
रामचन्द्र ढकाल
देवघाटधाम, तनहुँ
तनहुँ–१ घन्टीमा भोट हाल्न अब एक हप्ता मात्र बाँकी । “देवघाटमा टीका, दिल्लीमा सम्झौता–आखिर असली अनुहार कुन हो ?”



स्वर्णिमजी, तपाईंका लागि देवघाट र तनहुँका पवित्र भूमिमा रहेका स्वामी महाराज, वैष्णव गुरुवर, कृष्णप्रणामी तथा ॐ शान्तिका साधकहरू समक्ष मतको अपिल गर्न म तयार त छु ।
तर, मेरो मनमा एउटा गम्भीर प्रश्न छन् । आखिर कुन आधारमा हामीले हिन्दू धर्मावलम्बीसँग तपाईंको लागि भोट माग्ने ? के चुनावको मुखमा एक÷दुई दिन देवघाट पुगेर गुरुहरूको चरण स्पर्श गर्दैमा वा पहेँलो, सेतो वस्त्र पहिरिएर, निधारमा टीका र काँधमा जनै भिर्दैमा तपाईंको आस्था प्रमाणित हुन्छ र ?
तपाईं हाम्रा पुर्खाहरूले त बिहानै ईश्वर बन्दना र निधारमा चन्दन नलगाई पाइलासम्म चालेनन् । रुद्राक्ष र तुलसीको माला धारण गरेपछि त्यसको मर्यादालाई प्राणभन्दा प्यारो ठाने । हाम्रा पुर्खाले सुट र टाइमा सजिएर ठूलो स्वरमा असभ्य शब्द ओकल्ने वा गुरु–पुरोहितको मानमर्दन गर्ने धृष्टता कहिल्यै गरेनन् । उनीहरूको संस्कारमा विनयशीलता थियो, जुन आज तपाईंमा कतिपय प्रस्तुतिमा हराएको आभास हुन्छ ।
यो देश त्यसै बनेको होइन । सुत्केरी आमाहरूले रगत बगाउँदै बेलायती साम्राज्यसँग लडेर जोगाएको माटो हो यो । वीर गोर्खालीहरूले भोकभोकै र कयौँ नेपाली नारीको सिन्दूर पुछिएर ठिंगुरो बनेको इतिहासले यो भूगोल सुरक्षित छ ।
यस्तो संवेदनशील भूमिमा उभिएर तपाईंले एमसिसि जस्ता विवादित विषयको वकालत गर्नु र देशको सुरक्षाको मेरुदण्ड मानिने नेपाली सेनाको संख्या घटाउने गैरजिम्मेवार अभिव्यक्ति दिनु कुनै पनि हालतमा क्षमायोग्य छैन । तपाईंका ती शब्दहरूलाई नेपाली राष्ट्रियतामाथिको प्रहारका रूपमा किन नबुझ्ने ? के तपाईंको बुझाइमा विकास र आधुनिकताको अर्थ आफ्नो सुरक्षा र स्वाभिमानलाई कमजोर बनाउनु नै हो ?
स्मरण रहोस्, यदि तनहुँवासीले तपाईंलाई जिताउँदा देशले हार्छ । सनातन धर्मको पराजय हुन्छ भने, त्यस्तो विजयको के अर्थ छ र भाई ? के तपाईंको यस्तो जीतमा तपाईंका पितृ र पुर्खाहरूको आत्माले शान्ति पाउला ? गोर्खाली माटो र नेपाली भूमिको अस्मितामा ठेस पुग्दा यो धर्तीले बगाउने आँसु र नेपाली मनहरूको चित्कारले तपाईं र मलाईलाई पोल्दैन ?
यदि यो देश र धर्मले हार्दा, सयौँ नेपालीको भावनामा चोट लाग्दा र राष्ट्रियता कमजोर हुँदा पनि तपाईं निश्चिन्त र खुसी हुन सक्नुहुन्छ भने मात्र म तपाईंको निम्ति त्यस्तै मानिससित भोट मागिदिन तयार छु । अन्यथा, केवल पदका लागि गरिने धार्मिक र राष्ट्रियताको स्वाङले यो गौरवशाली इतिहासको अपमान मात्र हुनेछ ।
अतः स्वर्णिम वाग्ले जी यसपालि देश र धर्मलाई जिताउन तपाईं हार्नु पर्छ । यो हार होइन इतिहासको जित हुनेछ ।
हर हर महादेव …!!!












