काठमाडौं, कार्तिक २०
गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपक मनाङेलाई ५ वर्षको जेल सजाय सुनाइएको छ । गुण्डा नाइके चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर गरेको हो । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यसअघि उच्चले गरेको फैसला सदर गरेको हो ।
उच्च अदालत पाटनले यसअघि उनलाई दोषी ठहर गर्दै ५ वर्ष कैदको सजाय सुनाएको थियो । गुण्डा नाइकेका रुपमा परिचित सांसद मनाङेले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको अभियोग थियो। आक्रमणमा मनाङेको समूहले चक्रेको हात नै छिनाएको थियो ।
सोही मुद्दामा जिल्ला अदालत काठमाडौँले उनलाई २ वर्ष कैदको फैसला गरेको थियो । उक्त कैद भुक्तानका लागि डिल्लीबजार कारागारमा रहेका मनाङेलाई २०७५ पुस ६ गते सर्वोच्च अदालतले नै रिहा गर्न आदेश दिएको थियो ।
जिल्ला अदालतले २०६३ माघ ७ गते २ वर्ष कैदको फैसला गरेको थियो । तर त्यसविरुद्ध सरकारको पुनरावेदनमा तत्कालीन पुनरावेदन अदालत पाटनले जिल्लाको फैसलामा केही उल्टी गरी ५ वर्ष कैदको सजाय सुनाएको थियो ।
२०६९ साउन २८ गते पाटन अदालतले उक्त फैसला सुनाएपछि उनले आफू थुनाबाहिरै बसेर पुनरावेदन गर्न पाउनु पर्ने माग गर्दै सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए । सर्वोच्चले उनलाई २०७५ पुस ६ गते २७ हजार ३७५ रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । मनाङेको पुनरावेदन दर्ता गरी उनलाई रिहा गर्न आदेश दिएको थियो । सोही दिन उनलाई थुनामुक्त गरिएको थियो ।