
डा.गुरु प्रसाद सुवेदी
२०१२ भदौ १४ गते बाग्लुङको तोरीखोलामा कुनै दैवी कृपाले मूर्तरूप पाएको थियो। २०८३ जेठ ९ गते त्यो तेजले आफ्नो लीला संवरण गर्यो ।
स्वामी विवेकानन्द सरस्वती । संसारले चिनेको नाम यही हो । बाआमाले राखिदिएको नाम खेमराज गैरे । डाँडाकाँडा काटेर पढ्न भनेर गुल्मीको दिब्रुङ पुगेर ब्रह्मचारी भनेर चिनिएका । स्वामी परमानन्द सरस्वतीबाट ब्रह्मचर्य दीक्षा लिएर खिमानन्द ब्रह्मचारी नामले ख्यातिप्राप्त । स्वामी सत्यप्रकाशानन्द सरस्वतीबाट सन्न्यासदीक्षा लिएर रुद्रवेणीको पवित्र तीर्थबाट स्वामी विवेकानन्द सरस्वतीका नामले उहाँ चिनिनुभयो ।
बाल्यकालमै बाआमाले बिहे गरिदिए रे । त्यो विवाह उहाँका लागि बेलविवाहजस्तै थियोे । सानैदेखि साधुको सान्निध्यले वैराग्यले तप्त महापुरुषलाई संसारको बन्धनमा बाँध्न सकिँदैन । घर छाडेर जानुभयो ।



सर्वप्रथम स्वर्गद्वारी साधुपरम्पराका झ्याम्पाली महाराजको सान्निध्य प्राप्त भयो । डहरेमा रहेको गुफामा तपस्या गरिरहेका सन्तको कृपाले वैराग्यको बीउ रोपियो । योगसिद्ध महापुरुष छविलाल गुरुको दर्शनले बागलुङको झुलेनीमा त्यो अङ्कुरित भयो । दुवै सन्तको समाधिपछि स्वामी परमानन्द सरस्वतीको आश्रयमा त्यो फुल्यो, फक्रियो ।
परमानन्द सरस्वती महाराजको गुरुकुलका सुयोग्य सन्त शिष्य आफ्नो आधारभूत तहको अध्ययनपछि वृन्दावन पढ्न जानुभयो । त्यहाँ विश्वकै अद्भुत मेधासम्पन्न महामनीषी स्वामी अखण्डानन्द सरस्वतीसँग बसेर वेदान्त र भागवतको श्रवण गर्नुभयो । वृन्दावनमा अनेक तपोनिष्ठ महापुरुषहरूसँग सङ्गत भयो । हरिद्वारमा स्वामी सत्यप्रकाशानन्द स्वामीज्यूसँग रहेर वर्षौं साधना गर्नुभयो । त्यहाँ रहँदा नेपालमा आफ्नो गुरु भएका कुरा पनि उठे । उहाँ स्वयं पुल बनेर आफ्ना गुरुका लागि सन्न्यास गुरु खोजिदिनुभयो । यसरी स्वामी सत्यप्रकाशानन्द सरस्वतीज्यूले पहिलो शिष्यका रूपमा स्वामी परमानन्द सरस्वतीलाई वरण गर्नमा उहाँ निमित्त बन्नुभयो । स्वर्गद्वारी झ्याम्पाली महाराजदेखि ऋषिकेशका मस्तराम बाबासम्मको सान्निध्य पाएका आफैंमा सिद्ध महापुरुष ।
गुल्मीको सालिमे दहमा वर्षौं एकान्तमा तपस्या गरेर बसेका स्वामी विवेकानन्द भीडदेखि सधैं पर रहन चाहनुहुन्थ्यो । शिवधुरीको डाँडामा बसेर आत्मपुराणको साधना गरेको मान्छे जब गुरुको आज्ञाले जनसमूहको सम्पर्कमा आउनुभयो, त्यसपछि लाखौं भक्त उहाँका प्रशंसक बने । उहाँको प्रवचनकला यस्तो अद्भुत थियोे कि सामान्यभन्दा सामान्य मान्छे पनि वेदान्तको गूढ रहस्यसित परिचित हुन्थ्यो ।
दिनभर आश्रमको सेवा गरेर खाली समयमा डाँडामा गएर कविता लेख्न रुचाउनुहुन्थ्यो । कोटिहोमहरूमा योगी नरहरिनाथले जब उहाँको कविता सुन्नुभयो, तब उहाँले मुक्तकण्ठ प्रशंसा गर्नुभयो । उहाँसित ज्योतिष शास्त्रको पनि अद्भुत ज्ञान थियोे जसको प्रयोग व्यक्तिगत सुविधाका लागि कहिल्यै उपयोग गर्नुभएन ।
परमानन्द सरस्वतीज्यूको देहावसानपछि उहाँका दुई सुयोग्य उत्तराधिकारीहरू स्वामी ज्ञानानन्द सरस्वती र स्वामी विवेकानन्द सरस्वती सँगसँगै देशभरि धर्मप्रचार र शिक्षाको चेतना फैलाउँदै हिँड्नुभयो । विभिन्न पुराण र ग्रन्थहरूको प्रवचन गरेर उहाँहरूले सयौं शिक्षालयहरूको स्थापना गर्नुभयो । औपचारिक रूपमा उच्चशिक्षाको प्रमाणपत्र पनि लिने इच्छा नगर्ने उहाँले देशभरि थुप्रै गुरुकुलको स्थापना–संरक्षण–प्रवर्धन गर्नुभयो । आधुनिक विद्यालय र क्याम्पसहरूबाट निस्केका सयौं हजारौं छात्रहरू उहाँको गुन अझै सम्झन्छन् । विशेष गरेर गुल्मी–बाग्लुङ–पाल्पा–स्याङ्जा–चितवन–तनहुँ–नवलपरासी–रुपन्देही–कपिलवस्तु आदि जिल्लामा उहाँका हजारौं अनुयायीहरू छन् ।
परमानन्दस्मृतिप्रतिष्ठानको उद्गमविन्दु उहाँ नै हुनुहुन्थ्यो । परमानन्द संस्कृत गुरुकुल– रूपाकोट गुल्मी उहाँकै नेतृत्वमा सञ्चालनमा थियो । परमानन्द संस्कृत गुरुकुल, देवघाट उहाँकै छत्रछायामा हुर्केको हो । दुर्गावैदिक परमानन्द संस्कृत गुरुकुल, रुपन्देही उहाँ आफैंले जन्माउने र हुर्काउने गर्नुभयो, जसका विद्यार्थीहरू देशभर छरिएका छन् । रामनदीधाम संस्कृत गुरुकुल, पाल्पाको स्थापनामा पनि उहाँको विशेष भूमिका रहेको छ । २०६० सालतिर गुल्मीबाट बुटवलको नयाँमिल झर्नुभएका स्वामी विवेकानन्द नियमित वेदान्त स्वाध्याय प्रवचनमा तल्लीन हुनुहुन्थ्यो । वैदिक धर्म परिषद् नेपालले उहाँकै छहारीमा ओत पायो । परमानन्द काव्यवाटिका नामक साहित्यसन्ध्या उहाँकै निर्देशनमा हामीले आरम्भ गरेका हौँ । दुर्गा–वैदिक–परमानन्द–सन्न्यास–आश्रमको आश्रमाधिपति बनेर सयौं भक्त र वटुकको अध्यात्ममार्ग खोल्नुभयो । बुटवल मणिग्राम नयाँमिलतिरका हरेक धार्मिक हृदय र संस्थाहरू उहाँका चिरऋणी छन् ।
आश्रमका दैनन्दिन कार्यक्रम, भीडभाड र जनसम्पर्कबीच पनि असम्पृक्त । जनसमुदायका अगाडि माइकमा सुवाचाल तर स्वयं सधैं मौनको अभ्यासी । भित्रको ढुक्क आत्मविश्वासले सम्पन्न आध्यात्मिक ऊर्जाको धनी । सयौंका हृदयरोगको वाक्उपचार गर्ने चिकित्सक स्वामीलाई आफ्नो शारीरिक क्लेशको पर्बाह भएनछ । भएको हुँदो हो त अर्बुद रोगले कलेजो खाइसक्दा पनि ऐया–आत्था या अस्पतालको चाकरी कहिल्यै किन भएन ?
भक्तहरूको असाध्य प्रेम–दबाबले चिकित्सककहाँ पुग्दा थाहा भयो, अब यसरी उहाँले थाहा पाइरहने दिन धेरै छैनन् । काठमाडौंबाट उहाँ नयाँमिल आउनुभयो र वरपरका चिकित्सकका निगरानीमा दुई चार दिन रहनुभयो । २०८३ जेठ ९ गते साँझ पाँच बजेर सात मिनेट जाँदा उहाँले प्राण त्याग्नुभयो ।
मौनमा रमाउन चाहने उहाँको जीवनवृत्त धेरैलाई थाहा छैन । उहाँको साधनामय जीवन, सन्तको सान्निध्यको कथा सबैलाई थाहा हुने गरी केही काम गरूँ भन्ने इच्छा थियो, त्यो अब उहाँको महाप्रयाणसँगै अनन्तमा समर्पित भयो । पोहोर गुल्मीको परमानन्दनगरमा एउटै मञ्चमा बसेर मैले भागवतका कथा सुनाउने मौका पाएको थिएँ, त्यही मौका जीवनमा सर्वदा स्मृतियोग्य रहनेछ । (मनोजका शब्द)
जसरी एउटा घैँटो फुट्दा त्यसभित्रको आकाश बाहिरको आकाशमा स्वतः मिल्छ, त्यसै गरी ज्ञानीको शरीर शान्त हुनासाथ उसको परिच्छिन्न अस्तित्व समष्टि चेतनामा समाहित हुन्छ । हामीले त्यही दिव्य घटना घटेको उपलक्ष्यमा आनन्दित हुने चेष्टा गरिरहेका छौँ तर बढिरहेको छ एक सच्चा सन्तको अभावले हुने महाशून्यता ।
ब्रह्मलीन महापुरुष महामनीषी स्वामी विवेकानन्द सरस्वती महाराजज्यूमा हार्दिक श्रद्धासुमन ।












