तनहुँ । असार ३१
बन्दीपुर गाउँपालिका र बन्दीपुर अस्पतालको आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । बन्दीपुर गाउँपालिकासँगै बन्दीपुर अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन, पारदर्शिता सुशासन कायम गर्नका निम्ति सार्वजनिक सुनवाई गर्नुपर्ने व्यवस्था भए अनुसार बुधबार बन्दीपुर गाउँपालिकाको आयोजना र मध्य नेपाल ब्रोड कास्टिङ प्रालीको समन्वयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।




कार्यक्रममा गत चार महिनामा भए गरेका विभिन्न गतिविधि प्रगति प्रतिवेदन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले उपस्थिति भएका व्यक्तिहरू माझ प्रस्तुत गरेका थिए भने अस्पतालको तर्फबाट अस्पतालमा कार्य सम्पन्न विवरणबारे बन्दीपुर अस्पतालका मेडिकल सुपरटेन्डेन्ट डाक्टर अनिल गिरीले जानकारी दिएका थिए ।
कार्यक्रममा सहभागीले उठाएका जिज्ञासाहरू अधिकांश गाउँपालिकामा पूर्वाधार स्वास्थ्य शिक्षा कृषि पर्यटन स्वर व्यवस्थापन सरसफाई लगायतका सँग जोडिएका विषयवस्तु रहेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सार्वजनिक सुनुवाइ नागरिकप्रति स्थानीय सरकारको उत्तरदायित्व र प्रतिबद्धताको महत्वपूर्ण अभ्यास भएको उल्लेख गर्दै कार्यक्रममा उठेका सबै सुझाव, प्रश्न र गुनासाहरूलाई गम्भीरतापूर्वक कार्यान्वयन गरिने बताए । उनले विगतका कमीकमजोरीलाई सुधार गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने तथा बन्दीपुर गाउँपालिकालाई सुशासित, समृद्ध र नागरिकमैत्री स्थानीय सरकारका रूपमा विकास गर्न सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले स्थानीय सरकार नागरिकप्रति उत्तरदायी हुनुपर्ने मान्यतालाई सार्वजनिक सुनुवाइले व्यवहारमा उतारेको बताउँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक, कृषि, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रलाई समेट्ने समावेशी विकासलाई प्राथमिकतामा राखेर काम गरिने बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले सार्वजनिक सुनुवाइ स्थानीय सरकारको पारदर्शिता, जवाफदेहिता र सुशासनलाई सुदृढ बनाउने महत्वपूर्ण माध्यम भएको बताउँदै प्राप्त सुझाव तथा गुनासाहरूलाई समेटेर आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाइने जानकारी दिए ।
वडा नम्बर ५ का वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले सार्वजनिक सुनुवाइले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्धलाई अझ बलियो बनाउने अवसर प्रदान गरेको उल्लेख गर्दै कार्यक्रममा उठेका पूर्वाधार, कृषि, सरसफाइ, पर्यटन तथा स्थानीय विकाससँग सम्बन्धित सुझाव र गुनासाहरूलाई गाउँपालिकाले गम्भीरतापूर्वक लिएको बताए ।

बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अनिल गिरीले सीमित स्रोतसाधनका बाबजुद नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै सार्वजनिक सुनुवाइका क्रममा उठेका सुझावलाई सकारात्मक रूपमा ग्रहण गरी सेवा प्रवाहलाई अझ प्रभावकारी र बिरामीमैत्री बनाइने बताए ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा वडाध्यक्षहरू वडा नम्बर १ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठ वडा नम्बर २ का वडाध्यक्ष तिलकबहादुर कुँवर, वडा नम्बर ३ का अध्यक्ष परमेश्वर भट्टराई वडा नम्बर ४ का दानबहादुर थापा वडा नम्बर ५ का अध्यक्ष ध्रुवप्रसाद लामिछाने यसैगरी वडा नम्बर ६ का अध्यक्ष बलबहादुर गुरुङ लगायत कार्यपालिका सदस्य गाउँसभा सदस्य तथा बन्दीपुर गाउँपालिकाका विभिन्न शाखाका प्रमुख लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो भने प्रश्न तथा सुझावकर्ताको रुपमा बन्दीपुर गाउँपालिकाका विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि विभिन्न सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधि पूर्व जनप्रतिनिधिहरु स्थानीय समुदाय प्रहरी एवं पत्रकारसमेतको उपस्थिति रहेको थियो ।












