देवघाट । असार २४
तनहुँ, चितवन र नवलपुर जिल्ला समेट्ने प्रसिद्ध धार्मिक स्थल देवघाटको बृहत्तर विकासकोलागि स्थापित देवघाट क्षेत्र विकास समितिको अध्यक्ष नियुक्तीमा ढिलाई हुँदै गएको छ । समितिको अध्यक्ष तथा सदस्यहरु पाँच महिनादेखी रिक्त रहेको छ । यस अघिका अध्यक्ष भिमबहादुर रानाको दुई वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त भएको हो । देवघाट गाउँपालिका–३ निवासी राना नेकपा माओवादी केन्द्रको कोटामा अध्यक्ष पदमा नियुक्त भएका थिए । उनको कार्यकाल सकिएको करिब पाँच महिना पुगेको छ । समितिमा अध्यक्षसँगै सदस्यहरुको पनि पद रिक्त भएको छ ।



अध्यक्ष पद नियुक्तीमा ढिलाई हुँदा उक्त पदमा नियुक्ती हुन चहाने व्यक्तिहरु थपिँदै गएका छन् । विगतमा अध्यक्ष बन्ने व्यक्ति नै पाउन मुस्किल हुने देवघाट क्षेत्र विकास समितिमा हाल भने अध्यक्ष बन्न विभागिय मन्त्रीलाई मात्रै हैन, पहुँच पुगेमा पार्टीका सभापती, प्रधानमन्त्री र राष्ट्रपतीसम्मलाई नै खुसी बनाउनुपर्ने अवस्था आएको छ । क्षेत्र विकास समितिको अध्यक्षका आकांक्षीहरुले आफ्नो पहुँच अनुसार माथिल्लो तहमा लबिङ समेत गरेका छन् ।

संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गत रहने देवघाट क्षेत्र विकास समितिको अध्यक्ष संघीय सरकारको मन्त्रीपरिषदबाट र सदस्यहरु मन्त्रीस्तरीय निर्णयबाट हुँदै आएको छ । हाल संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डे रहेको हुँदा क्षेत्र विकास समितिको अध्यक्ष पदमा नेपाली काँग्रेसका नेताहरु नै लागि परेका छन् ।
अध्यक्षको लागि नेपाली काँग्रेस देवघाट वडा नम्बर ५ का सभापती सोमनाथ ढकाल, पत्रकार समेत रहेका युवा समाजसेवी नविनराज पौडेल, हाल नवलपुरको गैंडाकोट बस्ने काँग्रेस नेता विष्णुप्रसाद सापकोटा, चितवन काँग्रेसका नेता ऋषि खनालको नाम चर्चामा रहेकोमा पछिल्लो केही दिन यता पर्यटन व्यवसायी शालिग्राम सापकोटाको नाम पनि थपिएको छ । सापकोटालाई अध्यक्ष बनाउन उद्योगी तथा मौलाकाली केवलकारको सन्चालक चन्द्र ढकालले पर्यटन मन्त्री पाण्डे समक्ष लविङ गरेका छन् ।
मौलाकाली केवलकार कम्पनीले मौलाकाली हुँदै देवघाटधामसम्म केवलकार जोड्ने अर्काे परियोजना ल्याएको र उक्त परियोजना कार्यान्वयनकोलागि पनि आफु अनुकुलका व्यक्तिलाई अध्यक्ष बनाउन व्यवसायी ढकालले आफु निकटका सापकोटाको नाम मन्त्री समक्ष सिफारिस गरेका छन् । उनी अध्यक्ष बनेर आएमा कुनै आश्चर्य मान्नुनपर्ने भएको देवघाटका काँग्रेसका नेताहरु बताउन थालेका छन् ।
अध्यक्ष पदको लागि व्यास नपा–८ रिस्ती निवासी पत्रकार समेत रहेका युवा समाजसेवी नविनराज पौडेलले लविङ तिब्र पारेका छन् । उनी राष्ट्रपती रामचन्द्र पौडेलको नातेदार समेत रहेको हुँदा उनी अध्यक्ष बन्नेमा केही काँग्रेस कार्यकर्ताहरु समेत ढुक्क छन् । विगतमा चितवनबाट काँग्रेसको राजनीति गरेका पौडेलले हालै मात्र आफ्नो सदस्यता तनहुँ सारेका छन् । चितवनबाट राजनीति तनहुँ सारेपनि पौडेललाई अध्यक्ष बनाउन चितवन काँग्रेसका पुर्व सभापती जितनारयण श्रेष्ठले साथ दिएका छन् । यस विषयमा चितवन काँग्रेसका सभापती राजेश्वर खनाल भने कतै पनि खुलिसकेका छैनन् । उनले कसैलाई पनि अध्यक्षको लागि सिफारिस गरेका छैनन् । यद्यपि सोमनाथ ढकाललाई अध्यक्ष बनााउन कागजमा सिफारिस गरेका देवघाटका केही कांग्रेसका नेताहरु भित्र भित्र भने नवीन पौडेलको पक्षमा लागेका छन् ।
यस्तै देवघाटका स्थानीय नेता सोमनाथ ढकाललाई अध्यक्ष बनाउन नेपाली काँग्रेस देवघाट गाउँ कार्य समिति र निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय कार्य समिति तनहुँले सर्वसम्मत रुपमा पर्यटन मन्त्री समक्ष सिफारिस गरेको छ । उनलाई अध्यक्ष बनाउन देवघाटका स्थानीय काँग्रेस नेताहरु लागि परेका छन् । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पनि ढकाललाई अध्यक्ष बनाउन लागि परेका छन् । नेपाली काँग्रेस तनहुँका जिल्ला सचिव लक्ष्मीभक्त खनालले पर्यटन मन्त्री पाण्डेलाई भेटगरि ढकाललाई अध्यक्ष बनाउनुपर्ने पार्टीको निर्णयको बारेमा जानकारी गराईसकेका छन् । स्वयं ढकालले पनि आफु अध्यक्ष बन्नेमा ढुक्क रहेको बताए ।
यता विगतमा देवघाट घर भई हाल नवलपुरको गैंडाकोट घर भएका विष्णुप्रसाद सापकोटाले पनि आफु अध्यक्ष बन्ने पक्का भएको दावी गरेका छन् । उनी यसअघि दुई कार्यकाल सदस्य रहेका थिए । उनलाई नवलपुरबाट निर्वाचित सांसद एवं काँग्रेसका पुर्व महामन्त्री डा. शंसाक कोईराला, पुर्व सांसद महेन्द्रध्वज जिसि र नवलपुरको क्षेत्रिय सभापति अमृत भट्टचनले साथ दिएका छन् । सापकोटा उनीहरुको सिफारिस लिएर अध्यक्षको दाबी गरेका छन् । नेता शंसांक मात्र नभएर आफुलाई अर्का नेता शेखर कोईरालाले पनि साथ दिएको सापकोटाले बताए । शेखरले आफुलाई अध्यक्ष बनाउन मन्त्री पाण्डेलाई सिफारिस गरिसकेको सापकोटाले बताए । मन्त्री पाण्डे नेपाली काँग्रेसमा शेखर कोईराला निकट मानिने हुँदा सापकोटाले आफ्नो नाम सदर हुने दाबी गरेका हुन् । यस्तै चितवन काँग्रेसका नेता ऋषि खनालको नाम पनि अध्यक्षको रुपमा चर्चामा आएको छ ।
यता अध्यक्ष पद नेकपा एमालेको भागमा परेमा नेकपा एमाले चितवनका नेता नवराज ढकाल अध्यक्ष बन्ने निश्चित छ । ढकाल यस अघि दुई कार्यकाल देवघाट क्षेत्र विकास समितिको सदस्य पदमा रही काम गरिसकेका छन् । उनी देवघाटधाम तथा क्षेत्र विकास समितिको महत्व बुझेका व्यक्ति हुन् । यसैगरी नेकपा एमाले देवघाट गाउँ कमिटीले केशवचन्द्र न्यौपानेलाई अध्यक्ष बनाउन सिफारिस गरेको छ ।
देवघाट क्षेत्र विकास समितिको गठन तनहुँ, चितवन र नवलपुर भुगोल मिलाएर गरिन्छ । समितिको सदस्यमा तिन वटै जिल्लाबाट २/२ जना राख्नुपर्ने ब्यबस्था छ । चितवन, तनहुँ र नवलपुरको सङ्गम देवघाटधाम क्षेत्र पाँच हजार ४३४ हेक्टरमा फैलिएको छ । विकास समिति ऐन, २०१३ अनुरूप संस्कृति, पर्यटन नागरीक उड्डययन मन्त्रालय मातहतमा देवघाट क्षेत्र विकास समिति गठन भएपछि २०५१ बाट औपचारिक कार्य सुरु भएको थियो ।
समयमा समितिको अध्यक्ष नियुक्ती नहुँदा भने समितिको कामकाज प्रभावित भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट माग गर्नुपर्ने र कार्यन्वयन गराउनुपर्नेमा समिती नबन्दा नियमित काम बाहेक कुनै कुरा अगाडी बड्न सकेको छैन । गुरुयोजनाअनुसार काम गर्न र देवघाटधामको बृहत्तर विकासका लागि बजेट माग गर्नुपर्नेमा देवघाट क्षेत्र विकास समिति नबन्दा अन्यौल छाएको हो ।
चालू आर्थिक वर्षमा देवघाट क्षेत्र विकासमा विनियोजन भएको बजेट निकै न्यून भएको र त्यसले परिणाम दिने खालको काम हुन नसकेको भन्दै पर्याप्त बजेटको व्यवस्था गर्न माग गरिएको छ । ‘यो वर्ष पूँजीगततर्फ र चालूतर्फ थोरै रकम बजेट निकासा भएको देखिन्छ, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष सहित पुरै समितीको पदावधी सकिदा समेत सरकार समिती बनाउन उद्दत देखिएको छैन’ स्थानियले भने, ‘यो रकम देवघाटका लागि ‘हात्तीको मुखमा जिरा’ भयो ।’ देवघाटमा रहेका थुप्रै योजना सम्पन्न गर्न नियमितरूपमा आवश्यक बजेट विनियोजन हुनुपर्ने उनको भनाइ छ ।
२०६४ मा बनेको देवघाटको गुरुयोजना बजेट अभावमा अलपत्र परेको स्थानियको भनाइ छ । १८ वर्षको अवधिमा समग्र योजनाको जम्मा ३० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी १० वर्षमा ७० प्रतिशत काम सम्पन्न गर्नुपर्ने चुनौती रहेको छ । चालू आर्थिक वर्षमा देवघाट क्षेत्रमा बाँदर व्यवस्थापनदेखि आधुनिक ज्येष्ठ नागरिक (वृद्धाश्रम) बिश्रान्ती भवन निर्माणसम्मका काम गर्नुपर्ने चुनौती छ ।
अध्यक्षको कार्यकाल २ बर्ष र कार्यकारी निर्देशकको कार्यकाल ४ बर्षको हुन्छ । कार्यकारी निर्देशक हाल माओवादी केन्द्रबाट नियुक्त भएका सदन बराल रहेका छन् ।












