सय वर्षमा गलेश्वर आश्रम, धार्मिक तथा शैक्षिक उन्नयनको केन्द्र बन्दै गलेश्वर आश्रम देवघाट

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १४

देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रम स्थापनाको एक सय वर्ष पुगेको छ । आश्रमको शतवार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी अष्टाङ्ग योगसिद्ध ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) को ५० औं स्मृति दिवसको अवसरमा बुधबार आश्रम परिसरमा विभिन्न कार्यक्रमको आयोजना गरियो ।

आश्रमका पिठाधिश अनन्त श्री विभुषित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै पुर्व उपप्रधानमन्त्री नारयणकाजी श्रेष्ठले गलेश्वर बाबाले मानव जातीको कल्याणकोलागि आश्रमहरु स्थापना गरेर राम्रो काम गर्नु भएको बताए । देवघाट पवित्र तपो भुमी भएको भन्दै श्रेष्ठले यो भुमीले मानव जातीलाई मानव कल्याणमा लाग्न प्रेरणा दिने बताए । ‘आज मानव जातीलाई यो भुमीले ज्ञान प्रदान गरेको छ । आध्यात्मिकता प्रदान गरेको छ’ श्रेष्ठले भने ‘आजको मुख्य कार्यभार जनताको आर्थिक विकास र समृद्धी हो । त्यसकोलागि सुशासन आवश्यक पर्छ, आध्यात्मिकताले नागरिकलाई अनुशासन र सुशासनमा मा बाँध्न सहयोग गर्छ ।’

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले देवघाट पवित्रधाम भएको भन्दै यसको जति पुर्वाधार विकास हुनुपथ्र्याे तर त्यो हुनसकेको बताए । त्यसमा आफुलाई लज्जा अनुभुती भएको भन्दै उनले देवघाटको विकासको लागि सरकारलाई घच्घच्याउने बताए । देवघाटधामको समग्र विकास गरि विश्वभरका सनातनीहरुको आस्थाको केन्द्र बनाउनुपर्ने भण्डारीले बताए ।

नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका पिठाधिश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले देवघाटको महिमाको चर्चा गर्दै गुरुकुल र आश्रमहरुको थलोको रुपमा रहेको देवघाटलाई राज्यले उपेक्षा गरेको बताए । देवघाटको ठुलो महिमा भएको हुँदा यसलाई राज्यले चिन्नुपर्ने सन्तहरुको भनाई थियो ।

गलेश्वर आश्रमका पिठाधिश पिठाधिश अनन्त श्री विभुषित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले देवघाटमा आउने भक्तजनहरुले मन्दिरको अभाव महशुस गरेपछि दान र चन्दा उठाएर आश्रम परिसरमा सिद्धेश्वर महादेवको मन्दिर निर्माण गरिएको बताए । उक्त मन्दिर पशुपती नाथको मन्दिर भन्दा ठुलो भएको भन्दै मन्दिर बनाउन राज्यको एक रुपैयाँ पनि लगानी नभएको बताए ।

सो कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, नेपाल संस्कृत विश्व विद्यालयका प्राध्यापक माधव अधिकारी लगायतले देवघाटधामको महत्वको बारेमा मन्तव्य राखेका थिए ।
तपस्वी अष्टाङ्ग योगसिद्ध योगिराज श्री ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) ले आफ्नो साधनास्थलको रुपमा कालीगण्डकी नदीलाई पच्छ्याउने क्रममा वि.सं. १९८२ सालमा म्याग्दीबाट देवघाट आई कुटी निर्माण गरी उक्त गलेश्वर आश्रमको स्थापना गरेका थिए । वि.सं.२०३२ साल जेष्ठ शुक्ल द्वितीयाका दिन गलेश्वर बाबा ब्रह्मलीन भएका थिए ।

गलेश्वर बाबाले संस्कृतिको आधारशिला संस्कृत वाङ्मय हो भन्ने मर्मलाई हृदयङ्गम गरी वैदिक सनातन धर्मबाट समस्त मानवजातिको कल्याण होस् भन्ने उद्देश्य राखी वि.सं. २०२३ साल पौष २७ गते पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) का दिन गलेश्वर आश्रम परिसरमा श्री वदे वेदाङ्ग विद्यालयको नामबाट गुरुकुलीय शिक्षापद्धति अनुसार संस्कृत पाठशालाको पनि स्थापना गरेका थिए ।

वि.सं. २०३२ साल जेष्ठ शुक्ल द्वितीयाका दिन गलेश्वर बाबा ब्रह्मलीन भएपश्चात् आश्रमका दोस्रो पीठाधीशका रुपमा बाबाका ब्रह्मचारी शिष्य सन्त श्री १००८ स्वामी आशुतोषानन्द सरस्वतीजी महाराज रहेका थिए । उनले आश्रम र गुरुकुल सञ्चालनलाई निरन्तरता दिए । त्यसपछि आश्रमका तेस्रो पीठाधीशका रुपमा वि.सं.२०४३ सालदेखि राष्ट्रसन्त श्री १००८ स्वामी परमानन्द सरस्वतीजी महाराज रही निरन्तर रुपमा आश्रम र गुरुकुल सञ्चालन गरेका थिए ।

त्यसपछि वि.सं.२०५३ सालमा यस आश्रमलाई भौतिक, शैक्षिक, सामाजिक र सांस्कृतिक रुपमा विकास गर्नसक्ने योग्य तपोनिष्ठ क्षमतावान् सन्त हालका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज पिठाधिश भए । तत्पश्चात उनकै नेतृत्वमा आश्रमले संस्थागत विकास गर्दै आएको छ । हाल आश्रमले भौतिक, सामाजिक, धार्मिक, आध्यात्मिक र शैक्षिक विकासमा पूर्णता प्राप्त गर्न सफल भएको छ ।

आश्रम अन्तर्गत एक सय ८५ वटा कुटी छन् । त्यसैगरी सिद्धेश्वर महादेव, ज्योतिर्लिङ्गश्वर महादेव, गङ्गामाला मन्दिर, सहक्षल्पेश्वर हनुमान मन्दिर राधाकृष्ण मन्दिर, १०८ नर्मदेश्वर शिवलिङ्ग, महाकालेश्वर शिवालय, राधाकृष्ण मन्दिर र वृद्धेश्वर महादेव मन्दिर रहेका छन् । आश्रम अन्तर्गतको धर्मशालामा पुरुष र महिला यात्रुका लागि दुईवटा हल, २२ कोठा र सुविधासम्पन्न शौचालय एवं स्नानकक्ष छन । तीर्थयात्रीका लागि निशुल्क वास र भोजनको व्यवस्था आश्रमले मिलाएको छ । आश्रम अन्तर्गत प्रवचन हल, गोष्ठी सेमिनार हल, कीर्तन हल र करिव सय कोठाको साधक भवन रहेको छ । करिव रु १५ करोड लगानीमा वेदवेदाङ्ग संस्कृत विद्यापीठ भवन निर्माण गरिएको छ ।

आश्रममा आश्रित साधु–सन्त, भक्तजन, वृद्धवद्धा, वेद वेदाङ्ग विद्यालयका अध्यापक, अध्येता, ब्रह्मचारी बटुकका लागि नित्य भोजन र अन्य अतिथिका लागि दुई छाक) निःशुल्क भोजनको व्यवस्था आश्रमले मिलाएको छ । ३ सय जनाले एकैसाथ भोजन गर्न मिल्ने भोजनालय सञ्चालनमा छ । स्थायी अन्न क्षेत्रलाई दिगो सञ्चालन गर्न दानदाता महानुभावहरूले आफनो जन्मदिन अथवा पितृहरूको तिथिमा वा कोही कसैको नाममा अक्षयकोषमा न्युनतम १५ हजार रुपैयाँसम्म रकम जम्मा गन सक्ने व्यवस्था रहेको छ । सो को व्याजबाट अन्नक्षेत्र नियमित रुपमा सञ्चालन भएको छ । दाताहरूको पितृको सम्झनामा वा विशेष दिनको उपलक्ष्यमा विशेष भण्डाराको समेत व्यवस्था गरिन्छ । पितृहरूको तिथिका दिन प्रातः व्राह्मणद्रारा नदी किनारमा संकल्प गरी तर्पण गर्ने र जन्मदिनको उपलक्ष्यमा शिवालयको नियमित पूजामा संकल्प सहित रुद्राभिषेक गर्ने गरिन्छ ।

त्यस्तै पीठाधीश स्वामीजीको शुभ संकल्प अनुसार गलेश्वर आश्रममद्वारा वृद्ध आमा बुबाहरूको सेवा गर्नको लागि गैह्रआवसीय नेपाली संघद्वारा निर्मित २५, कोठे आधुनिक भवनमा बृद्राश्रम सञ्चालित छ ।

त्यसैगरि वि.सं. २०५७ सालदेखि आत्मानन्द धर्मार्थ औषधालयको रुपमा सञ्चालनमा रहेको औषधालयलाई हाल देवघाट घर्मार्थ अस्पतालको नामबाट सञ्चालन गरिएको छ । निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क औषधी वितरणका साथै असक्त बिरामीहरूको सेवा गर्न १५ शैयाको लागि भौतिक संरचना तयार छ । देवघाट धर्मार्थ अस्पतालले थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यले व्यवस्थापनमा आश्रमको सहभागिता सहित मिति २०७५ श्रावण १ गतेदेखि यस अस्पताल देवघाट गाउँपालिकालाई सञ्चालनको दायित्वसहित हस्तान्तरण गरेको थियो । यसैगरि गलेश्वर आश्रमले विविध ग्रन्थहरूको प्रकाशन तथा पुस्तकालयको सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

फागुपूर्णिमामा छिम्केश्वरीमा भक्तजनको घुईँचो, १० हजारले गरे दर्शन

तनहुँ । फागुन १९ फागुपूर्णिमाको अवसरमा तनहुँ जिल्लाकै सबैभन्दा अग्लो स्थानमा अवस्थित प्रसिद्ध बुढीदेवी–छिम्केश्वरी माई