तनहुँ । मंसिर २३
प्रदेश अस्पताल दमौलीको व्यवस्थापन समितिको अध्यक्षमा व्यास नपा–४ निवासी बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले नियुक्त भएका छन् । मंगलबार बसेको गन्डकी प्रदेशको मन्त्रीपरिषद् बैठकले वाग्लेलाई प्रदेश अस्पताल दमौलीको अध्यक्षमा नियुक्ती गरेको हो । मन्त्रीपरिषद बैठकले एकैपटक ११ वटै अस्पतालमा व्यवस्थापन समिति गठन गरेको हो ।



यसअनुसार दमौली अस्पतालमा वाग्ले, लेखनाथस्थित जनरल तथा सरुवा रोग अस्पतालमा ऋषिराज जमरकट्टेल, बागलुङको बुर्तिबाङ अस्पतालमा कमल भुसाल, पर्वत अस्पतालमा यामबहादुर नेपाली, र धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा श्रीप्रसाद शर्मालाई अध्यक्ष नियुक्त गरिएको छ ।
यस्तै, बेनी अस्पतालमा डेकबहादुर बानियाँ, मध्यबिन्दु अस्पतालमा बालकृष्ण घिमिरे, मुस्ताङ अस्पतालमा तेन्जिङ थकाली, लमजुङ अस्पतालमा विजय गुरुङ, स्याङ्जा अस्पतालमा दिलकुमार भुजेल र मनाङ अस्पतालमा अर्विन गुरुङ नियुक्त भएको सरकारका प्रवक्ता डा. टकराज गुरुङले जानकारी दिए ।
कांग्रेसको सिफारिसमा ६ जना र एमालेको सिफारिसमा ५ जना गरी ११ वटा अस्पतालमा अध्यक्ष नियुक्त भएका हुन् । कांग्रेसले मध्यबिन्दु, लमजुङ, दमौली, पर्वत, मुस्ताङ र बुर्तिबाङ अस्पतालको नेतृत्व लिएको छ भने एमालेले धौलागिरी अस्पताल, बेनी, मनाङ, स्याङ्जा र लेखनाथको जनरल तथा सरुवा रोग अस्पतालको नेतृत्व पाएको छ ।
प्रदेश सरकार मातहत हाल १४ वटा अस्पताल र २ वटा आयुर्वेद अस्पताल छन् । सरकारले बनाएको नयाँ गठन आदेशअनुसार एक सय शय्याको अस्पतालमा स्नातक तह उत्तीर्ण भई सम्बन्धित जिल्लामा स्थायी बसोबास गर्ने व्यक्तिलाई अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ ।
९ सदस्यीय यस्ता समितिका सदस्यहरूमा अस्पताल रहेको स्थानीय तहको प्रमुख वा निजले तोकेको कार्यपालिका सदस्य, कम्तीमा स्नातक तह उत्तीर्ण सम्बन्धित जिल्लाको व्यक्तिबाट मन्त्रालयले मनोनीत गरेको एक महिलासहित दुई जना, जिल्ला प्रशासन कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयको अधिकृत प्रतिनिधि, समितिले मनोनीत गरेको अस्पतालमा कार्यरत स्थायी विशेषज्ञ चिकित्सकबाट एकजना, अस्पतालको नर्सिङ प्रमुख, र सदस्य सचिवका रूपमा मेडिकल सुपरिन्टेन्डेन्ट रहनेछन् ।
यस्तै ५० शैयाको अस्पतालमा स्नातक तह उत्तीर्ण भई सम्बन्धित जिल्लामा स्थायी बसोबास गर्ने व्यक्ति अध्यक्ष हुनेछन्, यसमा ९ सदस्यीय समिति गठन हुनेछ, जसका सदस्यहरूमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण व्यक्तिमध्ये १ महिलासहित २ जना रहनेछन् । २५ शैयासम्मका अस्पतालमा सम्बन्धित जिल्लामा स्थायी बसोबास गर्ने व्यक्तिबाट प्रदेश सरकारले मनोनीत गरेको व्यक्ति अध्यक्ष हुने व्यवस्था छ । यसका सदस्यहरू मन्त्रालयले तोकेका व्यक्तिहरू हुनेछन् ।












