चुँदीरम्घालाई राष्ट्रिय एकता र तीर्थस्थल बनाउन जोड

Devghat Online

शेयर गरौ

काठमाडौं, फागुन १६

राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई सिङ्गो नेपालको प्रतिबिम्ब झल्कने गरी राष्ट्रिय एकताको केन्द्र र संसारभरिका नेपाली एकचोटी पुग्नुपर्ने साहित्यिक तीर्थस्थलका रूपमा विकास गरिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

भानु साहित्य उद्यानको सहकार्यमा भानु नगरपालिकाद्वारा बुधबार आयोजित भानु साहित्य उद्यानको गुरुयोजना अवधारणापत्र एवम् परामर्श कार्यक्रममा बोल्नुहुँदै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले देशका सातै धाम एकै ठाउँमा निर्माण गरेर यहाँ नेपालका नेपाली, नेवारी, मैथिली, भोजपुरी, अवधि, राई, लिम्बू तामाङ, गुरुङ मगर इत्यादि सबै भाषाका साहित्यिक प्रतिभाहरूलाई एकै ठाउँमा राखेर कलात्मक र प्राकृतिक सौन्दर्यसहित आर्थिक सहयोग जुटाएर गुरुयोजना अनुरूप भानु साहित्य उद्यान निर्माणको परिकल्पनालाई साकार पार्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “यसले नेपाली राष्ट्रिय भावनालाई उद्वेलित र उद्दीप्त गराउने छ तथा जीवनमा नेपालीले एकपटक पुग्नै पर्ने साहित्यिक तीर्थस्थल र पर्यटकीय गन्तव्य स्थल बनाउने छ भन्ने मलाई पूर्ण विश्वास छ ।”

आदिकवि भानुभक्तको प्रतिमा केन्द्रमा राखेर अन्य भाषाभाषीका आदिकवि, ती भाषाका विशिष्ट साहित्यिक प्रतिभा र आ–आफ्ना मातृभाषामा विशिष्ट रचना गर्ने कविहरूको प्रतिमा स्थापना गरी चुँदीरम्घालाई विभिन्न भाषाका कविहरूको फूलबारी बनाउँदै एउटा विशिष्ट साहित्यिक तीर्थस्थलको रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

साहित्यिक तीर्थयात्रीका निम्ति चुँदीबेँसी, भानु स्मृति भवन, रम्घाको डाँडो, नेपाली साहित्यका कवि शिरोमणि लेखनाथ पौडेलको जन्मथलो अर्घौअर्चले, जनकवि केशरी धर्मराज थापाको बाटुलेचौर र लोकगायक अलि मियाको जन्मस्थल कुँडहर हुँदै राष्ट्रकवि माधव घिमिरेको घर पुस्तुन लमजुङ, मानुङ आदि विविध भानुस्मृति स्थलहरू संयोजन गरी एउटा भानु सर्किट बनाउन सकिने र यस सर्किटले भानुभक्तका स्मृतिलाई चिरकालसम्म जीवन्त बनाइराख्ने राष्ट्रपति पौडेलको भनाइ थियो ।

आफूले दार्जिलिङ र सिक्किमको भ्रमणका बेला यस्तो उद्यानको परिकल्पना गरेको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले चुँदीरम्घाको डाँडामा सिक्किममा चार धाममा शिवजीको मूर्ति राखे जस्तै ठुलो बाटुलो भवनको धुरीमा भानुभक्तको प्रतिमा राखेर चारैतिर देखिने गरी अर्थात् दक्षिणमा बन्दीपुर, छिम्केश्वरी, पश्चिममा मानुङ, तनहुँसुर, उत्तरमा मिर्लुङकोट र तुर्लुङकोट, पूर्वमा लिगलिग कोट हुँदै गोरखा कालिका र मनकामनाबाटसमेत देख्न सकिने बनाऔँ भनेर यो परिकल्पना अघि सारेको स्मरण गर्नुभयो ।

“नेपालका सात प्रदेश र सो क्षेत्रका सप्त गण्डकीसमेतको प्रतीकात्मक स्थलका रूपमा यो उद्यान तयार हुन सक्छ”, उहाँले भन्नुभयो ।

विश्वभरिका नेपालीहरूको सुझाव र सहयोग जुटाएर गुरु योजना अनुरूपको निर्माण कार्य गर्न उहाँले सुझाव दिनुभयो । “यो उद्यान संसारभरि छरिएका नेपालीहरूले जीवनमा एक पटक पुग्नै पर्ने साहित्यिक तीर्थस्थल र भावनात्मक रूपले नेपाली राष्ट्रिय एकता केन्द्र बन्ने गरी यसको निर्माण होस् भन्ने मेरो सदिच्छा छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा सांसदहरू प्रदीप पौडेल, कृष्णकुमार श्रेष्ठ “किसान”, शिशिर खनालले धेरैभन्दा छरितो संरचना, डिजिटल र प्रविधिमैत्री प्रस्तुतिहरू राखेर यसलाई एउटा आकर्षक स्थलका रूपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले नगरपालिकाले यस सम्बन्धमा गरेका काम तथा योजना, समितिका उपाध्यक्ष डा व्रतराज आचार्यले भानु साहित्य उद्यानको गुरुयोजना अवधारणापत्र र महासचिव काशीराज आचार्यले विषयवस्तुबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा डा। वासुदेव त्रिपाठी, रमा शर्मालगायतका साहित्यकार, विभिन्न प्रतिष्ठानका उपकुलपति, प्राज्ञलगायतले भानु साहित्य उद्यानका विविध पक्षबारे प्रकाश पार्नुभएको थियो । गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव, एकै दिन बन्दिपुरमा हजारौं पर्यटक

बन्दिपुर, बैशाख १ नेपाली नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारबाट सडक खाना महोत्सव

नयाँ वर्ष २०८१ सुरु

देवघाट, बैशाख १ शनिबारदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा टोलीलाई घिरिङमा स्वागत

अन्जान परियार घिरिङ, चैत ३० नेपाली सेनाको गोरखा–जितगढी पदयात्राको टोलीलाई घिरिङ गाउँपालिकामा स्वागत गरिएको छ

रास्वपा देवघाटद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

देवघाट, चैत ३० राष्ट्रिय स्वतन्त्र पार्टी देवघाट गाउँपालिका कमिटिको आयोजनामा नव वर्ष २०८१ को शुभ