काठमाडौं, असार १९
बुधबार राष्ट्रिय सभाको बैठकमा सांसद भगवती न्यौपानेले भन्नुभयो–‘म सत्तापक्षको सांसद् हो’ । यसो भन्दै सांसद न्यौपानले राष्ट्रिय सभामा आफ्ना विचार राख्न थालिन्–‘त्यसैले यो वजेटको समर्थन गर्दछु, यो वजेट पारित गर्दैगर्दा हुन्छ कि हुन्नमा हुन्छ भन्नेमा हात उठाउँछु ।’
भगवतीले भन्नुभयो– ‘मेरा केही सुझाव छन्, केही प्रश्न छन् ।’ भगवतीले राष्ट्रिय सभामा विनियोजन विधेयक उपर राखेको मुख्य बुँदाहरु यस्ता थिए–‘हामीले संविधानमा कस्तो अर्थतन्त्र बनाउने भनी उल्लेख गरेका छौं । समाजवाद उन्मुख अर्थतन्त्र भनेर लेखेका छौं । यो विनियोजन विधेयक हेर्दा समाजवाद हामीले कहिले भेट्न सक्दैनौं ।’
‘मन्त्रीजीहरु, सांसद्हरुले तपाईंहरुलाई योजना पेस गर्छन् । आवश्यकता र प्राथमिकताका आधारमा तपाईंहरु बजेट छुट्याउनुहुन्न । चिनजान र व्यक्तिगत सम्बन्धका आधारमा बजेट छुट्याइन्छ । अनुहार हेरेर बजेट छुट्याइन्छ । एक लाख बजेटको कार्यक्रमले यो देशलाई समाजवादमा पुराउन सक्छौं ? समाजवादको आधार निर्माण गर्न सक्छौं ?’
त्यसैगरि भगवतीले भन्नुभयो– ‘रुस र युक्रेनको द्धन्दका कारण अर्थतन्त्र कमजोर भयो भनिन्छ । विकास गर्न सकिएन भनिन्छ । समृद्ध देश बनाउन सकिएन भनिन्छ । एक लाख रुपैयाँ बजेटको कार्यक्रम छुट्याउनु भनेर रुस र युक्रेनको युद्धले भनेको हो ? पाँच लाख बजेट छुट्याउनु, ५० हजार बजेट छुट्याउनु भनेर इज्रायल हमास युद्धले भनेको हो ?’
‘यो बजेट हेरेर नयाँ युगमा प्रवेश गर्दैछौं भन्न सकिन्न । संघले गेम चेन्जर आयोजना चलाउने भनेको होइन र ? संविधानको मक्सद यही होइन र ? मेरो सुझाव के छ भने अब यस्तो नीति बनाउँ, एउटा निर्वाचन क्षेत्रमा संघले बढिमा तीनचारवटा मात्र कार्यक्रम चलाउने भनेर बजेट विनियोजन गरियोस् । एउटा जिल्लामा आठवटासम्म आयोजनामा विनियोजन गरियोस् ।’ सांसद न्यौपानेको भनाई थियो ‘बरु, निर्वाचन क्षेत्रका संघीय सांसदले आयोजना छनौट गरुन् । सांसद्हरुकै नेतृत्वमा त्यस्ता सीमित आयोजना छनौट गरियोस् । सांसद्ले विभिन्न जनप्रतिनिधि र विज्ञहरुसँग बसेर आयोजना छनौट गर्छन् । त्यो अनुसार सिफारिस गरिएका आयोजनाहरुलाई बजेट विनियोजन गरियोस् ।’
‘परिवर्तन गर्ने आँट गरौं । हामी नयाँ युग भन्दैछौं, संसारका अन्य देश कहाँबाट कहाँ पुगिसके तर हामी कछुवाकै गतिमा छौं । समय र ज्वारभाटाले कसैलाई पर्खँदैन । समय बितेपछि फर्कंदैन । समय दौडिरहन्छ तर हामी चाहिँ सुस्त गतिमा हिँडिरहने ? यसरी परिवर्तन सम्भव छ ?’ उहाँले भन्नुभयो ।
‘शिक्षामन्त्रीजी यहाँ हुनुहुन्न, मन्त्रीजीहरुलाई आउने जाँगर लागेन होला । आज धेरै मन्त्रीजीहरु हुनुहुन्न । मेरा जिज्ञासाहरु शिक्षा मन्त्रीजीप्रति पनि थियो । अन्तराष्ट्रिय फोरमहरुमा गएर भाषण गर्दा चाहिँ २० प्रतिशत बजेट छुट्याइन्छ भन्ने तर आज १० दशमलव ९५ प्रतिशत मात्रै क्षिक्षामा बजेट विनियोजन गरिएको छ । त्यसैले शिक्षा मन्त्रीज्यू, अब कुरा गरेर होइन, कुराले आकाशको तारा झारेर होइन, समृद्ध देश बनाउन शिक्षालाई गुणस्तरीय बनाउन जरुरी छ । संसारमा जति देशले विकास गरेका छन्, जति देश समृद्ध भएका छन् ती देश मानिसको ज्ञान र सीपले बनेका हुन् ।’
शिक्षामन्त्री प्रति सांसद न्यौपानेको भनाई थियो ‘तपाईंको ध्यान गुणस्तरीय शिक्षामा छन् कि छैन ? शिक्षकहरु भित्र रहेको आस्थाको फूल निमोट्न शिक्षा मन्त्रीजीको ध्यान गएको छ, लोकतन्त्रको सुन्दर पक्षलाई पाता कसेर, मुठ्ठी कसेर हिर्काउन तपाईंको ध्यान गएको छ । शिक्षकले विद्यालयभित्र राजनीति गर्न पाउँदैन तर शिक्षकको वैचारिक स्वतन्त्रता हुन्छ कि हुँदैन ? शिक्षकले आस्था राख्न पाउँछ कि पाउँदैन ? शिक्षालाई गुणस्तरीय बनाउन ध्यान दिउँ, शिक्षा क्षेत्रका विकृति अन्त्य गर्न ध्यान जानुपर्यो ।’
‘प्राविधिक शिक्षालाई शिक्षाको मूलधारमा ल्याउन सकेका छैनौं । संसारमा प्रविधिमा यहाँ र त्यहाँ पुग्यो भनेर अरु देशका उदाहरण दिन्छौं । अरु देशबाट सिक्ने हो, अरु देशको उदाहरणबाट सिक्ने हो । अरु देशको उदाहरण देखाएर वौद्धिकता प्रस्तुत गर्न खोज्छौं, अरु देशका उदाहरण दिएर बौद्धिकता देखाउनुभन्दा विकासमा ध्यान दिउँ ।’
सांसद न्यौपानेले भन्नुभयो अब दुई खालको शिक्षा अन्त्य गरौं । धनी र गरिबका लागि बेग्लाबेग्लै शिक्षा अन्त्य गरौं । सहर र गाउँको दुईखाले शिक्षा अन्त्य गरौं । शिक्षा सबैलाई समान हुनुपर्छ भन्ने मान्यता राखेर अगाडि बढौं ।’ ‘श्रम मन्त्रीजीले भाषण गरेको सुनेको थिएँ । विदेशबाट सीप ज्ञान लिएर आएकाहरुलाई काम दिन्छौं भन्नुभएको थियो । त्यो योजना कहिले बन्छ श्रम मन्त्रीज्यू ?’ उहाँले प्रश्न गर्नुभयो ।