तनहुँ । पुस २
नेकपा एमालेको नयाँ नेतृत्वकोलागि बुधबार बिहानबाट मतदान भएको छ । यो समाचार तयार पार्दासम्म मतदान कार्य जारी नै रहेको छ । बिहिबार बिहान उज्यालो हुँदासम्म मतदान जारी रहने देखिएको छ । मतदानको लागि विद्युतीय मेसिन प्रयोग गएिको कारण मतगणना सुरु भएको बढिमा दुई घण्टामा सबै मतपरिणाम आईसक्ने बताईएको छ ।



एमालेको नेतृत्व चयनका लागि भइरहेको मतदान ‘कछुवा गति’ मा भएको छ । लामो मतपत्र र प्यानलको सूचीलाई भिडाएर मतदान गर्नुपर्दा मतदाताहरु लामो समय अल्मलिने गरेका छन् । अध्यक्षका दुई प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले आ–आफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन् । मतदाताहरु प्यानलको सूची बोकेर मतदान गर्न जाँदा ढिलाइ भएको हो ।
विद्युतीय भोटिङ मेसिनका सञ्चालक राम–लक्ष्मणमध्येका रामले भने, ‘फोटो र नाम हेरेर मतदान गरेको भए चाँडै सकिन्थ्यो । यता सूची हेर्दै उता फोटो खोज्दै गर्दा ढिलाइ भइरहेको छ ।’ प्यानल सूचीबिना मतदान गर्न गएकाहरुले आधा घन्टाभित्रै सिध्याउने तर सूची बोकेर गएकाहरुले डेढ घन्टासम्म समय खपत गरिरहेको उनले जानकारी दिए । महाधिवेशनमा २२६३ मतदाता छन् । उनीहरुले ६४२ उम्मेदवारहरुबाट छानेर ३०१ पदका लागि मतदान भएको थियो ।
एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका तनहुँका ८ जना मध्ये को–को ले चुनाव जित्लान् भन्नेमा तनहुँका कार्यकर्तामाझ उत्सुकता छाएको छ । उम्मेदवार बनेका मध्ये किरण गुरुङ, केदार सिग्देल, भगवती न्यौपाने र किसान श्रेष्ठ ओली समुहमा रहेका छन् भने प्रतापलाल श्रेष्ठ, विष्णुभक्त सिग्देल, पुर्णबहादुर गुरुङ र सोभा गुरुङ इश्वर पोख्रेलको समुहमा रहेका छन् ।
एमाले तनहुँ जिल्ला कमिटिका सचिव प्रदिपराज अधिकारीले केन्द्रीय सदस्यमा उम्मेदबारी दिएका तनहुँका सबैले जित्नुपर्ने धारणा राखे । सबैले केन्द्रीय सदस्य जितेमा तनहुँको पार्टीको काम माथी उठ्ने अधिकारीले विश्वास राखे । अधिकारीको जस्तै धारणा अधिकांश कार्यकर्ताको पनि छ । उनीहरुले तनहुँका सबै उम्मेदबारलाई तनहुँबाट प्रतिनिधि भएर गएकाहरुले मतदान गर्नुपर्ने बताए ।

यद्यपी तनहुँका महाधिवेशन प्रतिनिधिहरु भने अधिकांश ओली समुहमा खुलेका छन् । क्षेत्र नम्बर १ बाट प्रतिनिधि भएका जिल्ला अध्यक्ष हरिराज कडेंल, प्रेम राना, फुलमती थापा र मदन तिमिल्सेना तथा क्षेत्र नम्बर २ बाट प्रतिनिधि भएका श्रीप्रसाद श्रेष्ठ, राजेश्वर ढकाल, बिर्सना श्रेष्ठ, विष्णु अधिकारी पराजुली र उज्वल खनाल तथा दलित क्षेत्रबाट प्रतिनिधि रहेका भरत लामगादे ओली समुहमा खुलेका छन् । उनीहरुले आफ्नो सामाजिक सन्जालमा ओली समुहको पक्षमा मत मागेका छन् ।
एमालेको केन्द्रीय अनुशासन आयोगको सदस्यमा उम्मेदवारी दिएका तनहुँका परितोष पौडेल र शान्तीदेवी खनालको भने जित निश्चित जस्तै देखिएको छ । सहकारीकर्मी पौडेल र अधिवक्ता खनाललाई अध्यक्षका उम्मेदवार ओली र पोख्रेल दुबैले प्यनालमा समेटेका छन् ।
मतदानका लागि भृकुटीमण्डपमा बनाइएको निर्वाचन केन्द्रमा ८० वटा विद्युतीय मेसिन मेसिन प्रयोग गरिएको थियो । महाधिवेशनमा १०० वटा मेसिन ल्याइएको भएपनि ८० वटा मेसिन प्रयोग गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताए । रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमूना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताए ।












