देवघाट, कार्तिक २४
देवघाट गाउँपालिका वडा नम्बर ३ दगराका हरिकुमार श्रेष्ठले गाउँमा बाख्रा पालन गरेका छन् । नेपाली सेनाबाट अवकास पाएका उनले अवकासको जिवन गाउँमै बाख्रा पालनमा बिताएका छन् । उनी लगायत तिन वटा समुहले दगरा गाउँमा फर्म सन्चालन गरेर करिब सय वटा बाख्रा पालन गरेका छन् । बाख्राको लागि प्रत्येक साता जसो सदरमुकाम दमौलीबाट दाना र चोकर लैजानु पर्ने हुन्छ । तर दगरामा मोटरबाटोको सहज पहुँच छैन । बुद्धसिंह मार्ग अन्तगर्त बन्दिपुर गाउँपालिकामा पर्ने नाल्दीघाटसम्म मोटरमा गएर त्यहाँबाट झोलुङ्गे पुल तरेर करिब १ घन्टाको उकालोबाटो हिडेपछि दगरा गाउँ पुग्न सकिन्छ ।
उकालोमा रित्तो ज्यान हिड्न मात्रै पनि सकस हुन्छ । मान्छेले बोकाएर खाद्यान्न र पशु पन्छीको लागि दाना चोकर लैजान त झन सकस नै हुन्छ । तर हरिकुमारले ग्राभिटी रोपवेको माध्यमबाट प्रत्येक साता जसो दाना र चोकर गाउँमा लैजाने गरेका छन् । ग्राभिटी रोपवे नभएको भए गाउँमै बसेर बाख्रा पाल्ने आँट नै गर्न नसक्ने उनले बताए । बुद्धसिंह मार्गको बन्दिपुर गाउँपालिकामा पर्ने खहरे भन्ने स्थानसम्म सदरमुकाम दमौलीबाट दाना चोकर लगेर त्यहाँबाट रोपवेको माध्यमबाट सजिलैसँग गाउँमा पु¥याउन सकिने हरिकुमारले बताए । बुद्धसिंह मार्गको मास्दीघाट, खहरे वा नाल्दीमा मोटरेवल पुल नबन्दासम्म दगराका जनताको ढुवानीको मुख्य साधन भनेकै उक्त ग्राभिटी रोपवे नै हो ।
सदरमुकाम दमौलीबाट खाद्यान्न र दाना चोकर लैजान मात्र हैन गाउँमा फलेका सन्तला बजार झार्नको लागि पनि उक्त रोपवे निकै उपयोगी बनेको छ । खासमा उक्त रोपवे गाउँको सुन्तला बजार झार्ने प्रयोजनकै लागि बनाईएको हो । करिब ३ सय मिटर लामो उक्त रोपवे फलामको लठ्ठामा गोलाकार चक्का अड्काएर सन्चालन गरिन्छ । दुई वटा डब्बा रहेको उक्त रोपवेमा तलबाट गाउँतिर लैजाने सामानको तौलको तुलनामा माथिबाट तल झर्ने सामानकोे तौल दोब्बर हुनुपर्छ । तारको व्यालेन्स मिलाउन तौल दोब्बर बनाउनु पर्ने हरिकुमारले बताए । उदाहरणको लागि तलबाट ४० किलोको सामान पठाउनु परेमा माथिबाट झर्ने डब्बामा ८० किलो तौल रहेको सामान राख्नुपर्छ । त्यसकोलागि गाउँलेहरुले २० लिटरको सिलोटको गाग्रीमा पानी भरेर तल झार्ने गर्छन् ।
‘सामान ढुवानी गर्न आठवटा गाग्रीको व्यवस्था गरेका छौं’ हरिकुमार भने ‘ति गाग्रीहरुलाई पालौपालो तल झार्नुपर्छ ।’ तलबाट एक पटकमा ४० किलाको दानाको बोरा पठाउनु परेमा माथीबाट चार वटा पानी भरिएको गाग्री झार्नुपर्ने हरिकुमारले बताए । ति ग्राग्रीहरुलाई तल झारेपछि त्यसमा भएको पानी फालेर पुनः सामानसँगै राखेर माथी पठाउने र माथी स्टक रहेको अर्काे गाग्री तल पठाउने गरिन्छ । यो क्रम प्रत्येक पटक निरन्तर गरिन्छ । गाग्रीको सट्टामा त्यती नै तौल भएको अन्य सामान पनि राख्न सकिने भएपनि सजिलोको लागि आफुहरुले पानी भरिएको गाग्री नै प्रयोग गर्ने श्रेष्ठले बताए । कहिँलेकाही डब्बाबाट सामान खस्न सक्ने जोखिम भएको कारण गाग्रीलाई नै प्रयोग गरिएको उनले बताए ।
उक्त रोपवेबाट दाना पठाउने मात्र नभई गाउँमा फलेका सुन्तला, कागती, पिडालु, केरा, कुखुरा समेत तल झार्ने गरिएको उनले बताए । कुखुरालाई खुट्टा बाँधेर क्रेटमा राखेर झार्ने गरिएको उनले बताए । त्यसबाहेक उक्त रोपवेबाट अन्य कुनै पनि जिवित प्राणीलाई झार्न वा उकाल्न निषेध गरिएको छ । खसी बोकालाई भने आफुसँगै पैदल नै नाल्दीघाटसम्म झार्ने गरिएको उनले बताए ।
दगरामा करिब ६० घरहरु रहेका छन् । ति सबै घरका जनताले उक्त रोपवेको उपयोग गर्ने उनले बताए । ‘रोपवे नभएको भए गाउँमा कोही पनि बस्थेनन् होला’ उनले भने मोटरबाटो पनि नपुग्ने र ढुवानीको अन्य माध्यम पनि नहूँदो हो त कसरी गाउँमा बस्नु ।’ ‘सेती नदीमा पुल हालेर गाउँमा मोटरबाटो नै लैजान सके सबैलाई सजिलो हुन्थ्यो’ उनले भने ‘तर मोटरबाटो नहुँदा जोखिम मोलेरै भएपनि रोपवेबाट सामान ढुवानी गर्नु परेको छ ।’ बिचमा केही समय बन्द रहेको उक्त रोपवे हरिकुमारकै पहलमा मर्मत सम्भार गरि केही वर्ष यता सन्चालनमा ल्याईएको हो ।
तनहुँमा प्राक्टिल एक्सन नेपालको आर्थिक सहयोग तथा एनजिओ नेटवर्क तनहुँको प्राविधिक र समाजिक सयोगमा आर्थिक वर्ष ०६६÷६७ मा जिल्ला भर चारवटा सुधारिएको तुईन र चार वटा ग्राभिटी रोपवे निर्माण गरिएको थियो । त्यसमध्येको एक दगरा जोड्ने रोपवे हो ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा देशभरका सबै तुईन बिस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रम अन्तर्गत ति चारवटै तुईन विस्थापित भएर झोलुङ्गे पुल निर्माण गरिएको भएपनि चार वटा रोपवे मध्ये तिन वटा अझै पनि सन्चालनमा रहेको एनजिओ नेटवर्क तनहुँका महासचिव राजेश्वर हड्खलेले बताए ।
तत्कालिन समयमा तनहुँको कर्णाली भनेर चिनिने साविकका देवघाट, कोटा र बैदी र छिपपछिपे गाविसमा उत्पादित सुन्तला बजार सम्म झार्न र गाउँलेहरुलाई खाद्यान्न लगायतका सामाग्री गाउँमा पु¥याउन सडकको पहुँच र झोलुङ्गे पुल समेत नभएको स्थानमा ग्राभिटी रोपवे निर्माण गरिएको हड्खलेले बताए । दगराको बोहक अन्य बाँकी दुई वटा रोपवेहरु देवघाट गाउँपालिका–१ को कोटामा र मुग्लिन–नारयणगढ सडकको पाँच किलोबाट आवुँखैरेनी गाउँपालिका जोड्ने सन्चालनमा रहेका छन् । मुग्लिन–नारयणगढ सडकको गाईघाट र देवघाट गाउँपालिका–४ काफलस्वाँरा जोड्ने रोपवे भने हाल बन्द रहेको हड्खलेले बताए । ति सबै रोपवेबाट अझै पनि गाउँका सुन्तला र अन्य उत्पादनहरु राजमार्गसम्म झार्ने गरिएको छ ।