बसन्त भट्ट
काठमाडौं
मानव जीवनको सबैभन्दा निकट र संवेदनशील सम्बन्ध दाम्पत्य सम्बन्ध हो । प्रेम, विश्वास, सम्मान र सहकार्यको आधारमा निर्माण हुने यो सम्बन्धले व्यक्तिको मानसिक, सामाजिक र पारिवारिक जीवनमा गहन अर्थ राख्दछ । तर विडम्बना, आजको समाजमा बाहिरबाट सम्बन्धहरू जति सहज र सामान्य देखिन्छन् वास्तविकतामा त्यति नै असहज र कठिन बन्दै गएका छन् । समयको गतिसँगै दम्पतीहरूबीचको भावनात्मक दूरी, असन्तुष्टि र बेखुसीको अनुभूति पनि बढ्दै गएको छ । प्रश्न उठ्छ, किन दाम्पत्य जीवन दिनानुदिन विषम बन्दै गइरहेको छ ? के कारण एकअर्काबिना बाँच्नै नसक्ने अवस्थामा एक भएका मनहरू आज बेखुशी बन्दै गएका छन् ?



समय परिवर्तनसँगै समाज, अर्थतन्त्र, शिक्षा र जीवनशैलीमा व्यापक परिवर्तन आएको छ । पुरुष र महिलाबीचको चेतना, अवसर र स्वतन्त्रताको दायरा विस्तार भएको छ । यो परिवर्तन सकारात्मक भए पनि यसले दाम्पत्य सम्बन्धमा नयाँ चुनौतीहरू पनि जन्माएको छ । विशेषगरी पति–पत्नीका बीच आत्मसम्मानको विषय दिनप्रतिदिन पेचिलो बन्दै गइरहेको छ । पहिले परिवारको स्थायित्वका लागि धेरै कुरा सहजै स्वीकार गरिन्थ्यो भने अहिले व्यक्तिगत सम्मान र पहिचानलाई प्राथमिकताका साथ हेरिन थालेको छ । फलस्वरूप साना असहमतिहरू पनि कहिलेकाहीँ आत्मसम्मानको प्रश्नमा रूपान्तरित हुने गरेका छन् ।
त्यसैगरी दाम्पत्य जीवनमा भूमिका र उत्तरदायित्वको विषय पनि जटिल बन्दै गएको छ । घरभित्र र घरबाहिरका जिम्मेवारी कसले कसरी बहन गर्ने भन्ने विषयमा स्पष्ट समझदारी नहुँदा विवाद उत्पन्न हुने गरेका छन् । आर्थिक व्यवस्थापन, निर्णय प्रक्रियामा सहभागिता, बालबच्चाको हेरचाह तथा घरायसी कामको बाँडफाँड जस्ता विषयहरूमा अपेक्षा र वास्तविकताबीचको दूरीले सम्बन्धमा तनाव सिर्जना गरिरहेको छ ।
अर्कोतर्फ, अहंकार र अभिमान पनि दाम्पत्य सम्बन्धमा बढ्दो समस्याको रूपमा देखिएको छ । सम्बन्धलाई जोगाउन कहिले झुक्ने, कहिले एकअर्काका कमीकमजोरी स्वीकार गर्ने र कहिले आफ्नै गल्तीलाई महसुस गरी क्षमा माग्ने संस्कार कमजोर हुँदै गएको छ । आफूलाई सही प्रमाणित गर्ने होडमा सम्बन्धभन्दा व्यक्तिगत अभिमान महत्वपूर्ण बन्न थालेको छ । परिणामस्वरूप समस्या समाधानतर्फको मार्ग क्रमशः कठिन र असहज बन्दै गइरहेको छ ।
दाम्पत्य जीवनको अर्को महत्वपूर्ण आधार भनेको संवाद हो । तर आजको व्यस्त जीवनशैली, प्रविधिको अत्यधिक प्रयोग र मानसिक तनावका कारण पति–पत्नीबीचको अर्थपूर्ण संवाद घट्दै गएको छ । पहिले सँगै बसेर सुख–दुःख साटासाट गर्ने, एकअर्काको समस्यामा सहयात्री बन्ने संस्कारले पारिवारिक सौहार्दता मजबुत बनाउँथ्यो भने अहिले एउटै घरमा बसेर पनि दम्पतीहरू कोसौं टाढाको दूरी महसुस गरिरहेका हुन्छन् । बोल्नुपर्ने ठाउँमा मौनता, बुझ्नुपर्ने ठाउँमा अनुमान र सहानुभूति दिनुपर्ने ठाउँमा आलोचना तथा आरोप–प्रत्यारोपले सम्बन्धहरू झन् कमजोर बन्दै गएका छन् ।
यही असहिष्णुता, स्वामित्वको भावना र प्रतिशोधको मानसिकताको चरम परिणाम कहिलेकाहीँ भयावह घटनाका रूपमा पनि देखिन थालेको छ । हालै सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापा मगरसँग जोडिएको घटनाले नेपाली समाजलाई गम्भीर रूपमा झस्काएको छ । घटनाको कानुनी सत्यतथ्य अनुसन्धानबाट स्थापित हुने विषय भए पनि यसले एउटा महत्वपूर्ण सामाजिक प्रश्न भने अवश्य उठाएको छ-के सम्बन्ध बिग्रिँदा हामी संवाद, कानुनी प्रक्रिया र सभ्य समाधानभन्दा हिंसा, प्रतिशोध र स्वामित्वको मानसिकतालाई बढी स्थान दिन थालेका छौं ?
पति वा पत्नी कसैको सम्पत्ति होइनन्। वैवाहिक सम्बन्ध पारस्परिक सम्मान, स्वतन्त्रता र सहमतिमा आधारित हुन्छ । सम्बन्ध सफल हुन नसक्दा कानुनले दिएको अधिकार प्रयोग गरेर अलग हुन सकिन्छ, तर कसैको जीवनमाथि आक्रमण गर्ने वा हिंसा गर्ने अधिकार कसैलाई हुँदैन । सम्बन्ध विच्छेद हुन सक्छ, प्रेम समाप्त हुन सक्छ, तर मानवता समाप्त हुनु हुँदैन । क्रोध, ईष्र्या, प्रतिशोध र स्वामित्वको मानसिकताले अन्ततः सम्बन्ध मात्र होइन, जीवन नै विनाशतर्फ धकेल्ने तथ्य यस्ता घटनाहरूले स्पष्ट पारेका छन् ।
यद्यपि यस्ता समस्याहरूका बाबजुद धेरै सम्बन्धहरू औपचारिक रूपमा जीवित छन् । यसको कारण प्रेम र अपनत्वभन्दा बढी सामाजिक र पारिवारिक बाध्यताहरू हुन् । कसैलाई बालबच्चाको भविष्यको चिन्ताले जोडिरहेको छ भने कसैलाई सामाजिक सुरक्षा, आर्थिक स्थायित्व र प्रतिष्ठा गुम्ने डरले सम्बन्धमा बाँधिरहेको छ । समाजले पारिवारिक बेमेलपछि अलग भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण तथा गर्ने उपेक्षाले पनि धेरैलाई सम्बन्धभित्रै गुम्सिएर बस्न बाध्य बनाएको छ ।
यस्तै विविध कारणले आज धेरै दम्पतीहरू सँगै एकै छानामुनि त छन्, तर उनीहरूका मनहरूको दूरीले माइलौंको यात्रा गरिसकेको देखिन्छ । सम्बन्धहरू कानुनी वा सामाजिक रूपमा जीवित छन्, तर भावनात्मक रूपमा कोमामा पुगेका छन् । एउटै छानामुनि बस्ने पारिवारिक सदस्यहरूबीच आत्मीयता, निकटता र पारस्परिक विश्वास क्रमशः घट्दै गएको छ ।
दाम्पत्य जीवनको सुख र सफलता केवल सँगै बस्नुमा मात्र सीमित हुँदैन, एकअर्कालाई सुन्न, बुझ्न र सम्मान गर्न सक्नुमा निर्भर हुन्छ । सम्बन्धलाई जोगाउने सबैभन्दा प्रभावकारी उपाय संवाद, सहानुभूति, पारस्परिक सम्मान र लचकता नै हुन् ।
एकअर्काको आत्मसम्मानको रक्षा गर्दै सम्बन्धको गरिमालाई पनि जोगाउन सकियो भने दाम्पत्य जीवन सुखद र सन्तुलित बन्न सक्छ ।
दाम्पत्य सम्बन्ध कुनै प्रतिस्पर्धा होइन, सहयात्रा र सहकार्य हो । जहाँ जित व्यक्ति वा पक्षको होइन, सम्बन्धको हुनुपर्छ । जब पति–पत्नीले आफूलाई भन्दा सम्बन्धलाई महत्त्व दिन थाल्छन्, तब मात्र बेखुशी मनहरू फेरि खुशीतर्फ फर्कन सक्छन् । त्यही दिन दाम्पत्य जीवनको वास्तविक अर्थ र सार्थकता पनि स्थापित हुनेछ ।











