दमौली, फागुन १५
मंगलबार ४२ औं मगर दिवसको अवसरमा तनहुँका विभिन्न स्थानीय तहमा विभिन्न कार्यक्रमको आयोजना गरियो ।
नेपाल मगर संघको जिल्ला समन्वय समितिको आयोजनामा दमौलीमा कार्यक्रम आयोजना गरियो । संघका अध्यक्ष खडग पुन थापाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा गन्डकी प्रदेश सभाकी उपसभामुख बिना मगर, नेपाल मगर संघ केन्द्रिय निर्वाचन विभागका प्रमुख सिद्धान्त गर्जा मगर लगायतले सम्बोधन गरेका थिए ।
दमौलीमा आयोजित कार्यक्रममा बोल्दै मगर समुदायका अगुवाहरुले व्यास नगरपालिकाले मगर दिवसको अवसरमा बिदा नदिएको विषयमा आपत्ती जनाएका थिए । उनीहरुले व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेलाई मगर जातीको भोट चाहिने तर मगर दिवस नचाहिने हो भन्ने प्रश्न गरिएको नेपाल मगर संघ केन्द्रिय निर्वाचन विभागका प्रमुख सिद्धान्त गर्जा मगरले बताए ।
तनहुँका आठ वटा स्थानीय तहले मगर दिवसमा बिदा दिएपनि व्यास नगरपालिका र आबुँखैरेनी गाउँपालिकाले मात्र बिदा नदिएकोमा मगर समुदायले आपत्ती जनाएको उनले बताए । तनहुँमा सबैभन्दा धेरै मगरजाती भएपनि दुई स्थानीय तहले मगर समुदायको भावनामा चोट पु¥याएको गर्जा मगरले बताए ।
यसैगरि बन्दिपुरमा पनि मगर दिवस मनाईयो । सो कार्यक्रममा प्रमुख अतिथी बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, निवर्तमान अध्यक्ष पुर्णसिंह थापा मगर तथा नेपाल मगर संघ केन्द्रिय निर्वाचन विभागका प्रमुख सिद्धान्त गर्जा मगर रहेका थिए ।
त्यसैगरि देवघाट गाउँपालिकाको कोटामा आयोजित मगर दिवसको कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले मन्तव्य राखेका थिए । त्यसैगरि घिरिङ गाउँपालिकामा पनि मगर दिवसको कार्यक्रम आयोजना गरियो । वडा नम्बर १ को अत्रौलीमा मगर दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।
२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा नेपाल लाङ्घाली परिवार संघको स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउन थालिएको हो । यो कुनै चाड नभएर मगर जातीहरु संगठित भएको दिन हो । २०३९ मा मगर संघको पहिलो महाधिवेशन भए तापनि त्यस अघिदेखि नै मगरहरु विभिन्न ढंगले संगठित हुँदै आएको तथ्यांक पाइन्छ । तर संस्थागतरुपा मगर संघको स्थापना भएको दिनलाई मगर दिवसको रुपमा मनाउने गरिएको पाईन्छ ।
मगरजातीले फागुन १५ मा सार्वजनिक बिदा, लखन थापालाई राष्ट्रिय विभूति, मगर समुदायको भाषा, संस्कृति संरक्षणमा उचित बजेट र आईएलओ १६९ लगायत अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरुको पूर्ण पालना गर्नुपर्ने माग गर्दै आएका छन् । स्थापना दिवसमा मगर जातीका बासिन्दाले भेषभुषाको झाँकीसहित बृहत ¥याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाचसहित विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।
आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको गुनासो मगर समुदायको छ । वि.सं. २०३९ फागुन १४, १५ देखि १६ गते तनहुँको दमौलीमा पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीचमा हजारौं मगर समुदायको उपस्थितिमा ‘नेपाल लाङ्घाली परिवार संघ’ को ऐतिहासिक प्रथम महाधिवेशन भव्यताका साथ सम्पन्न भएको थियो । सोही दिनको स्मरणमा फागुन १५ गतेलाई संघको स्थापना दिवसको रूपमा मनाउने गरिन्छ । जसलाई मगर दिवस पनि भनिन्छ ।
२०४८ को चौथो महाधिवेशनले ‘नेपाल लाङ्घाली परिवार संघ’लाई नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ मा रूपान्तरण गरेको थियो । मगर दिवसको अवसरमा सम्पुर्ण मगर समुदायहरुलाई हार्दिक शुभकामना । आजको दिनले मगरजातीको ऐतिहाँसिकता तथा उनीहरुको कला र संस्कृति संरक्षणकोलागि काम गर्ने प्रेरणा पैदा गरोस् । मगर दिवसको अवसरमा तनहुँको भानु नगरपालिका, शुक्लागन्डकी नगरपालिका, भिमाद नगरपालिका तथा देवघाट, बन्दिपुर, म्याग्दे, घिरिङ र ऋषिङ गाउँपालिकाले पालिकाभित्र स्थानीय बिदा दिएका थिए ।