खै कहाँ छन् तनहुँका वेपत्ता पारिएका नागरिकहरु ?

Devghat Online

शेयर गरौ

आज बलपुर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तराष्ट्रिय दिवस

दमौली, भदौ १३

आज बलपुर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तराष्ट्रिय दिवस । अगष्ट ३० अर्थात् बलपूर्वक बेपत्ता पारिएको व्यक्तिहरूको सम्झानामा विश्वभर मनाईने अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि आज यो दिवस मनाइदैछ । यो दिवस मनाउने क्रम सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट सुरूआत भएको हो ।

संयुक्त राष्ट्र संघको महासभाबाट सन् १९९२ डिसेम्बर १८ को प्रस्ताव ४७÷१३३ द्वारा जारी बलपूर्वक बेपत्ताबाट सबै व्यक्तिको बचाउ गर्नेसम्बन्धी घोषणापत्रलाई पारित गर्दै बलपूर्वक बेपत्ता पारिनबाट सबै व्यक्तिहरूको संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २००६ जारी भएको हो । गोप्य तवरले थुनामा राख्ने वा बेपत्ता बनाइने कार्य मानव अधिकारको ठाडो उल्लघंन हुने व्याख्या मानव अधिकारीको विश्वव्यापी घोषणपत्र १९४८ ले गरेको छ ।

नेपालमा १० वर्षे लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र तत्कालीन विद्रोही माओवादीबाट ठूलो सङ्ख्यामा नागरिक बेपत्ता पारिएको थियो । २ ०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा राज्य र बिद्रोही पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको अवस्थाका बारेमा ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारलाई जानकारी गराउने भनी गरिएको प्रतिबद्धता सम्झौता भएको १७ वर्ष पुरा हुँदा पनि पूरा भएको छैन ।

तनहुँमा पनि द्वन्द्वको क्रममा ३० भन्दा बढि नागरिक वेपत्ता बनाईएको भन्दै वेपत्ता छानविन आयोगमा उजुरी परेको छ । तर इन्सेक लगायत मानवअधिकार संस्थाको तथ्यांकमा १६ जना नागरिक वेपत्ता भएका छन् ।

द्वन्द्वको क्रममा खैरेनीटारका श्रीराम घिमिरे २०५६ बैशाख १ गते, भानु फुस्रेटारकी विजया बुढाथोकी २०६० चैत २ गते, दुलेगौंडाका दिलबहादुर लम्साल २०५९ साउन ४ गते, जामुनेका ईश्वर काफ्ले २०६० असोज १६ गते, घाँसिकुवा बेलघारीकी कल्पना पन्त २०५५ मंसिर २२ गते, माझकोटका कामराज थापा २०५५ पुस २९ गते, बरभन्ज्याङका केशव सिंह ठकुरी २०५५ पुस २९ गते, साभुङ भगवतीपुरका कृष्ण श्रेष्ठ २०५५ पुस २९ गते वेपत्ता भएका थिए ।

त्यसैगरि भिमाद किहुँकी मधुमालती लम्साल २०५६ बैशाख १ गते, भानु मिर्लुङका नारयण पण्डित २०५६ बैशाख १ गते, भानु २ नारेश्वरटारकी पार्वती पौडेल २०५५ मंसिर २२ गते, भानु नारेश्वरटारका रामचन्द्र मिश्र २०५५ पुस २९ गते, घाँसिकुवा बेलभन्ज्याङकी सरस्वती अधिकारी २०५५ मंसिर २२, व्यास १० पोख्रेलफाँटका बसन्त पोख्रेल पोख्रेल २०५५ मंसिर ३०, रिस्तीकी चिजा विक २०५६ साउन ८ गते तथा जामुनेका अरुण नेपाली २०६१ सालमा वेपत्ता भएको थिए । उनीहरु सबैको अवस्था हालसम्म पनि अज्ञात नै रहेको छ । राज्य र बिद्रोही पक्षले उनीहरुको अवस्था सार्वजानिक गर्न खासै ध्यान दिएका छ्र्रैनन् ।

आज बलपुर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तराष्ट्रिय दिवस समेत भएको हुँदा द्वन्द्वको क्रममा वेपत्ता पारिएका नागरिकका आफन्तले वेपत्ता भएका व्यक्तिको अवस्थाको बारेमा राज्यले यथार्थ जानकारी दिनु पर्ने माग गरेका छन् । वेपत्ता नागरिकका एक आफन्तले अवस्था जे जस्तो भएपनि राज्यले सार्वजानिक गर्नु पर्ने बताए ।

तत्कालिन द्वन्द्वरत विद्रोही पक्ष नेकपा माओवादी केन्द्रको नेतृत्वमा हाल सरकार सन्चालन भएको हुँदा वर्तमान सरकारले वेपत्ता नागरिकहरुको मुद्धालाई प्राथमिकतामा राखेर उनीहरुको अवस्था सार्वजानिक गर्नु पर्ने आफन्तहरुको माग रहेको छ । द्वन्द्वको क्रममा वेपत्ता पारिएका व्यक्तिहरु अव जिवित फर्कने आशा त आफन्तहरुले मारिसकेका छन् । तै पनि राज्यले नै यसको बारेमा सार्वजानिक गरिदिएमा ढुक्क हुने वेपत्ता नागरिकका एक आफन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू