तनहुँ । फागुन २१
व्यास नगरपालिका नगर कार्यपालिकाको २०८० फागुन १५ गते बसेको बैठकले नगर भित्रको फोहोर मैलाको स्थायी रुपमा व्यवस्थापन गर्नको लागि सरसफाई केन्द्र निर्माण प्रयोजनको लागि व्यास नपा–१३ को कटन टोलमा जग्गा खरिद गर्ने निर्णय गरेको थियो । व्यास नगरपालिकाको सरसफाई केन्द्र व्यवस्थापनको स्थायी समाधानकोलागि जग्गा खरिद प्रक्रिया अघि बढाउन गठित समितिको राय अनुसार व्यास नपा १३ को कटनटोलमा रहेको युगिन कृषि फर्मको नाममा रहेको करिब ३९ रोपनी जग्गा खरिद प्रक्रिया अगाडी बढाउने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको थियो ।
नगरपालिकाले कुनै पनि प्रयोजनको लागि व्यक्तिको जग्गा खरिद गर्नु परेमा संघीय मन्त्रीपरिषदले स्विकृति दिनुपर्ने कानुनी व्यवस्था रहेको छ । सो को लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिको सिफारिसको आधारमा मन्त्रीपरिषदले निर्णय गर्ने व्यवस्था रहेको छ । व्यास नगरपालिकाको निर्णय पछि तत्कालिन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम नेतृत्वको मुल्यांकन समितिले जग्गा खरिदको लागि स्विकृती प्रदान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको थियो । उक्त समितिमा व्यास नगरपालिकाका बरिष्ठ आलेप अधिकृत कुमार कन्चन जिसी समेत सदस्य थिए ।
जग्गा खरिदको सिफारिस संघीय मामिला मन्त्रालयमा पुगेको छ । उक्त मन्त्रालयले मन्त्रीपरिषदमा प्रस्ताव लगेर मन्त्रीपरिषदले स्विकृत गरेपछि बल्ल व्यास नगरपालिकाले सो जग्गा खरिद गर्न पाउने छ । उक्त सिफारिस हालसम्म मन्त्रालयबाट मन्त्रीपरिषदमा लगिएको छैन । यसविचमा उक्त जग्गा खरिद कार्य रोक्न व्यास नगरपालिकाको कर्मचारी तहबाट संघीय मामिला मन्त्रालयमा पत्राचार र अख्तियारमा समेत बेनामे उजुरी दर्ता गर्ने काम भएको आरोप लागेको छ ।
व्यास नगरपालिका स्थापना भएयता फोहोर मैलो व्यवस्थापनको लागि स्थायी प्रकारको संरचना निर्माण हुन सकेको छैन । यसअघि केही वर्ष मादी नदी नदिको किनार भतेरीमा फोहोर मैला व्यवस्था हुँदै आएको थियो । नदी किनारमा फोहोर मैला व्यवस्थापन गर्दा बजार क्षेत्र दुर्घन्धित भएको भन्दै व्यास नपा ३ सिर्जना टोलबासीले बिरोध गरेपछि नदी किनारमा फोहोर व्यवस्थापन कार्य रोकिएको थियो । त्यसपछि करिब ६ महिना व्यास नपा १ को रामदेव पन्थको जग्गाको खोल्सी पुर्ने गरि फोहोर राखियो । त्यहाँ खाल्डो पुरिएपछि व्यास नपा १३ को बुद्धसिंह मार्गमा पर्ने कोइदिम नजिकै सडक तथा नदी किनारमा केही महिना फोहोर फाल्न थालियो । त्यहाँ पनि त्यस क्षेत्रका बासिन्दाको कडा बिरोधपछि स्थगित भयो ।
आफ्नो दोश्रो कार्यकालमा समेत फोहोर मैला व्यवस्थापनमा कुनै प्रगति गर्न नसकेको आरोप लागेका मेयर बैकुण्ठ न्यौपानेले आफ्नो समेत शेयर रहेको गन्डकी बहुउद्देश्यिय सहकारी संस्थाको नाममा रहेको व्यास नपा १० को मंगलीगैरामा करिब २० रोपनी जग्गा खरिद प्रक्रिया अगाडी बढाउने निर्णय गरे । त्यहाँ पनि स्थानीय बासिन्दाको तिब्र विरोधपछि उक्त निर्णय पनि स्थगित गर्न मेयर न्यौपाने बाध्य भए ।
बजार क्षेत्रबाट संकलित कुहिने फोहोर हाल व्यास नपा १० मा रहेको गौ संरक्षण केन्द्र नजिकै व्यवस्थापन गर्दै आएको छ । गौ संरक्षण केन्द्रबाट उत्पादित गौमल र उक्त कुहिने फोहोरलाई मल बनाउने गरि व्यवस्थापन कार्य हुँदै आएको नगर प्रमुख न्यौपानेले बताए । हाल कुहिने फोहोर व्यवस्थापन कार्य भएपनि नकुहिने फोहोरलाई व्यवस्थापन गर्न भने समस्या हुदै आएको छ । नकुहिने फोहोर व्यवस्थापन कार्यकै लागि नगरपालिकाले जग्गा खरिद गर्ने प्रक्रिया थालेको हो ।
यसैक्रममा व्यास नपा १३ का वडा अध्यक्ष बसन्त आले मार्फत कटन टोलको जग्गा कार्यपालिकामा प्रस्ताव आएपछि नगरपालिकाले उक्त जग्गा खरिद प्रक्रिया थाल्ने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको जग्गा मुल्यांकन समितिमा रहेका नगरपालिकाकै केही कर्मचारीहरुले उक्त जग्गा नगरपालिकालाई खरिद गर्न नदिने खालको योजना बनाएको नगर प्रमुख न्यौपानेले बताए । जग्गा खरिद गर्न नदिने कर्मचारीको योजनाको सबै प्रमाणहरु आफुहरुसँग सुरक्षित रहेको भन्दै नगर प्रमुख न्यौपानेले उक्त कार्यको छानविन गरिने र दोषी देखिएका कर्मचारीलाई कारवाही गरिने बताए । जग्गाधनीलाई ब्ल्याकमेलिङ गरेर नगरपालिकालाई जग्गा बेच्न नदिने षड्यन्त्रमा कर्मचारीहरुको संलग्नता रहेको नगर प्रमुख न्यौपानेले बताए ।
यि सबै प्रमाणहरु सार्वजानिक गर्न गत शनिबार नगरपालिकाका जनप्रतिनिधिहरुले पत्रकार सम्मेलन गरेका थिए । केही दिन अघि व्यास नपा ५ को मानुङमा रहेको एक रिर्साेटमा बेलुकी खाजा खाने क्रममा नगरपालिकाका केही कर्मचारीहरुले उक्त जग्गा खरिद गर्न नदिने बारेमा गरेको छलफलको अडियो रेर्कड नगरपालिकामा पुगेको छ । उक्त अडियो पत्रकार सम्मेलनमा सार्वजानिक गरिएको थियो । नगरपालिकाका बरिष्ठ आलेप अधिकृत कुमार कन्चन जिसी, सरसफाई शाखाका प्रमुख कृष्णराज घिमिरे लगायतका केही अधिकृतहरुले सरसफाई केन्द्र निर्माण हुन नदिने योजना बनाएको र जग्गा खरिद प्रक्रियामा भाँजो हालेको र अख्तियारसम्म मुद्धामामिला गरेको आरोप वडा अध्यक्षहरुले लगाएका छन् ।
उक्त अडियोमा बरिष्ठ आलेप अधिकृत जिसीले आफुलाई ५० लाख कमिसन नदिएसम्म जग्गा खरिद गर्न नदिने सुनाएका छन् । उक्त जग्गा बैंकले लिलाम गर्ने क्रममा रहेको र त्यसपछि सस्तोमा आफुहरुले लिने र त्यहाँ रिर्साेट, स्विमिङ पुल र आश्रम खोल्ने जिसीले योजना सुनाएका छन् । नगर प्रमुख सहितका जनप्रतिनिधिलाई अपशब्द प्रयोग गर्दै जिसीले कुनै पनि हालतमा नगरपालिकालाई जग्गा खरिद गर्न नदिने दाबी सुनाएका छन् ।
उक्त घटना अहिले व्यास नपाको अडियो कान्डको रुपमा बजार भरी छ्यापछ्याप्ती रहेको छ । उक्त कान्डको बारेमा यथार्थ छानविन गरि दोषीलाई कारवाही गर्न नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको व्यास नगर कमिटिले विज्ञप्ति प्रकाशित गरि माग गरेका छन् ।
व्यास नगरपालिकाले जग्गा खरिद प्रक्रियामा अवरोध गर्ने तथा नगरपालिकाको बद्मान गर्ने कार्यमा संलग्न भएको भन्दै बरिष्ठ आलेप अधिकृत जिसी सहित चार जना कर्मचारीलाई ७ दिने स्पष्टिकरण सोधेको श्रोतले जनाएको छ ।
(लोकवाणी दैनिकबाट)