चितवनका–२ का उम्मेदबारले बुझाए खर्च विवरण

Devghat Online

शेयर गरौ

चितवन, जेठ ३०

गत वैशाख १० गते भएको चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवारहरुले खर्च विवरण बुझाएका छन् । उपनिर्वाचनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुल ८ लाख ९८ हजार २२९ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
तर उमेदवारले पेश परेको खर्च विवरण थाहा पाएर चितवनका जनता छक्क परेका छन् । उपनिर्वाचनमा २२ जना उमेदवार थिए । उम्मेदवारले व्यक्तिगत खर्च नभएकोदेखि १२ लाख रुपैयाँसम्म खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । स्वतन्त्र र साना पार्टीबाट उठेका उमेदवारको खर्च विवरण भन्दा पनि ठूला र चर्चित पार्टीका उमेदवारको खर्चप्रति जनताले आश्चर्य व्यक्त गरेका छन् ।

‘ठुला पार्टीका उम्मेद्वारहरूका दैनिक ठुल्ठुला ¥याली जुलुस देखिन्थे । उनीहरूलाई पेट्रोल खर्च नेताहरूले नै मिलाउँथे । शक्ति प्रदर्शन र भोजभतेर चलेकै हुन्थ्यो,’ भरतपुर ४ का दिवाकर कंडेल भन्छन्– ‘१५ दिनसम्म नेता कायकर्तालाई उनीहरूले पालेका थिए त्यति खर्चमा कहाँ सम्भव हुन्छ ?’

निर्वाचन पर्यवेक्षक रामचन्द्र आचार्य सामान्यतया उम्मेद्वारहरूले वास्तविक खर्च विवरण लुकाएको आरोप लगाउँछन् । नेताहरुले निर्वाचन आयोगले तोकेभन्दा चार गुणा बढीसम्म खर्च गरेको उनको अनुमान छ । वैशाख ७ गते चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनको प्रचारप्रसारको अन्तिम दिन थियो । उम्मेदवारहरु प्रचारप्रसारको अन्तिम कसरतमा थिए । गठबन्धनका साझा उम्मेद्वार नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई भोट माग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवा हेलिकप्टरबाट चितवन आएका थिए । उनीहरु यहाँ आउँदा कालिका नगरपालिकामा विशाल आमसभा राखिएको थियो । सर्वसाधरणलाई सार्वजनिक यातायातबाट नेता कार्यकर्ताले जिल्लाका विभिन्न ठाउँबाट ओसारेका थिए ।

त्यतिमात्र कहाँ हो र ? चुनावमा खटिएका कार्यकर्तालाई उम्मेदवारले घरदैलोपछि दैनिक खानाखाजा खुवाउनुपथ्र्यो । चैत्र २० गतेको मनोनयनदेखि नै उम्मेदवारको घरदैलो अभियान सुरु भएको थियो । त्यहाँ निर्वाचन आयोगले २५ जनाभन्दा बढी जम्मा हुन नपाउने भने पनि सयौंको संख्यामा कार्यकर्ता जम्मा हुन्थे । अझ उपनिर्वाचनमा केन्द्रिय नेताहरु जिल्लामा नै आएका थिए । उनीहरु ठुल्ठुला होटलमा बसेका थिए । हरेक दिन घरदैलो र सभा समारोहमा खटिने कार्यकर्ता र समर्थकलाई उम्मेदवारले नै खाना खुवाउँथे । बुथ खर्च, झण्डा, ब्यानर, पोष्टर, पर्चा, घोषणापत्र, नमुना मतपत्र, गाडी, फोन लगायत प्रत्यक्ष, अप्रत्यक्ष र अन्य खर्च पनि उम्मेदवारले गर्नुपथ्र्यो ।

त्यस्तै अधिकांश उम्मेदवारले मिडियामा विज्ञापन गर्नेदेखि भिडियो बनाएर सामाजिक सञ्जालमा बुस्ट गरेका थिए । भिडियो तथा समाचार लेख्न छुट्टै जनशक्ति परिचालन गरेका थिए । वितगमा जस्तै पार्टीका नेताहरुले वडातहसम्म सम्पर्क कार्यालय खोलेका थिए ।
निर्वाचन आयोगले प्रतिनिधि सभाका एक उम्मेद्वारलाई अधिकतम २५ लाखदेखि ३३ लाख रूपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको थियो । त्यसमध्ये चितवन २ मा अधिकतम २९ लाखसम्म खर्च गर्न पाउँथे ।

२२ जना उम्मेदवारमध्ये सबैभन्दा बढी नेपाली कांग्रेसका जीतनाराण श्रेष्ठले १२ लाख ५९ हजार पाँच सय रूपैयाँ खर्च भएको विवरण पेश गरेका छन् । यसमा पनि जनताले प्रश्न गरेका छन् । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार उमेश श्रेष्ठले २४ लाख ९४ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका थिए । उनको भन्दा जीत नारायणले आधा कम खर्च भएको देखिन्छ ।

श्रेष्ठपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले पेश गरेको खर्च बढी छ । उनले निर्वाचन आयोगमा आठ लाख ९८ हजार २२९ रुपैयाँमात्रै खर्च भएको विवरण पेश गरेका छन् । अघिल्लो निर्वाचनमा लामिछानेले ११ लाख ८१ हजार ४६२ रुपैयाँ खर्च गरेको उल्लेख गरेका थिए । यद्यपि चुनावी प्रचारप्रसार हेर्दा उनको तामझाम पनि बढी नै थियो ।

अटो रिक्सादेखि सडकसम्म पेन्टिङ थियो । भरतपुर र कालिका नगरपालिकाका सडकभरि घण्टीको चिन्ह देख्न सकिन्थ्यो । उनी चुनावी प्रचारप्रसारमा हिड्दा सयौँ गाडि अघिपछि देखिन्थे । सामाजिक सञ्जाललाई पनि बढी प्रयोग गरेका थिए । यद्यपि अरु मानिसहरुले स्वतस्फुर्त प्रचार प्रसार गरेको जिल्ला अध्यक्ष कृष्णप्रसाद भूषालको दाबी छ । ‘अघिल्लो निर्वाचनमा हामी नयाँ थियौँ । चुनावमा कमी कमजोरी भएका थिए ।

पहिलेका प्रचारप्रसार सामाग्री प्रयोग गरियो,’ उनले भने ‘स्वतह स्फुर्त सहयोग गर्नुभयो ।’ उनले यसपटक माईकिङ समेत गर्न नपरेको दाबी गर्छन । उप निर्वाचनमा जिल्ला कार्यसमितिको एक रुपैयाँ पनि खर्च नभएको उनको भनाइ छ । खर्च सबै लामिछानेले नै व्यहोरेका थिए । स्वयम उम्मेदवारको खर्च नभएपनि लामिछानेको प्रचारमा खर्च भने बढी नै भएको पाइन्छ । स्वतह स्फुर्त रुपमा भएका खर्चपनि सम्बन्धीत उम्मेदवारको प्रचारमा भएको मानिन्छ ।

नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपाने खर्च बढी गर्नेमा तेस्रो स्थानमा छन् । मतका आधारमा पनि न्यौपाने तेस्रो नै भएका थिए । न्यौपानेले वडाध्यक्षले भन्दा पनि कम खर्च गरेको देखिन्छ । छ लाख ९८ हजार पाँच सय ६० रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालय चितवनमा बुझाएका छन् । मंशिरमा भएको निर्वाचनमा एमालेका उमेद्वार कृष्णभक्त पोख्रेलले १४ लाख १० हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका थिए । नेकपा एमाले चितवनका सचिव प्रकाश ढुंगाना यसपटक नेताहरुको खर्च कमै भएको दावी गर्दछन् ।

चितवन २ को उपनिर्वाचनमा एक रुपैयाँ खर्च नभएको विवरण समेत पेश भएको छ । नेपाल मजदुर किसान पाटीका उम्मेदवार ज्ञानेन्द्र प्रजाले व्यक्तिगत खर्च नभएको विवरण निर्वाचन कार्यालयमा पेश गरेका हुन् । मादल चुनाव चिन्ह लिएर उठेका प्रजाले ४७ मत प्राप्त गरेका थिए ।
चितवन २को उपनिर्वाचनमा अधिकांश उम्मेद्वारले चारलाख तल नै खर्च गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पाटीका उम्मेदवार जीवलाल पुरीले तीन लाख ८२ हजार, नागरिक उन्नमुक्ति पार्टीका राजेश अधिकारीले तीन लाख ५० हजार, राष्ट्रिय जनमोर्चाका जनकराज शर्माले तीन लाख ३० हजार, मंगोल नेशनल अर्गनाइजेशनका टेकबहादुर तामाङले एक लाख ५८ हजार आठ सय, राष्ट्रिय जनमुक्ति पार्टीका महानन्द जैशीले १६ हजार रुपैयाँ मात्र खर्च गरेको विवरण बुझाएका छन् ।

यसैगरी राष्ट्रिय मुक्ति आन्दोलन नेपालका छत्रकुमार पाख्रिनले एक लाख ९१ हजार, जय जनमुक्ति पार्टी नेपालका प्रेम बहादुर खड्काले ९५ हजार, स्वतन्त्र उम्मेदवार अम्बिका भट्टले १४ हजार, ताराप्रसाद पौडेलले १५ हजार, भास्कर चन्द्र न्यौपानेले एक लाख ५८ हजार, रामकृष्ण ओझाले ५० हजार, लक्ष्मी मायाँ कोइरालाले एक लाख ८५ हजार, विक्रम श्रेष्ठले ३० हजार, सन्तोष थापाले ३० हजार, सुमन श्रेष्ठले ६६ हजार र सुवास परियारले ३० हजार रुपैयाँ खर्च भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण

देवघाटमा सूचना प्रविधिसम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न

देवघाट । जेठ ३१ देवघाट गाउँपालिकाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि सञ्चालन गरिएको सूचना प्रविधिसम्बन्धी