देवघाटको श्रीकृष्ण प्रणामी मन्दिरः धार्मिक पर्यटन क्षेत्रमा नयाँ आकर्षण

Devghat Online

शेयर गरौ

श्यामजी अतिथि सेढाईं

सृष्टिको सुरूमा नै हिमालयदेखि कन्याकुमारीसम्मको भू–अवस्थितिलाई भारतखण्ड भनिएको छ । हिमाल, जंगल, नदी, नाला, मरूभूमि यी सबै प्रकृतिका वरदान हुन् । नदी तटीय क्षेत्र उर्बर, सुगम र स्वास्थ्यकर भएकाले त्यहाँ मानिसहरु बस्न थाले । खेती गरेर जीविकोपार्जन हुन थाल्यो । आसुरी र दैवी शक्तिको प्रादुर्भाव भयो । कर्मको आधारमा मानिसको संस्कार र संस्कृतिको विकास भयो । देवता र दानव दुई खेमामा छुट्टिए । देवताहरु परोपकारतिर लागे भने दानवहरु संहारको बाटो अपनाएर अर्कालाई दुःख दिने, मार्ने, काट्ने काममा अगाडि सरे । चिन्तन, मनन र परोपकारी मनोवृत्तिले गर्दा देवगण भएका मान्छेहरु ऋषि कहलिए । उनीहरु एकान्तप्रेमी, चिन्तक, प्रकृतिको उपासक भए । हिमालयको बाटो रोजे ।

बहिर्मुखी क्रियाकलाप त्यागेर अन्तरमुखी बने, ध्यानमग्न रहे । मानवीय सद्गुणको पहिचान गरी सबैको सुख र सबैको हितमा चिन्तन गर्दागर्दै शास्त्रार्थहरु रचिए । सत्मार्गतिर मानिसको ध्यानाकर्षण होस् भन्ने अभिप्रायले महाभारत, रामायणजस्ता ग्रन्थहरु लेखिए । घनघोर जंगलमा आफ्ना शिष्यहरु साथमा लिएर ऋषिहरुले विभिन्न प्रकारका शिक्षा दिएर बटुकहरुलाई सबल र सक्षम बनाई गृहस्थाश्रमतर्फ प्रस्थान गराइएको प्रसङ्ग प्राचीन धर्मशास्त्रहरुमा उल्लेख भएको पाइन्छ । पहाडका कुना–कन्दरामा त तपस्या गरेर बसेका मानिसहरु समय–समयमा काली र त्रिशूली नदीको संगममा स्नान गर्न आउँथे भन्ने कुरा पुराणहरुमा उल्लेख भएको पाइन्छ ।

हिमालयबाट निस्केर मुक्तिनाथको पाउ हुँदै बगेर आउने कालीगण्डकी र गोसाईंकुण्डबाट आउने त्रिशूली नदीको संगम क्षेत्र नै तपोभूमि देवघाट हो । विश्वको कुनै ठाउँमा नपाइने शालिग्राम काली नदीमा पाइन्छ । पौराणिक कथनअनुसार भगवान् विष्णु शालिग्रामको रुप धारण गरी बस्नुभएको हो भनिन्छ । त्यसैले, कालीको जलमा स्नान गर्ने जोकोहीले पनि भगवान्को सामीप्यता प्राप्त गर्दछन् भन्ने जनविश्वास व्याप्त छ । नेपालको हरिद्वार मानिने देवघाटधामको महिमा सर्वत्र फैलिरहेको छ ।

पाल्पाका राजा मणिमुकुन्द सेनले देवघाट आएर आफ्नो देह विसर्जन गरेका हुन् । ताप्लेजुङमा जन्मेर हरिद्वार, काशीमा शिक्षा आर्जन गरेका म्याग्दी, बेनी गलेश्वरमा १२ वर्षसम्म तपस्यारत रहेर देवघाटमा आएर १२६ वर्षको उमेरमा ब्रह्मालीन भएका हुन् । उनी गलेश्वरबाबाको नामले प्रसिद्ध छन् । उनकै नामबाट यहाँ गलेश्वर आश्रम स्थापना भई धर्म र संस्कृतिको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेको हामीले पाएका छौँ । संस्कृत शिक्षामा आचार्यसम्म पढाइ हुने महेश्वर सन्न्यास आश्रम र शास्त्रीसम्म पढाइ हुने हरिहर सन्न्यास आश्रम देवघाट भूमिका धरोहर हुन् । सनातन हिन्दुधर्म, दर्शनको क्षेत्रमा यी विद्यापीठहरुले गरेको योगदान सारै सराहनीय छ । यस अतिरिक्त देवघाटधाममा विभिन्न देवीदेवताका मन्दिर, धर्मशाला, आश्रमहरु रहेका छन् ।

देवघाट क्षेत्रले चितवन, तनहुँ र नवलपरासीलाई समेटेको छ । विशेषगरी, चितवन र तनहुँ क्षेत्रमा गृहस्थ जीवनबाट मुक्त भइसकेका सद्गृहस्थीहरु जीवनको अन्तिम घडीमा परमात्माको भक्तिमा अभ्यस्त भई परजन्म सुधारका लागि यहाँ आएर नित्य गंगास्नान, ध्यान, जप, तप गरी बस्दछन् र आफ्नो प्राण यही पुण्यभूमिमा विसर्जन गर्दछन् । शालग्राम क्षेत्र, पवित्र नारायणीको तटमा अन्तिम दाहसंस्कार गर्नाले स्वर्ग गइन्छ र चौरासी लाख योनिबाट जन्मनु र मर्नुको पीडा हट्छ भन्ने विश्वासले धेरै टाढादेखि शव ल्याएर आफ्नो संस्कारअनुसार यहाँ विसर्जन गरिन्छ ।

देवघाटधाम धार्मिक हिसाबले मात्र प्रख्यात भएको छैन, पर्यटकीय दृष्टिकोणले पनि यो क्षेत्र गन्तव्यस्थल बन्दै गएको छ । यहाँका देवालय, शिवालय, कलात्मक मठमन्दिरहरु, नदी, संगम हेर्न लायक छन् । हरेक बिहान मन्दिरबाट निस्कने सुमधुर शंख, घण्टको आवाज, बटुकहरुबाट नित्य पाठ र वेदध्वनिले देवघाटलाई शोभायमान बनाएको छ । बिहान–बेलुकाको पूजापाठ र प्रवचनले पौराणिक कालको ऋषि आश्रम स्मरण गराउँछ । संस्कृत विद्या र धर्म–संस्कृति अध्ययन गर्ने त देशभरिकै मुख्य केन्द्र हो यो भूमि । शुद्ध हावापानी, हरियाली वनजंगल र थरीथरीका बोटबिरूवा, वनस्पतिले यस क्षेत्रलाई ऊर्जावान् बनाएको छ ।

म यहाँ मेरा आदरणीय पाठकहरुलाई हालैमात्र देवघाटमा सम्पन्न भएको श्रीकृष्ण प्रणामी धर्म जागृति ज्ञानमहायज्ञ–२०८० लाई जोड्न चाहन्छु । विसं २०८० साल फागुन १७ देखि २३ गतेसम्म देवघाटमा सप्ताहव्यापी श्री १०८ तारतम सागर ब्रह्मवाणी र २७ श्रीमद्भागवतको पाठ पारायण भएको थियो । देवघाटको महिमा र मह¤व जन–जनमा पु¥याउन साथै आध्यात्मिक ज्ञान प्रवाह गराउनका निम्ति यो यज्ञको आयोजना गरिएको हो । यसका विशेषताहरु यस प्रकार रहेका छन् ः

१. श्री प्राणनाथ अनाथ सेवा आश्रम

२०६३ सालदेखि नै देवघाटमा (तनहुँतर्फ) श्री प्राणनाथ अनाथ सेवा आश्रम सञ्चालन हुँदै आएको छ । बाबुआमा नभएका टुहुराटुहुरी अनाथ बालबालिकाहरुलाई यहाँ बस्ने, खाने र पढ्ने व्यवस्था गरिएको छ । यो संस्थाले जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्बाट आबद्धता प्रमाणपत्र प्राप्त गरेको छ । १८ रोपनी जग्गा संस्थाको नाममा रहेको यहाँ आवश्यक भौतिक पूर्वाधारहरु निर्माण सम्पन्न भएका छन् । यहाँ आश्रम सञ्चालन गर्न चाहिने सबै प्रकारका भौतिक पूर्वाधारहरु निर्माण भएका छन् ।

२. श्री कृष्ण प्रणामी मन्दिर

विशिष्ट कलापूर्ण ढङ्गबाट निर्माण भएको यो मन्दिर एउटा मूल गजुर र तीनवटा ससाना गजुरले त्यस क्षेत्रलाई नै शोभायमान बनाएको छ । तीनपट्टिबाट मन्दिर प्रवेश गर्न सकिने यहाँ बाहिरी र भित्री परिक्रमा रहेको छ । भित्री भागमा भगवान् राधाकृष्णको तस्बिर सोह्र श्रृङ्गारसहित सिंहासनमा सजाइएको छ । बाहिर भित्रबाट देखिने कलात्मक बुट्टाहरुले दर्शनार्थीको मन प्रफुल्ल त पार्छ नै, अगाडि मूल ढोकानेरको दायाँबायाँ राखिएको स्तम्भ र ठूलो घण्टले मन्दिरको शोभासमेत बढाएको छ । मन्दिरको भित्री मोहडामा कलात्मक बुट्टाले भरिपूर्ण तामाको पाता झल्केको छ, टल्केको छ । मन्दिरभित्रै पछाडिपट्टि दुईवटा ससाना कोठाहरु बनेका छन् । जहाँ एउटा कोठामा भगवान्लाई पहिराउन वस्त्र, श्रृङ्गारका सरसामान राखिन्छ भने अर्कोमा व्यञ्जन, प्रसाद बनाइन्छ ।

३. काली नाग दह

मन्दिर र बाहिरी मूल ढोकाको बीचमा काली नाग दह बनेको छ । भगवान् कृष्णले काली नागलाई खुट्टाले टेकेर दहन गरेको र पानीको फोहोरा हेर्न लायक छ ।

४. मूल प्रवेशद्वार

मन्दिरको पूर्व मोहडामा बनेको मूल प्रवेशद्वार दर्शनार्थीहरुका लागि पहिलो आकर्षण बनेको छ । द्वारको बीचबाट गाडी जान सक्ने र दायाँबायाँबाट मानिस जान–आउन सकिने गरी कलात्मक बुट्टेदार शैलीमा बनेको प्रवेशद्वारले जोकोहीको पनि चित्त आकर्षण गर्दछ ।

५.सन्त निवास

विभिन्न दाताहरुको सहयोगमा बनेको सन्त निवासमा पन्ध्र कोठाहरु रहेका छन् र यहाँ विद्यार्थी, वृद्धवृद्धाहरु बस्दछन् ।

६. वाइजुराज धर्मशाला

यहाँ बाहिरबाट आउने दर्शनार्थीहरु बस्नुहुन्छ । साथै आश्रमका महन्त, पूजारी, कोठारी, गुरूजनहरु रहनुहुन्छ ।

७. ध्यान कुटीर

साँझ–बिहान यहाँ भक्तहरु ध्यान र चिन्तन गर्नुहुन्छ । यो स्थान एकान्त स्थलमा रहेको छ ।

माथिका यी सबै संरचनाहरु निर्माण सम्पन्न भइसकेपछि प्राणप्रतिष्ठा कर्म गरी मन्दिरको समुद्घाटन गर्नुपर्ने क्रम आयो । यसै अवसरमा कृष्ण प्रणामी धर्मको आधा ग्रन्थ श्री तारतम सागर र श्रीमद्भागवतको पाठ पारायणको आयोजना गर्ने कार्यक्रम बन्यो । २०८० साल फागुन १७ गतेदेखि २३ गतेसम्म सप्ताहव्यापी श्री १०८ तारतार सागर र २७ श्रीमद्भागवत ग्रन्थको पाठ पारायण, भजनकीर्तन र प्रवचन सम्पन्न भयो । सुरूकै दिन फागुन १७ गते श्री ५ नवतन पुरिधाम, जामनगरका जगत्गुरू आचार्य अनन्तश्री विभूषित श्री कृष्णमणि महाराजका करकमलबाट मन्दिरको समुद्घाटन साथै श्रीकृष्ण प्रणामी धर्म जागृति ज्ञानमहायज्ञको शुभारम्भ भयो । सो अवसरमा महामंगलपुरीधाम सुरत, गुजरातका पीठाधीश अनन्त श्री विभूषित आचार्य श्री सूर्यनारायण दासजी महाराज र नेपाल तथा भारतका बीसजति धर्मपीठका सन्त–महन्त गुरूजनहरुको उपस्थिति रहेको थियो । सोही दिन आश्रम परिसरभित्रै बनेको मञ्चमा विशिष्ट सन्त–महन्तहरुको समुपस्थितिमा विद्वत् संगोष्ठी सञ्चालन भयो ।

सो अवसरमा श्री ५ नवतनपुरीधामका वर्तमान पीठाधीश्वर अन्तन्त श्री विभूषित जगद्गुरु आचार्य श्री कृष्णमणि महाराज, जामनगर गुजरात श्री ५ महामंगलपुरीधाम सुरतका गादीपति अनन्त श्री विभूषित जगत्गुरू आचार्य श्री सूर्यनारायण दासजी महाराज, श्री ५ पदमावतीपुरीधाम मन्दिर ट्रष्टका संरक्षक परमहंस श्री १०८ सदानन्दजी महाराज, पुण्यभूमि देवघाटधामबाट क्षेत्रीय ब्रह्मनिष्ठ महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरिजी महाराज, गलेश्वर आश्रम १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज, हरिहर सन्न्यास आश्रम, श्री १००० स्वामी रमणानन्दजी महाराज, महेश सन्न्यास आश्रम, बुटवल मुक्तिनाथधामबाट ब्रह्मनिष्ठ स्वामी श्री लोकानन्दजी महाराजसहित करनाल, कालिङ्पोङ, बरोडा गुजरात, गोठाटार काठमाडौँ, असम, दिल्ली, रायगढ, राजस्थान, हरिद्वार, वृन्दावनका विशिष्ट गादीपति महन्तहरु र अन्य विभिन्न मठमन्दिरका सन्त गुरूजनहरुको उपस्थिति रहेको थियो । सो अवसरमा वैदिक सनातन हिन्दुधर्मको विश्लेषण र मानवजीवनमा धर्मले ल्याउने सकारात्मक परिवर्तनका विषयमा विस्तृत व्याख्या भयो । हजारौँहजार भक्तहरुको उपस्थितिमा सम्पन्न भएको सो प्रवचन गोष्ठीमा विदुषी तारा घिमिरेलाई प्राणनाथ अनाथ सेवा आश्रम कृष्ण प्रणामी मन्दिरको महन्त घोषणा गरी श्री १०८ को मान–पदवी प्रदान गरियो ।

उक्त सप्ताहव्यापी अनुष्ठानमा दैनिक शास्त्रीय प्रवचन हुने गर्दथ्यो । श्रीमुख वाणी प्रवचनमा श्री १०८ मोहन प्रियाचार्य महाराज र श्रीमद्भागवत कथा प्रवचनमा श्री १०८ लक्ष्मणदेवजी महाराज हुनुहुन्थ्यो । त्यसैगरी, उक्त अवधिभर धार्मिक प्रवचन रास नृत्य, कीर्तन, पूजापाठ भइरहे । कार्यक्रमको चौथो दिनमा ४० जना बटुकहरुको व्रतबन्ध र तुलादान भइनै रह्यो ।

यसरी देवघाटमा आयोजना गरिएको महायज्ञमा आसाम, सिक्किम, भुटान, दार्जिलिङ, भारतका धेरै प्रान्तहरु र नेपालका पूर्वपश्चिमका धेरै जिल्लाहरुबाट भक्तजनहरुको उपस्थिति रहेको थियो । यस महायज्ञको माध्यमबाट नेपालको प्रसिद्ध तीर्थस्थल, पुण्यभूमि देवघाटमा आएर यहाँको प्राकृतिक, धार्मिक महिमा बुझ्ने, अध्ययन गर्ने शुभ अवसर प्राप्त भएको छ ।

अन्त्यमा, नेपालको मध्यभागमा अवस्थित देवघाटधाम हाम्रो महान् तीर्थभूमि हो । नदीको संगम, वनजंगलको अवस्थिति, दुर्लभ वस्तु शालग्राम पाइने स्थान, अचम्म लाग्दो भूबनोट, देवीदेवताका बासस्थान, संस्कृत शिक्षाको मूल थलो, गुरूकुल आश्रमहरुको प्रभावले यो भूमि यसै पनि माथि उठेको छ, पूजनीय बनेको छ, त्यसमा अब दर्शनार्थीहरुको मन लोभ्याउने कलात्मक श्रीकृष्ण प्रणामी मन्दिर र अन्य आकर्षक बहुमूल्य संरचनाहरु थपिनाले निश्चय पनि देवघाट आउने पर्यटकहरु यहाँ पुग्ने छन् र भरपूर लाभ लिनेछन् । यसले देवघाटको धार्मिक पर्यटन क्षेत्रमा नयाँ आकर्षण थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एमालेको हीरक महोत्सव आजः प्रचण्ड र देउवा विशेष वक्ता, माधवलाई पनि निम्तो, पुर्व राष्ट्रपती भन्डारीलाई गणतन्त्र गौरबले सम्मान गर्ने

काठमाडौं, बैशाख १० नेकपा एमालेले आज नेकपा स्थापना दिवसको अवसरमा हीरक महोत्सव मनाउँदैछ । नेकपा

कालिगन्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन बारे सर्वाेच्चको फैसलाको व्याख्या हुनुपर्नेः देवघाट गाउँपालिका अध्यक्ष थापा

‘नदीको पानी हेरेर मात्र बस्ने भयौं, उपभोग गर्न पाईएन’ देवघाट, बैशाख १० कालीगन्डकी नदीबाट ढुङ्गा,

कालिगन्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन बारे सर्वाेच्चको फैसलाको व्याख्या हुनुपर्नेः देवघाट गाउँपालिका अध्यक्ष थापा

‘नदीको पानी हेरेर मात्र बस्ने भयौं, उपभोग गर्न पाईएन’ देवघाट, बैशाख १० कालीगन्डकी नदीबाट ढुङ्गा,

देवघाटमा चोरीको बिगबिगी: कल्पवासीको कुटी फोरी २ लाख ५० हजार नगद र ३ तोला सुन चोरी

देवघाट, बैशाख ९ देवघाट गाउँपालिकामा पछिल्लो दिनमा मोटरसाईकल चोरी हुनुलाई सामान्य रुपमा लिन थालिएको छ

ओझेलमा परेको सीता गुफा

रामायणमा सीता मातालाई उनका पति अयोध्याका राजा श्रीरामले अग्निपरिक्षा लिन आदेश दिएपछि, त्यो अपमान सहन