तनहुँ । माघ १५
नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार भगवती न्यौपाने विहिबार भानु नपा ११ का विभिन्न स्थानमा मतदातासँग भेटघाटमा पुगिन् । भानु नपाका एमालेका नेताहरुको साथ उम्मेदवार न्यौपानेले भानु ११ का मतदातालाई भेटी प्रतिनिधि सभाको निर्वाचनमा सुर्य चिन्हमा मतदान गरि बिजयी गराउन अनुरोध गरिन् ।



‘अहिलेको अवस्था भनेको एक जना सांसद छान्ने मात्र हैन’ न्यौपानेले भनिन् ‘यो देश जोगाउने की देश बिनास गर्ने भन्ने एकप्रकारको जनमत संग्रह पनि हो ।’ देशलाई विखण्डनकारी र बिध्वंशकारीहरुबाट बचाउन पनि यसपटक एमालेलाई जिताउनुपर्ने न्यौपानेले बताइन् । देशको स्वाधिनता र स्वाभिमान बचाउन पनि एमालेलाई जिताउनु पर्ने न्यौपानेले बताइन् ।

आफु भानु नगरपालिकाको छोरी भएको र यहाँको सबै समस्या आफुलाई जानकारी भएको भन्दै यस क्षेत्रका जनताको विकास र समृद्धीको लागि पनि काम गर्ने उनले बताइन् । उम्मेदवार न्यौपानेले पनि आफ्नो सम्पुर्ण जिवन नै देश र समाजको लागि त्याग गरेको बताइन् । ‘म मा राजनीतिक चेत भएदेखी नै समाज परिवर्तन र समाजमा भईरहेको लैङ्गिक र अन्य विभेद र असमानताको विरुद्ध आवाज उठाएँ’ न्यौपानेले भनिन् ।
उक्त कार्यक्रममा नेकपा एमाले भानु नगर कमिटिका अध्यक्ष शंकर रानाभाट लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।












