जना सहभागी रहेका थिए । तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, गुल्मी, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी हुँदै अन्तिम बिन्दु मुस्ताङको दामोदर कुण्ड पुग्दासम्म टोलीका सदस्य ७८ जना पुगेको पदयात्रा संयोजक फणिन्द्र पौडेलले जानकारी दिए ।

‘कालीगण्डकीसँगै २५/२६ दिन पैदल हिँड्दा नदीको अवस्था, वरपरको सामाजिक जनजीवन तथा धार्मिक, प्राकृतिक क्षेत्रको बारेमा राम्रो जानकारी बटुल्ने प्रयास गरेका थियौं,’ बिहीबार बिहानको ‘गण्डकी विमर्श’ कार्यक्रममा संयोजक पौडेलले भने । पौडेलले स्याङ्जा–पाल्पा सिमानास्थित राम्दीभन्दा तलका बासिन्दामा कालीगण्डकी–तिनाउ डाइभर्सनले नदीको भविष्य र जैविक–सामाजिक जीवन खल्बलिने चिन्ता बढेको बताएका थिए ।
राम्दीमाथि मिर्मीसम्म जलविद्युत् आयोजनाले पानी सुकाउँदा वरपरको तीर्थस्थल र कृषि प्रणालीमा आघात पुगेको पौडेलले सुनाए । ‘जलविद्युत् आयोजनाले निश्चित मात्रामा पानी छोड्नुपर्ने सर्त भए पनि त्यो पालना नगरी पानी पूरै थुन्ने गरिएको देखियो,’ उनले भने । त्यसमाथिको खण्डमा जलयात्राका लागि उच्च बाँध बनाउने चर्चा चलेको र त्यसो भएमा १०७ वटा मठमन्दिर डुबानमा पर्ने खतरा बढेको उनले बताए ।

उनीहरू बाटो बनाउन शालिग्राम राखिएको देख्दा दुःखी भएका र सके जति शालिग्राम उठाएर नदीमा फिर्ता पठाएको उनले सुनाए । ‘माथि बाटो बन्दै गरेको ठाउँमा शालिग्राम देख्दा मन दुख्दो रहेछ । हामीले सके जति शालिग्राम बटुल्दै नदी गर्भमा फर्कायौं । यो यात्रा शालिग्राम उद्धार यात्रा जस्तै भयो । कागबेनीमाथि करिब ७२ किलोमिटरसम्म शालिग्राम उद्धार यात्रा चल्यो,’ उनले भने ।

पौडेलले दामोदर कुण्डदेखि देवघाटसम्म कालीगण्डकीको तीन स्वरूप देखिएको पनि बताए । ‘हाम्रो आध्यात्मिक, धार्मिक दृष्टिले यो नदीमा काली, लक्ष्मी र सरस्वती गरी तीन स्वरूप देख्यौं । माथिल्लो खण्डमा यो नदी निकै उर्लिएको छ । यसको आवाज र गडगडाहट यस्तो छ कि हामी बोलेको सुन्न गाह्रो पर्छ, त्यो काली रूप हो,’ उनले भने ।

म्याग्दीदेखि तल झर्दै जाँदा कालीगण्डकीले लक्ष्मीको स्वरूप लिएर १० वटा जलविद्युत् आयोजनामार्फत सरकार र समाजलाई समृद्ध बनाउने प्रयास गरिरहेको उनले बताए । त्यसपछि तल्लो खण्डमा काली शान्त भएर बग्ने उनले बताए ।

‘माथिल्लो खण्डमा कालीको आवाजले हामीले बोलेको सुनिँदैन, तल्लो खण्डमा कालीको आवाजै आउँदैन, शान्त छ । त्यो ज्ञान हो, र ज्ञान भनेको सरस्वती हो । त्यसैले हामीले कालीलाई तीन स्वरूपमा देख्यौं,’ पौडेलले भने । हिजोको पुस्ताले कालीगण्डकीको महत्त्व बुझ्ने र पूज्ने गरे पनि अहिले दोहन गर्ने प्रवृत्ति हाबी हुँदै गएको किनारमा रहेका क्रसरहरूबाट प्रस्ट देखिएको उनले बताए ।

‘कालीगण्डकी नदी सभ्यताको स्रोत हो । यहाँको सामाजिक जनजीवन समृद्ध छ । आतिथ्य र सेवा–सत्कारका लागि हरदम तयार रहने समाज भेटियो । हामी पैदल हिँड्दा बाटो लामो लाग्यो । तर यातायातबाट जाँदा २७५ किलोमिटरभित्र अद्भुत भूगोल, हावापानी र समाज भेटिन्छ । पर्यटन फस्टाउन सक्छ,’ पौडेलले भने ।

महेश संन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिले कालीगण्डकीको धार्मिक र सांस्कृतिक महत्वको संरक्षण गर्नु आफूहरूको उद्देश्य भएको बताए । कालीगण्डकी दक्षिण एसियाली क्षेत्रकै केन्द्रीय नदी हो र यही सभ्यताको आधारसमेत भएको गिरिको भनाइ थियो । पदयात्रा सम्पन्न भए पनि नदी संरक्षणका धेरै काम बाँकी नै रहेको उनले बताए । ‘भेटिएका हरेक भक्त र नीतिनिर्माण तहका पालिकाका अधिकारी, पदाधिकारीहरूलाई कुरा राखिएको छ । यसले परिणाम पनि देला, नभए अभियान चलाउँदै जानुपर्छ,’ उनले भने ।

नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष तथा देवघाटको हरिहर संन्यास आश्रमका पीठाधीश स्वामी ज्ञानानन्द सरस्वतीले बेलैमा ध्यान नदिए कालीगण्डकीको पनि बागमती वा भारतका केही ठूला नदीसरह दुर्गति हुने बताए ।

उनले नदी दुर्गन्धित नहोस् भनेर तटीय क्षेत्रका हरेक पालिकाले ध्यान दिनुपर्ने र सर्वसाधारणले खबरदारी गर्नुपर्ने बताए । ‘नदी र यसको सभ्यताको अस्तित्वै नरहने गरी दोहन भइरहेको छ । शालिग्रामको महत्व बुझ्ने विश्वभरका सनातनीलाई यहाँ ल्याउने वातावरण छैन । धार्मिक धरोहरको रक्षा आर्थिक उन्नतिसँग पनि जोडिएको छ भन्ने चेत यहाँका शासकमा छैन,’ स्वामी ज्ञानानन्द सरस्वतीले भने । इकान्तीपुरबाट

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी