तनहुँ । साउन ११
आफ्नो बारीमा लटरम्म फलेका नासपाती झरेर र कुहिएर खेर जाँदा तनहुँ, दमौलीकी दुर्गा आचार्यलाई साह्रै दिक्क लाग्थ्यो । तर, उनले यो समस्यालाई अवसरमा बदल्ने एउटा सरल र प्रभावकारी उपाय पहिल्याउनुभएको छ–घरमै स्वादिष्ट र स्वास्थ्यकर जाम बनाएर । उनको यो सानो प्रयासले नासपाती कुहिएर फाल्न बाध्य हजारौं किसानका लागि आयआर्जनको नयाँ सम्भावना देखाएको छ ।



‘बारीमा लटरम्म फलेका नासपाती त्यसै कुहिएर जाँदा साह्रै दुःख लाग्थ्यो’, दुर्गा आचार्य भन्छिन् ‘त्यसैले यसलाई केही नबिग्रने गरी राख्ने उपाय सोच्दा जाम बनाउने जुक्ति आयो बजारको जाममा के–के मिसाएको हुन्छ थाहा हुन्न, तर घरमै बनाउँदा ढुक्कसँग खान पाइन्छ ।’ उनको जाम बनाउने तरिका अत्यन्तै सरल छ । राम्ररी पाकेका नासपाती टिपेर, सफासँग पखाल्ने र स–साना चाना काट्ने। त्यसपछि भाँडामा थोरै तेल राखेर नासपातीलाई राम्ररी पकाउने । अरु केही रसायन नहाली बनाइने हुँदा यो स्वास्थ्यका लागि पनि ढुक्क हुन्छ र वर्षौंसम्म राख्न सकिन्छ । पकाइसकेपछि हावा नछिर्ने सिसी वा बट्टामा राख्दा यो लामो समयसम्म खान योग्य हुन्छ ।
हजारौं किसानको साझा समस्या
अहिले नेपालका पहाडी भेगमा नासपातीको मुख्य मौसम हो। शहर बजार नजिकका किसानले केही मात्रामा बजार पाए पनि सडक पहुँच नभएका दुर्गम गाउँका किसानका लागि भने यो फल आम्दानीको स्रोत बन्न सकेको छैन । यातायातको अभावमा बजारसम्म पु¥याउन नसक्दा हजारौं टन नासपाती बोटमै र भुइँमा त्यसै कुहिएर खेर गइरहेको छ ।
स्थानीय सरकारको भूमिका
दुर्गा आचार्यको यो घरेलु प्रयास एक उदाहरण मात्र हो । यस्तो समस्याको समाधानका लागि स्थानीय तहले विशेष भूमिका खेल्न सक्छन् । किसानहरूलाई समूहमा संगठित गरी नासपातीबाट जाम, जुस, वाइन वा अन्य परिकार बनाउने तालिम दिने र त्यसका लागि आवश्यक प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न सके यसले व्यावसायिक रूप लिन सक्छ ।
स्थानीय सरकारले उत्पादनलाई बजारीकरणमा सहजीकरण गरिदिने हो भने खेर गइरहेको नासपाती हजारौं किसानका लागि आम्दानीको बलियो स्रोत बन्न सक्छ । यसबाट एकातिर किसानको आर्थिक अवस्था सुध्रिन्छ भने अर्कोतिर स्थानीय उत्पादनले बजार पाउँदा देशको अर्थतन्त्रलाई समेत फाइदा पुग्नेछ । (कृषि प्रेस खबरबाट)












