तनहुँ । असार २४
देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा समुहमा आवद्ध महिलाहरुको लागि क्षमता तथा नेतृत्व विकास तालिम मंगलबारबाट सुरु भएको छ ।




देवघाट–४ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सभाहलमा आयोजित उक्त तालिमको सामुदायिक वन महासंघ देवघाट स्थानीय महासंघका अध्यक्ष प्रविण कार्कीले उद्घाटन गरे । सो अवसरमा उनले सामुदायिक वनको नेतृत्वमा रहने महिलाहरुले आफ्नो क्षमता तथा नेतृत्वको विकास गर्नुपर्ने बताए ।

मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम गिरीको अध्यक्षतामा आयोजित उक्त तालिम उद्घाटन कार्यक्रममा देवघाट महिला सन्जालकी अध्यक्ष राधा खनाल, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष सावित्री न्यौपाने, रानीवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टुकनाथ अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सन्चालन वन समुहका सल्लाहाकार केशवचन्द्र न्यौपानेले र स्वागत मन्तव्य उपाध्यक्ष कमला देवकोटाले गरेकी थिइन् ।


३ दिनसम्म चल्ने सो तालिममा लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराई र सामुदायिक वन उपभोक्ता महासंघ गन्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले प्रशिक्षण दिनेछन् । तालिममा ३० जनाको सहभागिता रहेको छ ।

















